काठमाडौं । निर्माणधिन २२० केभी कोसी करिडोर प्रसारण लाइन निर्धारित समय भन्दा ६ महिना ढिला हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले काममा अवरुद्ध भएपछि आयोजना सम्पन्न हुनमा ढिलाई हुन गएको हो ।
कोरोनाका कारणले देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा पुगेपछि प्रसारण लाइनमा खटिएका भारतीय कामदारले काम छोडिसकेका छन् । लकडाउनकै बीचमा केही काम भए पनि संक्रमणको त्रास बढेपछि कामदार आफ्नो देश गएका छन् ।
आयोजनामा झन्डै ५०० भन्दा बढि भारतीय कामदार कार्यरत थिए । अब भारतीय कामदार फर्केर आउन गाह्रो हुने र संक्रमण झन बढिरहँदा आगामी दिनमा अझै समस्या हुने आयोजना प्रमुख राजन ढकालले बताए ।
अहिले ती सबैजसो भारत गएका कारण आयोजनाको काम सुस्त हुन पुगेको छ । यद्यपी, आयोजनाको हालसम्म भने ९० प्रतिशत भौतिक प्रगति पूरा भएको ढकालले जानकारी दिए ।
सन् २०२० जुलाइ भित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि ६ महिना ढिलाई हुने उनको भनाइ छ । उनले आगामी सन् २०२१ जनवरीभित्र सम्पूर्ण करिडोर आयोजनाका काम पूरा हुने बताए ।
आयोजना सम्पन्न गर्दा ढिला भएमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट बिजुली खेर जाने अवस्था त आउने त होइन् भन्ने क्यापिटल नेपालको प्रश्नमा उनले भने, ‘यसमा हामी अगाडी छौ । बिजुली खेर जाने स्थिति आउँदैन । हाम्रो लाइन त्यसअघि नै बनिसक्छ । त्यो क्षेत्रका केही जलविद्युत् आयोजनाले सन् २०२१ डिसेम्बरसम्म विद्युत् उत्पादन थाल्ने देखिन्छ ।’
अहिले कोसी करिडोरमा निर्माणाधिन अधिकाँश जलविद्युत् आयोजनाको काम ठप्प छ । विद्युत् खरिद बिक्रि सम्झौता (पीपीए) भएर निर्माणधीन ५०० मेगावाटका आयोजना तत्कालै कोसी करिडोरको ग्रीडमा जोडिनेछ । ती बाहेक अन्य निर्माण सुचारु हुने चरणका झन्डै १००० मेगावाट बिजुली सोही करिडोरमार्फत राष्ट्रिय ग्रीडमा जोडिने छ ।
मायाखोला, हेवाखोला, सभाखोला लगायत जलविद्युत् आयोजना अहिले निर्माण भइरहेका छन् । ती आयोजनाबाट उत्पादन हुने विद्युत् यसै करिडोरमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
सुनसरीको इनरुवा–धनकुटा–बसन्तपुर हुँदै सङ्खुवासभाको तुम्लिङटारसम्म कुल १०६ किलोमिटरमा उक्त करिडोर लाइन निर्माण भइरहेको छ । कुल ३२६ ओटा टावर निर्माण गर्नुपर्नेमा हालम्म ३११ ओटा टावर ठड्याइ सकिएको छ । १५ ओटा टावर भने बनाउन बाँकी छ ।
कोशी करिडोर प्रसारण लाइन बनाउन कुल ९ अर्ब रुपैंया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण केही ढिला हुने भए पनि लागत तत्काल बढ्ने सम्भावना छैन् । प्रसारण लाइन निर्माणपछि १ हजार मेगावाटभन्दा बढीका आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
प्रसारण लाइन निर्माणका लागि मात्रै ३ अर्ब ७० करोड रुपैयाँ छुट्याइएको छ । बाँकी फाउन्डेसन, जग्गा, बेस र सवस्टेशन निर्माण र यन्त्रउपकरण खरिद रहेका छन
त्यहाँका साना—ठूला गरी २० ओटा आयोजनाहरुको विद्युत यसै करिडोरमा जोडिने छ । प्रसारण लाइन निर्माण भएपछि त्यस क्षेत्रका साना—ठूला २० ओटा आयोजनाहरुको विद्युत सोहि करिडोरमा जोडिने छ ।
आयोजनाको सुनसरीको इनरुवादेखि संखुवासभाको तुम्लिङटारसम्म १०५ किलोमिटर लामो प्रसारणलाइन बनाउन भारतको कल्पतरु पावर ट्रान्समिसन लाइन लिमिटेड, ४ ओटा सवस्टेशन बनाउन भारतकै लार्सन एन्ड टुर्वो लिमिटेड र ३५ किलोमिटर लामो प्रसारणलाइन र एउटा सवस्टेशन बनाउन भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाएका छन ।
यी सबै भारतीय कम्पनी हुन । भारतको ऋण सहयोगमा प्रसारणलाइन निर्माण सुरु भएको हो ।