काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को प्रभावपछि अहिले भर्चुअल मिटिङ र कार्यक्रमहरु धेरै हुने गरेको छ । भाइरसको प्रभावअघि चलनचल्ती न्यून रहेको भर्चुअल जुमको प्रयोगकर्ता अहिले ह्वात्तै बढेका छन ।
सरकारी एवंम निजी क्षेत्रले अधिकाशं कार्यक्रमहरु जुममार्फत नै गर्न थालेका छन् । तर, जुम प्रयोगकर्ताहरुले यसलाइ गलत रुपमा दुरुपयोग गर्ने गरेका छन् । विभिन्न ह्याकरहरुले जुमलाई समेत छाडेका छैनन् ।
ह्याकरले ह्याक गर्ने डरकै कारण अहिले भारतमा जुमलाई विश्वास गर्न छोडिएको छ । तर, नेपालमा भने अत्याधिक रुपमा यसलाई प्रयोगमा ल्याउन थालिएको छ । यसैबीच सोमबार नेपाल पर्यटन बोर्डले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निजी क्षेत्रसँगको सहकार्यमा बनाइएको पर्यटन क्षेत्रका लागि सञ्चालन कार्यविधिको लोकार्पण कार्यक्रम राखिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा पर्यटन मन्त्री योगेश भट्टराई सहभागी थिए ।
कार्यक्रम राम्रैसँग चलिरहेको थियो । जब, पर्यटन मन्त्रीले बोलिरहँदा बीचमा पोर्न भिडियो चल्यो । करिब १ मिनेटसम्म भिडियो चलेपछि सबै अक्कनबक्क भए । पर्यटन मन्त्री भट्टराई पनि केहि बोल्न सकेनन् । सबै जना सहभागी भएको बैंठकमा एक्कासी पोर्न भिडियो चलेपछि पर्यटन मन्त्री भट्टराई केही आक्रोशित मुद्रामा देखिन्थे ।
पर्यटन मन्त्रीले बोल्दा बोल्दै पोर्न भिडियो चलेको विषयमा चौतर्फी रुपमा हल्ला भइसकेको थियो । सामाजिक सञ्जाल देखि समचार पोर्टलहरुमा भाइरल भइसकेको थियो । धेरैले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनजन्य रेग्मीलाई गाली गरिरहेका छन् ।
‘बोर्डले आयोजना गरेको कार्यक्रममा पोर्न भिडियो बजेको विषयमा मलाई गाली गर्नु स्वभाविक हो’ सीईओ रेग्मी भन्छन्, ‘तर, यहाँ हाम्रो कुनै दोष छैन । विदेशमा जुममार्फत कार्यक्रम आयोजना हुँदा ह्याक हुने गरेको खबर सुनेकोले छुट्टै निकायसँग समन्वय गरेर पैसा तिरेर जुमको प्रयोग गर्दा पनि ह्याक भयो । छानबीन गरी दोषीलाई कार्वाही गर्छु ।’
जुम ह्याक भएपछि अहिले बोर्डले नेपाल प्रहरीलाई छानबीनका लागि सहयोग मागेको छ । ‘भिडियोका लागि प्रयोग गरिएको कम्प्यूटर नै छानविनका लागि प्रहरीलाई बुझाएको छु,सीईओ रेग्मीले भने, ‘अवस्था हेर्दा नेपालबाट हैन भारतबाट ह्याक भएको जस्तो देखिन्छ ।’
उनले केहि दिन भित्रै प्रहरीले ह्याकरलाई नियन्त्रणमा लिएर वास्तविक कुरा सार्वजनिक गर्ने समेत बताए । ‘मेरो कारणले मन्त्रीज्यूको बेइज्जत भयो’ सीईओ रेग्मीले भने, ‘जुमले डुबायो ।’