काठमाडौं । मुस्ताङ हेलिकप्टर कम्पनीको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को म्याद सकिन अब केहि दिन मात्र बाँकी छ । कम्पनीले हालसम्म हेलिकप्टर ल्याउन सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मुस्ताङलाई चार वटा हेलिकप्टर किन्न २०७५ साउन ९ गते एनओसीको अनुमति दिएको थियो ।
पहिलो चरणमा २ वटा हेलिकप्टर ल्याएर ०७७ को अक्टोवरबाट व्यवसायीक उडान गर्ने बताइएको थियो । एउटा पनि हेलिकप्टर ल्याउन नसकेपछि कम्पनीले फेरी एनओसीको म्याद थप गर्ने तयारी गरेको छ ।
कम्पनीका अध्यक्ष रोनन लामिछानेले कोरोना भाइरसको प्रभावले हेलिकप्टर ल्याउन नसकिएको जानकारी दिए । ‘हेलिकप्टर ल्याउन आवश्यक तयारी भइसकेको थियो,’ अध्यक्ष लामिछानेले भने, ‘भाइरसको प्रभावले ल्याउन सकेनौं ।’
उनले यो बेला हेलिकप्टर ल्याउन सक्ने अवस्था नरहेकोले अवस्था सामान्य हुनेबित्तिकै ल्याउने बताए । विदेशमा हेलिकप्टर तयार समेत भइसकेको बेला कोरोनाले रोकिनु परेको उनको भनाई छ ।
जुलाईसम्म एनओसीको म्याद भएकोले म्याद थप गर्नुको बिकल्प नभएको उनले बताए । ‘हेलिकप्टर ल्याउन नचाहेको हैन, समय र परिस्थितिका कारण रोकिएको हो,’ उनले भने ।
यता प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोरोनाको प्रभावले धेरै विषयमा छुट दिइरहेको बेला मुस्ताङको एनओसीको पनि म्याद थप गरिदिने बताए । ‘अहिलेसम्म कुनै डकुमेन्ट आएको छैन, महानिर्देशक पोखरेलले भने,’ ‘भाइरसको समस्यालाई मध्यनजर गर्दै म्याद थप गर्नुपर्छ ।’
मुस्ताङले २ वटा एचवान २५ –३५० बी सिरिजका युरोकप्टर र २ वटा रोविन्सन आर ६६ हेलिकप्टर ल्याएर सेवा सञ्चालन गर्ने अनुमति पाएको छ ।