काठमाडौं । ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालू आर्थिक वर्षमा सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा पानी वितरण वितरण गरिनेछ ।’ यो आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यक्रममा उल्लेख गरिएको वाक्यांश होे । अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आगामी आवको सुरु अर्थात साउनभित्रै उपत्यकामा वितरण गर्ने बताएका थिए ।
त्यसअनुसार, खानेपानी मन्त्री बिना मगरले पनि मेलम्चीमाथि सांसदले उठाएका जिज्ञासामा भनेकी थिइन, ‘मेलम्चीका विषयमा थुप्रै प्रश्नको बिट मार्ने समय आएको छ । विगत दुई दशक देखिको मेलम्चीको आशा र निराशाहरु अब सम्बोधन हुने अवस्थामा हामी छौं । अब छिट्टै सरकारले मेलम्चीको उद्घाटनको समय तोक्ने छ ।’
उनले आर्थिक वर्षको सुरुवातमै मेलम्ची खानेपानीको सुरुङको परिक्षण गर्दै र पहिलो चरणमा काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने बताएकी थिइन् । तर, बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिमा भने खानेपानी मन्त्रीको बोली फेरिएको छ ।
बजेटमा उल्लेख र संसदमै उभिएर आगामी आर्थिक वर्षको सुरुवातमा मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा पु¥याउने प्रविद्धता जनाएकी मन्त्रीले समितिमा त्यो कुरा उल्लेख गरिन् । बरु, जनताका घर–घरमा पु¥याउन अझै एकवर्ष लाग्ने भनेर सचिव माधव बेल्बासेले बताएपछि उनले मौन समर्थन गरिन् । अर्थात, उनले ठ्याक्कै मिति भने तोकिनन् ।
झन्डै एक वर्षअघि विकास समितिकै बैठकमा खानेपानी मन्त्री र सचिवले २०७५ असोज अर्थात दशैंमा मेलम्चीको पानी उपत्यकाका जनतालाई उपहार स्वरुप वितरण गर्ने ग्यारेन्टी दिएका थिए । उनीहरुले टेबुल ठोकेरै मेलम्ची जसरी पनि उपत्यकामा ल्याउने बचन नदिएका पनि होइनन् ।
तर, सांसदले त्यतिवेला पनि विश्वास गरेका थिएनन् । त्यति मात्रै होइन्, समितिका यसअघिका बैठकमा पनि मन्त्री तथा सचिवहरुले पनि मेलम्चीको नयाँ मिति नदिएका होइनन् । आर्थिक संकटमा परेपछि इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरोतोरी एण्ड केमेन्टिष्ट्री(सीएमसी) आयोजनाबाट हात झिकेपछि मेलम्ची थप अन्यौलमा पर्दै आएको छ । कम्पनीलाइ एकमुष्ट भुक्तानी नगरिदिएको र कमिसनमा कुरा नमिलेपछि ठेकेदारलाइ नै भगाउन मन्त्री बिना मगरकै हात रहेको आरोप छ । त्यसपछि तत्कालीन सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेर सचिवमा माधव बेल्बासेलाइ नियुक्त गरियो ।
बजेटमा लेखिएको र त्यसअनुसार नै मन्त्री बिना मगरले पनि आगामी आर्थिक वर्षको सुरुवातदेखि काठमाडौं उपत्यकामा पानी वितरण गर्ने बताइरहेपनि अझै एक वर्ष के कारणले र के—के कामका लागि लाग्छ भन्ने बारेमा खानेपानी सचिव माधव बेल्बासे सँग बुझ्न खोज्दा उनी सम्पर्क बाहिर रहे ।
प्रधानमन्त्री पनि गुमराहमा
यति मात्रै कहाँ हो र, प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीबारे आफुलाई गलत बिफ्रिङ गरिएको बताएका थिए । प्रधानमन्त्रीलाइ समेत मेलम्चीबारे मन्त्री र सचिवले गुमराहमा राखेका थिए । यसअघिको राष्ट्रिय विकास समस्या समाधान समितिको एक बैठकमा प्रधानमन्त्रीले भनेका थिए, ‘मैले आजित भएर मन्त्रालयको सचिवलाई मेरो डायरीमा आयोजना कहिले सकिन्छ, मिति लेख्नुस् भनेँ, उहाँले लेखेको जस्ताको त्यस्तै छ,’ उनले भने, ’आयोजना आउला भनेको ठेकेदार नै भाग्यो, यसबाट मुलुकलाई धोका भएको छ ।’ प्रधानमन्त्री राष्ट्रिय गौरवको परियोजनामा धोका र गलत विफ्रिङ गर्नु राष्ट्रियता विपरीत हुने बताएका थिए । तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरले प्रधानमन्त्रीलाइ मेलम्ची आउने मिति तोकेर लेखेर बुझाएका थिए ।
आयोजना पक्ष र मन्त्रालयले पनि प्रधानमन्त्रीलाई त्यतिवेला मेलम्ची छिट्टै आउने बारेमा गलत जानकारी गराएका थिए । त्यसको केही समयपछि प्रधानमन्त्री भनेका थिए, ‘केही महिनामै मेलम्चीको पानी काठमाडौं झर्नेछ । त्यहाँ सरकार देख्नुहुने छ । त्यहाँ हुने छ अहिलेको सरकार ।’
जनता निराश, सांसद नै नाजवाफ
संघीय संसदको विकास समितिका सदस्य रामबहादुर विष्टले अहिलेका मन्त्रीले लगातर तीन ओटा दशैंमा मेलम्ची आउने आश्वासन मात्रै बाँडेको बताए । अब मेलम्ची ल्याउने मिति तोक्दा खेरी यदि, मेलम्ची नआएमा राजीनामा दिने बाचा गर्नुपर्ने विष्टको तर्क छ । सांसद बहादुर सिंह लामाले मन्त्रीप्रति व्यङ्ग शैलीमा भने, ‘अब बत्तीको चिम होइन्, स्वीच खोज्ने बेला आएको छ। मेलम्चीको मिति होइन्, पानी झार्नुपर्यो नी ।’
यता, कांग्रेस सांसद रंगमति शाहीले भने मन्त्रीको पावर बाहिर हेर्दा मात्रै ठूलो भएपनि मेलम्चीका हका भने असफल भएको बताइन् । ‘मन्त्रीज्युको पावर हेर्दा बाहिरबाट ठूलै देखिन्छ । गर्ने साहस देखाउनु हुन्छ । तर, जनताले पानी खान पाएनन् । धारामा भाडा लिएर कहिले थाप्नेरु । जनतालाइ हामीले जवाफ दिन सकेका छैनौं ।’
अर्को बाहना ‘कोरोना’
मेलम्चीको बाँकी काम सुस्त हुनु र आयोजना आउन ढिला हुनुमा मन्त्रालय र आयोजना पक्षलाइ अर्को बाहना बनेको छ– विश्वव्यापी कोरोना भाइरस । कोरोना नियन्त्रण गर्न गरिएको बन्दाबन्दी(लकडाउन) का बेला भारतीय कामदार तथा प्राविधिक आउन नसक्दा तोकिएको समयमै नसकिने बाहना बनेको छ आयोजना पक्षलाई ।
लकडाउनअघि ४५० जना कामदारले काम गरेपनि भारतीय कामदार नआएकाले अहिले १६४ जना मात्र कामदारले काम चलाउनु पर्दा आयोजना सुस्त बनेको मेलम्ची आयोजना विकास समितिका अध्यक्ष तिरेशप्रसाद खत्रीले बताए । यद्यपी, भारतीय ठेकेदार कम्पनी र कामदार नफर्केपनि आयोजनले पुनः बुटवल पावर कम्पनीसँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ । राष्ट्रिय गौरवका बहुप्रतिक्षित परियोजना मेलम्ची लकडाउनका बीचमा पनि काम भने नरोकिएको जनाइएको छ ।
अवरोध हुने जोखिम उत्तिकै
यसअघिको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सव ठेक्का लिएर काम गरेका आपूर्तिकर्ता तथा भेन्डरहरुले भुक्तानी नपाएको समस्या त छदै छ । उनीहरुले भुक्तानी नदिएको भन्दै विभिन्न समयमा काम गर्न गएको ठेकेदार कम्पनीलाई अवरोध गर्ने र भगाउने गरेका छन् । यद्यपी, अवरोध हुने जोखिम आगामी दिनमा पनि नहोला भन्न सकिदैन् ।
त्यस्तै, निर्माण सामग्रीको आपूर्ति तथा ढुवानीको अवस्था पनि सहज छैन् । कहिले सीएमसीका आपूर्तिकर्ताको अवरोध त कहिले स्थानीयको अवरोध पनि कायमै छ । सीएमसीले निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्ताले भुक्तानी पाएका थिएनन् । मेलम्चीमा सीएमसीसँग काम गरेका २८ ओटा सव ठेकेदारको झन्डै १ अर्ब ४० करोड भुक्तानी रोकिएको थियो ।
अब के–के काम बाँकी छन्?
हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । जसमध्ये सुरुङमार्गको काम ९९ प्रतिशत सम्पन्न भएको छ । रक डबेल जडान तथा ग्राउन्टिङ्ग र ईन्भर्ट कंक्रिट लाइनको काम पनि सकिएको छ । सुरुङ तथा पानी प्रशोधन केन्द्र बीचको पाइप जडान गर्ने काम १० मिटर बाँकी छ ।
हेडवक्र्सतर्फ डिआइ पाइप जडान र हाइड्रो मेकानिकल गेट ६ ओटा गेट जडान गरिएको छ । मुख्य बाँधमा फाउन्डेसन सम्पन्न भएको छ भने स्टिलिङ्ग बेसिनको काम सम्पन्न हुन बाँकी छ । इन्टेकतर्फ ६५ प्रतिशत काम सम्पन्न भएको छ । पुल, एप्रोच रोड, हाइड्रो मेकानिकल उपकरण जडान, एसफोर जडान र इन्स्टूमेन्टेसन जडानको कामहरु अझै बाँकी छन् ।
वि.सं. २०४१ सालबाट चर्चा लिएर २०४५ सालबाट निर्माण सुरु भएको आयोजनाबाट काठमाडौंबासीले धोका खाएको यो पहिलो पटक भने होइन । कहिले दातृ निकायले हात झिक्छ त कहिले ठेकदारले हात झिक्छ । कहिले स्थानीयका नाममा भएको आन्दोलन त कहिले रकमको अभाव र राजनीतिका कारण मेलम्ची तीन दशक सम्म पनि पूरा हुन सकेको छैन् । झन्डै ३१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म २८ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको आयोजना पक्षले जनाएको छ ।