काठमाडौं । शनिबार बुटवल आसपासमा देखिएको सलह फटेङ्ग्रा विस्तारै पश्चिम पहाडतर्फ प्रवेश गरेको छ । शनिबार पाल्पामा प्रवेश गरेको सलहको केही झुण्ड बाँडिएर सानो झुण्ड पश्चिम तिर र अर्को झुण्ड कास्कीतिर आएको छ । पाल्पाबाट पनि सानो झुण्ड गुल्मी, पर्वत र बागलुङतर्फ गइरहेको छ ।
आइतबार सेती नदी आसपास र मतगौंडामा सलह फटेङ्ग्रा भेटिएको स्याङ्जा ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।
उनका अनुसार, शनिबार सलह बुटवलबाट पाल्पा हुँदै स्याङ्जाको सीमानामा आएर बास बसेको थियो ।
दक्षिणबाट उत्तर आउने हावाको वहाव कमजोर देखिएकाले सानो—सानो झुण्डको रुपमा बाडिएर विस्तारै पश्चिम पहाड र उत्तरतिर सलह गइरहेको उनले बताए । धेरैजसो पूर्वबाट पश्चिम गइरहेको उनले बताए ।
‘बुटवलबाट एउटा झुण्ड पश्चिम गएको देखिन्छ । सानो झुण्ड पाल्पा तिर आएको छ । शनिबार १२ बजेट पाल्पा दोभानमा आएर बसेको सलह पहाडतिरका पाल्पा र कास्की हुँदै गुल्मीतर्फ जाँदैछ’ उनले भने ।
तर, स्याङ्जामा भने अहिलेसम्म प्रवेश गरेको छैन् । आइतबार, चितवन, मकवानपुर हुँदै सलह सिन्धुली, रामेछाप हुँदै काभ्रेसम्म आइपुगेको छ ।
अहिलेको हावाको गति र त्यसको दिशातर्फ सानो झुण्ड पहाडी जिल्लामा पनि उक्लिएको छ । नवलपरासीमा पनि सलहको प्रवेश गरिसकेको छ ।
तनहुँमा पनि छिटफुट मात्रै सलह देखिएको जानकारी प्राप्त भएको छ । यता, पूर्वी नवलपरासीमा पनि किसानहरुले भने सलह देखिएको भनेर गुनासो गरेको कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताए ।
तर, फिल्डमा प्राविधिक पुगेर पहिचान र यर्थाथ विवरण लिन सकेका छैनन् । यता, गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा सानो संख्याको झुण्डमा देखिएको छ । किसानहरु खेतबारीमै आएर नियन्त्रण गर्न लागि परेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार, स्थानीय एफएममार्फत किसानलाई सलह नियन्त्रणसम्वन्धी सुचनामूलक सन्देश दिन थालिएको छ । गाउँपालिकाका कृषि शाखाका प्राविधिक त्यसतर्फ जाँदैछन् ।
यता, लमजुङको सुन्दरबजार नगरपालिकामा पनि नौलो किरा रुपमा देखिएको छ । तर, सलह नै हो कि होइन् भन्ने यकिन भएको छैन । दक्षिणी बागलुङ र पर्वतमा सलह आउन सक्ने भएपछि पालिका तहका प्राविधिकलाइ खटाइएको छ । स्थानीय एफएममार्फत सलह नियन्त्रणका उपाय प्रशारण गर्ने काम भएको छ ।
याे पनि पढ्नुहाेस, सलहबारे कार्यदलको निष्कर्ष ‘झुटो’, नियन्त्रणको तयारी ‘जब पर्याे राती, तब बुढी ताती’
पश्चिम पहाडी जिल्ला र पश्चिम नेपालतर्फ सलह विस्तारै सर्दै गएको त्यहाँका कृषि ज्ञान केन्द्रले जानकारी दिएका छन् । विभिन्न ठाउँमा सलह किरा देखिन थालेपछि किसानहरु भने चिन्तित हुन थालेका छन् । पाक्ने अवस्थाको मकै, ब्याडमा राखिएको बीउ धान, तरकारीबारी तथा करेसाबारीको बाली जोगाउन समस्या भएको छ ।
एक त सलह फटेङ्ग्रा धेरै संख्यामा आएर सखाप पार्दिने हो कि भन्ने चिन्ता छन् भने अर्कोतिर नियन्त्रणका विधि किसानलाइ थाहा छैन् । केही स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बिषादी छर्कने, थाल ठटाउने र धुँवा तथा गुन्जायमान बनाउन किसानलाइ आग्रह गरेका छन् ।
केही ठाउँमा भने किसान आफैं खेतबारीमा पुगेर किरा नियन्त्रणम जुट्न थालेका छन् । सलह किराको व्यापक रुपमा फैलिएमा यसले ठूलो बालीनाली क्षति पुर्याउने छ । अनिकाल तथा भोकमरीको विकराल समस्या सलह किराकै कारणले उत्पति हुन सक्छ । त्यसका लागि पनि बेलैमा सलह नियन्त्रण तथा व्यववस्थापनतर्फ सरकार जुट्नुपर्छ ।
देशभर नै सलह फैलिन थालेपनि संघीय सरकारअन्र्तगत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न विज्ञ तथा प्राविधिकसँग नियन्त्रणका लागि छलफल गरिरहेको छ । प्रदेश नम्बर ५ सरकारले एक केजी सलह ल्याए २० रुपैयाँ दिने सार्वजनिक गरेको छ ।
याे पनि पढ्नुहाेस्, नेपालमा पनि भित्रियो सलह किरा, ४ जिल्लामा प्रकाेप फैलिएकाे पुष्टि
कृषि विज्ञ तथा वैज्ञानिकहरु नेपाल आएको सलह सानो झुण्डको भएकाले त्यसले त्यति ठूलो क्षति नपुर्याउने बताउँछन् । सानो झुण्डको किरा तितरवितर भएर हराएर जान सक्ने कृषि अनुसन्धान परिषद् (नार्क) का सिनियर कीट वैज्ञानिक डा. प्रेमनिधी शर्मा बताउँछन् ।
बिषादी छर्कने बाहेक सलह नियन्त्रणमा अन्य विकल्प पनि छन् । सलह पोसिलो किरा भएकाले जालोको पासोमा संकलन गरी दाना बनाउन सकिन्छ ।
यसरी हुनसक्छ नियन्त्रण
सलह आउँदै गरेको अवस्थामा ध्वनी, धुँवा आदिको प्रयोगबाट बाधा पुर्याउन सकिन्छ । नर्सरी वा खेती हुने क्षेत्रलाइ झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ । तर, त्यो सम्भावना निकै न्यून छ । प्लाष्टिक घर भित्रको बालीलाइ वरिपरी किरा छेक्ने गरी जालीले बेरेर पनि सलहबाट जोगाउन सकिन्छ ।
त्यस्तै, बिषादी छर्केर पनि सलह किरा मार्न सकिन्छ । ५० प्रतिशत ईसी मालाथियन ९२५ ग्राम बिषादीमा ३ मिलिलिटर पानी मिसाएर ६०० लिटर तयारी झोल छर्कन सकिन्छ ।
ल्याम्डा साइहेलोथ्रीन ५ प्रतिशत ईसी, क्लोरपाइरिफोस २० प्रतिशत ईसी, डेल्टोमेथ्रिन २.८ प्रतिशत ईसी र डेल्टोमेथ्रिन ११ प्रतिशत ईसी बिषादीमा पानी मिसाएर बिषादी छर्कर्नुपर्छ । यसो गरेमा सलह किरा मर्ने र नियन्त्रण हुने वैज्ञानिकको निष्कर्ष छ । त्यस्तै, थाल ठट्याउने, ध्वनी गुन्जाउने, धुँवा बनाउने गर्नाले पनि किरा भाग्ने गर्छ ।