काठमाडौं । कोभिड १९ को प्रभावले लाखौं नेपालीहरु बेरोजगार भइरहेको बेला उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने बन्द भएका निजी उद्योगलाई सञ्चालन गर्ने तयारी गरेको छ । विगतमा सञ्चालन भएर मुलुकभित्र र बाहिर व्यापार राम्रो भएका ठूला उद्योगलाई पुनःसञ्चालन गर्नका लागि सरकारले सहयोग पनि गर्ने भएको छ ।
बन्दमध्ये सञ्चालन गरेर नाफामा जान सक्ने उद्योगहरुलाई चलायमान बनाएर नयाँ रोजगारी सिर्जना गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले क्यापिटल नेपाललाई जानकारी दिए ।
नयाँ उद्योग सञ्चालन हुन सक्ने अवस्था नरहेको कारण पुरानै उद्योगहरुलाई सरकारले सहयोग गरेर निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्न आवश्यक तयारी गरिएको उनले बताए ।
बन्द तथा रुग्ण उद्योगको रुपमा रहेको गार्मेन्ट उद्योगहरुलाई सञ्चालनका लागि आवश्यक तयारी थालिएको मन्त्री दुगडले बताए ।
‘विगतमा निर्यात गरेर नेपालको अर्थतन्त्रमा राम्रो योगदान पुराएको गार्मेन्टलाई पहिलाको जस्तै अवस्थामा ल्याउने र निर्यातका लागि अमेरिका सरकारसँग दुई चरणको वार्तासमेत भइसकेको छ,’ उनले भने ।
गार्मेन्ट, पर्यटन क्षेत्र, औषधि उद्योगलगायत कुनै उद्योग बन्द भइसकेको छ, त्यो उद्योगको अवस्था हेरेर उनिहरुको ऋणलाई मध्यनजर गरी सञ्चालनमा आउँदा नाफा कमाउन सक्छ वा सक्दैन भन्ने अध्ययन गरेर त्यो उद्योगको बैंकको ब्याज मिनाह गरिदिने वा बैंकको सबै लोन नै मिनाह गरिदिने भन्ने समेत सरकारको योजना रहेको मन्त्री दुगडले बताए ।
‘निजी क्ष्ोत्रका रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले कस्तो किसिमको सुविधा दिएर चलाउन सकिन्छ भनेर सरकारी टोलिले अध्ययन गर्छ मन्त्री दुगडले भने, यो भयो भने नेपालका ठूला ठूला उद्योगहरु पुनः सञ्चालनमा आउन सक्छन् र बेरोजगारहरुले रोजगार पाउन सक्ने राम्रो अवसर बन्छ’ ।
यस्तै लामो समय देखी उद्योग बन्द भएर मारमा परेका उद्योगी व्यवसायीहरु ले पनि सुखको सास फेर्न पाउँछन् र देशमा उद्योगीकरणको वातावरण बन्छ । ‘एउटा मात्र रुग्ण उद्योगलाई चलाउन सकियो भनेपनि देशमा अर्कै उत्साहको वातावरण बन्छ,’ मन्त्री दुगडले भने, ‘त्यहि भएर हामी यसमा लागि परेका र्छौं’ ।
सरकारले सरकारी रुग्ण उद्योगलाई पनि सञ्चालन गर्नका लागि यसअघि नै तयारी थालेको छ । नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी वर्षमा सरकारी रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउने जानकारी दिएकी थिइन् ।
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने जानकारी दिएकी हुन् ।
नीति तथा कार्यक्रममै अनुसार बन्द तथा रुग्ण सरकारी उद्योगलाई पनि सञ्चालन गर्ने गृहकार्य भैरहेको मन्त्री दुगडले बतए ।
सरकारले हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायत उद्योग सञ्चालनको तयारी गरेको हो ।