काठमाडौं । कोभिड–१९ को कारण अर्थतन्त्र थला पर्दा त्यसको मार अटो बजारमा पनि पर्यो । चैत ११ देखिको लकडाउनले व्यापार ठप्प भएको अटोबजार गत जेठ २५ गतेको लुजडाउनपछि व्यवसाय खुल्न थालेको छ । लुजडाउनपछि अटो बजारलाई पुरानो लयमा फर्काउनका लागि व्यवसायीहरुले दशैं तथा नाडा अटो शोमा भन्दा पनि बढी छुट र ‘स्किम’हरु ल्याएका छन् ।
व्यवसायीहरुले बाइक र कार किन्न चाहने ग्राहकलाई अत्यन्त थोरै डाउनपेमेन्टमा र सरल किस्ताबन्दीमा खरिद गर्न सकिने गरी ‘स्कीम’ ल्याएका हुन् । खासगरी निशान, डाट्सन, हुन्डाई, मारुती सुजुकी, फक्सवागन लगायतका गाडी उत्पादक कम्पनीले ग्राहकलाइ विशेष अफर ल्याएका हुन् । त्यसैगरी, बजाज, यामाहा, टिभिएसलगायत बाइकहरुले पनि आकर्षक छुट र अफर ल्याएका छन् ।
निशान कारको नेपालको आधिकारिक बिक्रेता शारदा गु्रपअन्तर्गतको पायोनियर मोटो कर्पले निशानको किक्स कारमा आक्रमक अफर ल्याएको क । कम्पनीले ‘बाइ नाओ, पे लेटर’ अफर ल्याउँदै डाउनपेमेन्ट ३० प्रतिशतमै कार खरिद गर्न सकिने जनाएको हो । अफरअन्तर्गत ६ महिनासम्म किस्ताबन्दी र ब्याज नलाग्ने सुविधा रहेको छ । निशानका सबै कारमा यो अफर लागू हुने पनि कम्पनीले जनाएको छ ।
डाट्सन कारको समेत आधिकारीक बिक्रेता रहेको पायोनियरले डाट्सनको सबै कारमा पनि ‘बाइ नाओ, पे २०२१’ नामक योजना ल्याएको छ । यसमा पनि तत्काल किस्ताबन्दी तिर्नुपर्नेका साथै एकवर्षको विमा निशुल्क, एक वर्षको सडक कर निशुल्कसहित नगद छुटको अफर रहेको छ । कम्पनीले ७५ हजारसम्म नगद छुट दिएको छ ।
नेपालका लागि सुजुकी गाडीको आधिकारीक विक्रेता सीजी मोटोकर्पले तीन लाख ८० हजार डाउनपेमेन्टमै कार उपलब्ध गराउने भएको छ । कार किन्ने ग्राहकको लागि कम्पनीले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७५० रुपैयाँ डाउन पेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी उपलब्ध गराउने भएको हो । कम्पनीले ९० हजारसम्म नगद छुट दिएको छ ।
यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार ९ सय १३ रुपैयाँ देखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र नौ हजार सात सय ३४ रुपैयाँदेखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ । फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ ।
नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कार लिने ग्राहकलाई पहिलो वर्षको किस्तामा ५० प्रतिशत किस्ता कम्पनीले राखिदिने अफर ल्याएको छ । साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निशुल्क विमा, निशुल्क सडक करका साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको सुविधा दिएको छ । त्यस्तै, कम्पनीले चार वर्षको निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध गराएको छ । कम्पनीले एक लाखसम्म नगद छुट दिएको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले कारमा दुई लाख रुपैयाँसम्म नगद छुट दिएको छ । कम्पनीको आफ्नै अनलाइन साइटमार्फत गाडी बुकिङ गरेर खरिद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क सर्भिसिङ र निशुल्क मोबिल र आयल फिल्टर लगायत प्राप्त गर्न सक्ने अफर ल्याएको छ ।
फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले १ हजार सीसीको पोलो ट्रेण्डलाइन खरिद गर्ने ग्राहकलाई ५० प्रतिशत डाउनपेमेन्ट तिरेर एक वर्षसम्म मासिक १० हजार रुपैयाँ किस्ता तिर्न सक्ने अफर ल्याएको छ । ६ वर्षको किस्ताबन्दीमा एक वर्ष १० हजारको दरले किस्ता तिर्दा ग्राहकलाई सरल हुने भएकाले यो अफर ल्याएको कम्पनीले जनाएको छ । कारको मूल्य २९ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
दुईपाङ्ग्रेमा पनि अफर नै अफर
चारपाङ्ग्रेजस्तै दुईपाङ्ग्रेमा पनि अफरको बहार रहेको छ । बजाज बाइकको नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाजका बाइकमा २० देखि ५० प्रतिशत डाउन पेमेन्ट मै मोटरसाइकल उपलब्ध गराउन थालेको छ । कम्पनीले १२ हजार रुपैयाँ छूटसमेत दिएको छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा नै बजाजको नयाँ बाइक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यामाहाको बाइकको आधिकारीक बिक्रेता मोरङ अटो वर्कले शून्य प्रतिशत डाउन पेमेन्टमा नै यामाहाको बाइक र स्कुटर उपलब्ध गराउने अफर ल्याएको छ । कम्पनीले शून्य प्रतिशत ब्याजका साथै १० हजार नगद छुट पनि दिएको छ ।
त्यस्तै, टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मासिक ९९ रुपैयाँ किस्ता तिरे बाइक उपलब्ध हुने स्किम ल्याएको छ । कम्पनीले बाइकमा १२ हजार र स्कुटरमा १० हजार नगद छुटसमेत दिएको छ । दुवैमा शून्य फाइनान्सको समेत सुविधा रहेको छ । ६ महिनासम्म ९९ रुपैयाँ तिरेपछि त्यसपछि बाँकी किस्ता सुरु हुने कम्पनीले जनाएको छ ।
नेपालका लागि होण्डा बाइकको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले एक रुपैयाँको डाउन पेमेन्टमा बाइक उपलब्ध हुने अफर ल्याएको छ । साथै कम्पनीले एक प्रतिशत ब्याजमा नै बाइक उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, भेस्पा स्कुटरमा २ वर्षको सडक कर निशुल्कका साथै ५ हजार नगद छुट रहेको छ । बिएमडब्ल्यू बाइकमा ७५ हजारसम्म नगद छुट रहेको छ भने नेपाल प्रवेश गरेको नयाँ डर्ट बाइक कायोमा ५० हजारसम्म नगद छुट रहेको छ ।