काठमाडौं । सरकारले रोप्नका लागि तयारी अवस्थामा रहेको धानको ‘ब्याड’ जोगाउन जाली छोपेर जोगाउन किसानलाइ आग्रह गरेको छ । सलह फटेङ्ग्रा आउन सक्ने जोखिम भएको हुँदा कम्तीमा किसानले रोप्ने बेलाको धानको बीउ जोगाउन आग्रह गरिएको छ ।
धानको बीउलाइ जाली तथा नेटिङ गरेर सलह फटेङ्ग्रा नियन्त्रण गर्ने र सलह गएपछि मात्रै रोपाई गर्न किसानलाइ आग्रह गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा सलहको व्यवस्थापनका लागि नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा जाली वा झुलको प्रयोग गर्ने र ठूलो क्षेत्रफलमा ठूलो आवाज, धुँवा, थाल ठटाउने लगायतका विधि अपनाउन पनि आग्रह गरिएको छ ।
शनिबार भारत हुँदै प्रवेश गरेको सलह फटेङ्ग्राको प्रकोप अहिले देशका दर्जनभन्दा बढि जिल्लामा फैलिएको छ । स–साना झुण्डमा फैलिएको सलहले तत्कालै ठूलो क्षति नपु¥याएको तर, आउँदा दिनमा थप नियन्त्रण र व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था छ ।
बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, लमजुङ, गोरखा लगायतका तराइ हुँदै पहाडका जिल्लामा समेत सलह किरा भेटिएको पुष्टि भएको छ ।
सलह नियन्त्रणका लागि मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गरी त्यहाँका प्राविधिक तथा विशेषज्ञलाइ प्रकोप देखिएका क्षेत्रमा खटाइएको बताइएको छ । हालसम्म कति क्षति पु¥यायो भन्ने बारे यकिन तथ्यांक मन्त्रालयले दिन सकेको छैन् ।
तथापी, तत्काल सलह नियन्त्रणका लागि स्थानीय तहका कृषि ज्ञान केन्द्रमा प्राविधिक सहित ‘रेस्पोन्स टिम’ खटाइएको मन्त्रालयका प्रवक्ता हरिवहादुर केसीले बताए ।
त्यस्तै, ठूलो मात्रामा सलह आएमा पनि बिषादीको पर्याप्त स्टक राख्न व्यवसायीसँग छलफल भएको छ , आवश्यकताअनुसार नियमति रुपमा प्राविधिक टिम र ज्ञान केन्द्रमार्फत सुचना र जानकारीका लागि सलह सुचना केन्द्र स्थापना गरिनेछ ।
यदि ठूलो झुण्डको सलह आएमा पनि संघीय मन्त्रालयअन्र्तगत गृह मन्त्रालयमार्फत विपद व्यवस्थापन प्राधिकरणमार्फत समन्वय गरी दमकल, जेट वा ट्याक्टरबाट नै बिषादी छर्कने व्यवस्था तयारी अवस्थामा रहने प्रवक्ता केसीले बताए ।
सहल आवागमन तथा विषादी सम्वन्धी प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले अहिलेको साना झुण्डको सलहले त्यति ठूलो नोक्सानी नगर्ने भएपनि अझै २÷३ दिन वायुको वेग भारतबाट नेपाल बहन हुँदा ठूलो समुहको सलह भित्रिन सक्नेबारे चनाखो हुनुपर्ने बताए ।
त्यसका लागि मौसम पूर्वानुमान महाशाखा, भारतस्थित किट बैज्ञानिक तथा विशेषज्ञ र नेपाली विज्ञ तथा वैज्ञानिकहरुबीच बारम्बार सम्बाद भइरहेको उनले बताए । वायुमण्डलीय वायुको प्रभाव नेपालमा पर्दा ठूलो झुण्डको सलह भित्रिन सक्ने जोखिम रहेको उनी बताउँछन् ।