एजेन्सी, मुम्बई । भारतीय डलर अर्बपति मुकेश अम्बानीले ऋण तिर्न रिलायन्स इन्डष्ट्रिज लिमिटेडको सेयर साउदी आरएमकोलाई बिक्री गर्ने बताएका छन ।
उनले केही दिनभित्र आरएमकोसंग रिलायन्सको स्वामित्व बिक्री सम्झौता हुने जानकारी दिएका छन । उनले यो डिल भारतको कर्पोरेट इतिहासमा सबैभन्दा ठुलो हुने भनेका छन ।
ऋण तिर्न मुकेशले सेयर बिक्री गरेर लगानी जुटाइरहेका छन । ११ ओटा कम्पनीलाई जीओ प्लेटफर्म लिमिटेडको २४.७० प्रतिशत स्वामित्व बिक्री गरी दुई महिनामा १ लाख ६८ हजार ८१८ करोड भारु संकलन गरेका छन । उनले थप लगानी जुटाउन हकप्रद सेयर निष्कासन समेत गरेका छन ।
मुकेशले तेलदेखि केमिकलसम्म व्यवसाय गर्ने साउदी आरएमकोलाई स्वामित्व बिक्री गर्ने प्रतिवद्धता जनाएका छन ।गत वर्षको वार्षिक साधारणसभामा कम्पनीलाई १८ महिनाभित्र ऋणमुक्त बनाउने प्रतिवद्धता मुकेशले जनाएका थिए ।
उनले सोही दिन साउदी आरएमकोलाई २० प्रतिशत स्वामित्व ७५ अर्ब डलरमा बिक्री गर्ने जानकारी गराएका थिए । उनले सन २०२० को मार्चसम्म स्वामित्व हस्तान्तरण सक्ने जानकारी गराएका थिए । यो पटक हुन लागेको डिल रकम भने उनले खुलाएका छैनन ।
हकप्रद सेयर निष्कासन गरेर ५३ हजार १२४ करोड भारु संकलन गरेका छन । यस्तै बन्दाबन्दी (लकडाउन) को ५८ औं दिनमा विभिन्न ११ ओटा विदेशी कम्पनीलाई जीओ प्लेटफर्म लिमिटेडको २४.७० प्रतिशत स्वामित्व बिक्री गरेर मुकेशले १ लाख १५ हजार ६९३ करोड रुपैयाँ संकलन गरेका छन ।
‘लकडाउनकाबीचमा पनि हामीले सफलता पाएका छौं, यसले विश्वमा एउटा आधारशीला तयार पारेको छ’ अम्बानीले भनेका छन ।