काठमाडौं । सरकारले विप्रेषण आप्रवाह (रेमिट्यान्स) लाइ उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगार बपचतपत्र विक्रि गर्न थालेको दश वर्ष बित्यो । सो अवधिमा १८ पटक वैदेशिक बचपत्र निष्कासन भएका छन् । जहाँ १२ अर्ब १८ करोड ७९ लाख रुपैँया बराबरको बचतपत्र निष्कासन भएकोमा ५९ करोड १० लाख ७५ हजार रुपैँया बराबरको मात्रै बचतपत्र बिक्री भएको हो । जुन, कुल निष्काशन भएको बचतपत्रको ४.८५ प्रतिशत मात्रै बिक्री भएको हो ।
सरकारले आन्तरिक ऋण उठाउन ल्याएको ‘स्किम प्रोजेक्ट’ रुपमा लिइएको यो कार्यक्रम रोजगारीका लागि विदेशमा गएका व्यक्तिका लागि आकर्षित हुन सकेको देखिँदैन् । हरेक वर्ष सरकारले यस्तो बचतपत्र निष्कासन गर्ने गर्छ । तर, बचतपत्र बिक्री भने निकै न्यून हुने गरेको देखिन्छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ मा वैदेशिक रोजगारी बचतपत्र दुईपटक निष्कासन भयो । समिक्षा अवधिमा ६० करोड बराबरको बचतपत्र निष्कासनमध्ये ४२ लाख २० हजार अर्थात १.५४ प्रतिशत मात्रै बिक्री भएको छ । जुन, यो योजना सुरु भएपछि कै सबैभन्दा कम हो । चालू आवमा बचतपत्र निकै कम हुनुको मुख्य कारण कोरोना भाइरस(कोभिड—१९) कै प्रभाव वैदेशिक रोजगारीमा रहेकाहरुको रोजगारी गुम्नु र उनीहरुको आम्दानी घट्नु पनि हुनसक्छ ।
अधिकांश विदेशी कामदार स्वदेश फर्केपछि यसको प्रभाव वैदेशिक बचतपत्रमा पर्न गएको देखिन्छ । चालू आवमा मात्रै होईन्, यसअघिका हरेक वर्ष बचतपत्रको बिक्री न्यून नै हुँदै आएको देखिन्छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार, आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको देखिदैँन् ।
आव २०७४/०७५ मा ३ पटक बचतपत्र निष्कासन भएको देखिन्छ । सो अवधिमा १ अर्बको बचतपत्र निष्कासन भएकोमा ४ करोड ११ लाख रुपैँया बराबरको मात्रै बचतपत्र बिक्री भएको देखिन्छ ।
आव २०७३/०७४ मा पनि ३ पटकमा १ अर्बको बचतपत्र निष्कासन भएकोमा ५ करोड २१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्रै बचतपत्र बिक्री भएको थियो । आव २०७२/०७३ भने बचतपत्र बिक्रीमा भने केही सुधार भएको देखिन्छ । सो अवधिमा ३ पटकमा ८३ करोड ७९ लाख बराबरको निष्कासन भएकोमा २७ करोड ४५ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र बिक्री भएको थियो ।
आव २०७१/०७२ मा २५ करोडको बचतपत्र निष्कासन भएकोमा ८ करोड ३७ लाख रुपैयाँ बराबरको बचतपत्र बिक्री भएको थियो । सरकारले आव २०६६÷०६७ देखि वैदेशिक रोजगार बचतपत्र बिक्री सुरु गरेको थियो ।
सरकारले कुन प्रयोजनमा बचतपत्रको पैसा प्रयोग हुन्छ भन्ने जानकारी नदिँदा र आन्तरिक ऋण उठाउँदा बचतपत्र पनि बिक्रि गरिहालौं भन्ने ढंगले हल्का रुपमा लिँदा बचतपत्र बिक्रीमा आकर्षण नदेखिएको देखिन्छ । वैदेशिक रोजगार बचतपत्रमा दिने ब्याजभन्दा सामान्य मुद्धती निक्षेप र अन्य ऋण खरिद गर्दा बढी ब्याज आउने भएछि वैदेशिक रोजगारीमा रहेकाहरु बचतपत्रप्रति आकर्षित हुन सकेको छैनन् ।
चालु आवमा जारी भएको बचतपत्रबाट बैंकहरुले वार्षिक १० प्रतिशतसम्म ब्याज दिनुपर्छ। ६/६ महिनामा ब्याजदर भुक्तानी ह गत चैतसम्म वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर (भारित औसत ब्याजदर) ६.७४ प्रतिशत छ । यसको अर्थ निक्षेपको ब्याजदर भन्दा बचतपत्रको ब्याजदर ३.२६ प्रतिशत बिन्दुले बढी हो ।
विदेशमा धेरै बचत र आम्दानी गर्नेहरु बचतपत्र विक्रि भन्दा पनि घर, जग्गा, शेयर लगायतमा लगानी गर्दा यो कार्यक्रम आकर्षित हुन नसकेको अर्थविद् बताउँछन् । यता, थोरै बचत गर्नेका लागि लक्षित कार्यक्रम भएपनि उनीहरु घर व्यवहार, खर्च र घर, जग्गा खरिदमै आफ्नो आम्दानी लगानी गर्न चाहन्छन् । यसले पनि बचतपत्र प्रति उनीहरु आकर्षित हुन सकेनन् ।
विदेशमा भएकाहरुको बचतप्रतिको आकर्षण र ध्यान नहुँदा कार्यक्रम प्रभावकारी हुन नसकेको पूर्व अर्थसचिव शान्तराज सुवेदी बताउँछन् । बचत गर्ने क्षमता कम हुनु र सानो रकम बचत गरेर लामो समयपछि मात्रै प्रतिफल प्राप्त हुने भएकाले बचतकर्ताको त्यति आकर्षण नभएको उनी बताउँछन् ।
यता, सरकारले भने छोटो समय र पर्याप्त प्रचार–प्रसार गर्न नसक्दा बचतपत्र बिक्री न्यून हुने गरेको बताउँछ । प्रचार प्रसार पनि त्यति हुन सकेको छैन् । साउनदेखि नै प्रचार गर्न सक्यौं भने यसले मार्केट अझ पाउन सक्छ । पछिल्लो समयमा कोभिड–१९ का कारणले ऋण लगानीमा बैंकले ब्याजदर घटाइरहेका बेला वैदेशिक रोजगारको ऋण १० प्रतिशत ब्याजदर भएकाले ‘मार्केट’ र आकर्षण बढ्न सक्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
‘पहिला पहिला बैंकको व्याजदर राम्रो थियो । त्यसकारण बिक्री पनि बढी नै हुन्थ्यो । पछिल्लो समय बैंकले लगानीको ब्याज घटाउन थालेका छन् । किनकी अहिले वैदेशिक रोजगार बचपत्रमा लगानी गर्नेले १० प्रतिशत ब्याजदर पाउँछ ।’ उनले भने । साउनदेखि नै प्रचार भएमा अहिले बैंकले १० प्रतिशतमै लगानी गर्न इच्छुक हुँदा यसतर्फ थप आकर्षण बढ्ने उनको भनाइ छ ।