काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) का कारण विदेशी लगानीका अधिकांश सडक आयोजनाको काम ठप्प भएको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा सुरु हुने भनिएका आयोजनाहरुको काम अघि बढ्न सकेको छैन ।
विदेशी लगानी र ऋण सहयोग रहेको त्यस्ता सडकमा विदेशी निर्माण कम्पनी र कामदार कार्यरत थिए । केही नयाँ वर्ष मनाउन स्वदेश गएका प्राविधिक तथा कामदार कोरोना महामारीले फर्कन पाएनन् । कोही भने नेपालमा कोभिड—१९ सुरु भएलगत्तै आफ्नो मुलुक गएका फर्केका छैन् ।
झन्डै ३ महिना लामो बन्दाबन्दी(लकडाउन) का कारण र संक्रमणको जोखिम बढेपछि कुनै पनि प्राविधिक तथा कामदार फर्कन सकेका छैनन् । चालू आवमा अधिकांश विदेशी लगानी आयोजना निर्माणको प्रगति शुन्य रहेको छ ।
फागुनपछि सुरु हुने भनिएका सडक आयोजना लकडाउनले सुरु हुन सकेनन् भने केही काम भएका परियोजना पनि कामदार तथा प्राविधिकको अभाव काम अघि बढ्न सकेन्
सरकारले लकडाउन खुकुलो बनाउँदै निर्माण तथा विकास आयोजनालाइ अघि बढाउने भने पनि कामदारलाइ फर्काउन नसकेको आयोजना प्रमुखले बताएका छन् ।
अहिले विदेशी लगानीका सडक परियोजनाका निर्माण कम्पनी प्रत्यक्ष सम्पर्कमा छैनन् । केही दुतावासमार्फत सम्पर्कमै रहे पनि केही विदेशी कम्पनीसँग फोन र इमेलमा समेत सम्पर्क हुन नसकेको सडक विभागअन्र्तगत वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनका अनुसार, कोरोनाको जोखिम बढेपछि आधा दर्जन आयोजनाका विदेशी निर्माण कम्पनी सम्पर्कविहीन भएका हुन् ।
खासगरी, टोखा–छहरे सुरुङसहितको सडक निर्माण तथा स्तरोन्नती गर्न चीनको सहयोग छ । तर, चालू आवभित्रै काम अघि बढाउने भनेर सम्झौता भएपनि चिनिँया कम्पनी सम्पर्कविहीन छ । ३२ किमी सडक र ७ किमी सुरुङमार्ग निर्माण अघि बढाउने यसअघि नै सहमति भएको थियो । चीनमा पनि थप संक्रमित देखिन थालेपछि निर्माण कम्पनी नेपाल आउन सकेका छैनन् । उनीहरुसँग फोन र इमेलमार्फत पनि सम्पर्क हुन नसकेको सडक विभागले जनाएको छ ।
त्यस्तै, दोस्रो चक्रपथ विस्तारअन्र्तगत कलंकीदेखि चावहिलसम्मको सडक मर्मत तथा विस्तारमा पनि चीन सरकारकै सहयोग छ । चिनिँया प्राविधिक तथा कामदार पनि नआउँदा विस्तारको काम अघि बढ्न सकेको छैन् । त्यतिमात्रै होइन्, सो सडकखण्ड आसपास र क्षेत्रको साइट क्लियरेन्सको काम पनि पनि बाँकी नै छ । चीनियाँ प्राविधिक तथा निर्माण कम्पनी पनि अहिले सम्पर्कमा नभएको थापा बताउँछन् । यद्यपी, नेपाली दुतावासमार्फत सम्पर्क भइरहेको बुझिन् आएको छ ।
यता, चालू आर्थिक वर्षमा ८ अर्ब रुपैयाँ बजेट विनियोजन भएको बुटबल–नारायणघाट सडकको काम पनि अघि बढ्न सकेन् । चाड मनाउन चीन गएका कामदार तथा प्राविधिक फर्किन पाएनन । जसले गर्दा सडकको काम अघि बढ्न पाएन् । दोस्रो चक्रपथ विस्तार आयोजना पनि कोरोना कारणले सुरु हुन सकेन् ।
त्यस्तै, मुग्लिन पोखरा सडक विस्तार आयोजनाको टेन्डर स्वीकृत भइ निर्माण प्रक्रिया अघि बढ्ने समयमै लकडाउनले आयोजना सुरु हुन सकेन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को ऋण सहयोग रहेको नागढुंगा सुरुङमार्गको काम पनि कोरोनाले प्रभावित हुन पुग्यो ।
गत माघदेखि सुरु हुने आयोजना कोरोना महामारीले गर्दा जापानबाट कामदार तथा प्राविधिक फर्किएका छैनन । यद्यपी, केही स्वदेशी कामदारहरुलाई परिचालन गर्नुपर्ने अवस्थामा छ । लकडाउनकै बीचमा कामदारबाट ‘साइट ब्याक’ लगायतका काम भए पनि मुख्य सुरुङमार्ग निर्माणको काम सुरु गर्न जापानबाट प्राविधिक तथा इन्जिनियर आउनु पर्ने हुन्छ ।
यता, रसुवागढी–स्याफ्रुवेँशी सडक निर्माण गर्न चीन सरकारको थप ४ अर्ब रुपैयाँ ऋण सहयोग छ । चालू आवमा नै आयोजना सुरुगर्ने भनि पूर्ण रुपमा आयोजना प्रभावित बन्यो । काम सुरु हुन पाएन् । अहिले चीनिँया कम्पनी सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ ।
त्यस्तै, कमला–कन्चनपुर (८० किमी) र पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवलदेखि पूर्वीखण्डको सडक विस्तारको काम पनि कोरोना कारण अघि बढ्न सकेको छैन् । उक्त आयोजनामा एसियाली विकास बैंक(एडीबी)को ऋण सहयोग छ ।
अहिले वैदेशिक सहायताका सडक परियोजनाहरुमा प्रगति हुन नसकेको थापा बताउँछन् । मुख्य समस्या कामदार र निर्माण सामग्रीको आपूर्ति रहेको उनी बताउँछन् ।
‘अहिलेको मुख्य समस्या कामदार र निर्माण सामग्रीको ढुवानी तथा आपूर्ति नै हो’ उनले भने, ‘सरकारले लकडाउन पनि विकासका आयोजना नरोक्ने भने पनि त्यस्को व्यवस्थापनमा समस्या हुँदा विदेशी लगानीका धेरै आयोजनाको प्रगति यो वर्ष भएन् ।’
उनले विदेशी निर्माण कम्पनी पछिल्लो समय सम्पर्कविहीन भएको बताए । चालु आर्थिक वर्षमा २ खर्ब रुपैयाँ बराबरको सडक आयोजनाहरु पाइपलाइनमा छन ।