काठमाडौं । सडक विभागले सडक मर्मत र सम्भारका नाममा हरके वर्ष जस्तो सडक कालोपत्रे (पिच) माथि कालोपत्रे थप्दै आएको छ । यसले एकातिर सरकारलाई व्ययभार थपिएको छ भने अर्कोतिर पिच माथिको पिच गर्दा सडकको तहगत सतह बढ्दै गएको छ ।
विभागले सडक मर्मत खर्च कम गर्न र पिच टिकाउ बनाउन अन्तर्राष्ट्रिय अभ्यासमा आएको ‘रिसाईक्लिन मेसिन’ को प्रयोग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा रिसाईक्लिन मेसिन खरिद गर्ने तयारी सडक विभागको छ ।
नयाँ प्रविधिअनुसार अहिलेको पिच सडकलाइ भत्काउने र त्यसमा नयाँ अलकत्रा र गिटी मिसाएर पुनः रिसाईक्लिन मेसिनमार्फत फेरी कालोपत्रे गरिन्छ । अर्थात ७० प्रतिशत पुरानो पिचकै अलकत्रा र ३० प्रतिशत नयाँ गिटी र अलकत्रा मिसाएर मेसिनमार्फत फेरी कालोपत्रे गरिन्छ ।
काठमाडौं उपत्यकाभित्र विभागअन्र्तगत ७५ किलोमिटर लामो सडकमा अहिले पिचमाथि पिच हुने गर्छ । अहिलेको सडकलाई उपत्यकाभित्र मात्रै नभइ उपत्यका बाहिर नौबिसेसम्म मर्मत गरेपछि अर्को वर्षको अन्त्यमा मेसिन खरिद गरी यो प्रविधि प्रयोगमा ल्याइने विभागका महानिर्देशक केशवकुमार शर्माले क्यापिटल नेपाललाई बताए ।
‘आगामी वर्षमा नै मेसिन खरिद गर्ने योजनामा हामी थियौं । तर, बजेट घटेर आएकाले पनि खरिद गर्न अप्ठ्यारो हुन सक्छ ।’ उनले भने, ‘तर पनि हामीले आगामी आर्थिक वर्षको अन्त्यसम्म खरिद गर्ने सोच बनाइसकेका छौं ।’
उनले आउँदो आर्थिक वर्षको अन्त्यतिर मेसिन खरिदका लागि बोलपत्र आब्हान (टेन्डर) नै गर्ने बताए । ‘हामी आउँदो आर्थिक वर्षको अन्त्यतिर मेसिन खरिद गर्न टेन्डर नै गर्ने सोचमा छौं । त्यसपछि उपत्यकाभित्रको सडक मर्मतले अर्को फड्को मार्ने छ ।’
मेसिन खरिद गर्न ३० देखि ३५ करोड रुपैयाँ पर्ने विभागले जनाएको छ । यसले सडक मर्मत÷सम्भारमा ६० प्रतिशत खर्च जोगिने विभागको अनुमान छ । सडक विभागले सडक मर्मत तथा सम्भार गर्न अर्बौ रुपैयाँ छुट्याउने गर्छ ।
चाल आवमा सडक मर्मत र खाल्डाखुल्डी पुर्न मात्र विभागले ६ अर्ब रुपैयाँ रकम खर्चिएको छ । विभागले आवधिक मर्मतका लागि भनेर रकम छुट्याएको थियो । त्यसअनुसार उपत्यकामा ६० करोड रुपैयाँ खर्च भएको छ ।
लकडाउनको अवधिमा सडक विभागले सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम गरेको छ । मर्मत गरेपछि कम्तीमा ३ वर्ष टिक्ने गरी सडक कालोपत्रे तथा मर्मत गरे पनि सडक पुरानै अवस्थामा फर्कने अवस्थामा छ ।
पिच गरिएका केही सडकमा उप्किने गरेको छ । कामको गुणस्तर नहुँदा कालोपत्रे गरेको एक महिना नपुग्दै पिच सडक भत्किने गरेको छ ।
याे पनि पढ्नुहाेस, किन टिक्दैन कालोपत्रे ? महानिर्देशक भन्छन, ‘खानेपानी र विद्युतले अन्याय गर्छ, सडक रक्षक चाहियो’