एजेन्सी । डलर अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज लिमिटेड भारतको सबैभन्दा मूल्यवान कम्पनी भएको छ । पेट्रोलियम र टेलिकम व्यवसाय गर्दै आएको रिलायन्सको सेयर मूल्य बढेपछि सबैभन्दा मूल्यवान कम्पनीमा दर्ज भएको हो ।
रिलायन्सको मूल्य १ खर्ब ५० अर्ब डलर अर्थात ११ लाख करोड भारु पुगेको छ । सेयरको मूल्य बढेपछि रिलायन्सको सम्पत्तिमा बढोत्तरी आएको हो । रिलायन्समा मुकेशको ४२ प्रतिशत स्वामित्व छ ।
रिलायन्स मूल्यवान कम्पनी भएपछि यसका कार्यकारी अध्यक्ष मुकेश अम्बानी विश्वका १० औं धनी व्यक्तिको सूचिमा परेका छन । उनको सम्पत्ति बढेर ६४ अर्ब ५० करोड डलर पुगेको छ ।
रिलायन्सको मूल्य टोटल एसए, रोयल डचसेल बीपी कम्पनीको भन्दा बढी छ । यद्यपी अमेरिकी कम्पनी एक्सोन मोविल, सेभरन र मूल्यवान इनर्जी कम्पनी साउदी आरमको भन्दा कम छ । भारतमा इक्विटी बजारमा सुधार आएपछि रिलायन्सको मूल्य बढेको हो ।
रिलायन्सको सेयर मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । रिलायन्सको सेयर मूल्य १ हजार ७३८.९५ भारु पुगेको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण गएको मार्च २३ मा रिलायन्सको सेयर मूल्य घटेर ८६७.४२ भारुमा झरेको थियो ।
ऋणमुक्त हुने हल्ला बजारमा चलेपछि रिलायन्सको सेयर मूल्य ह्वात्तै बढेको थियो । रिलायन्सले आगामी सन २०२१ को मार्चमा ऋणमुक्त हुने योजना सार्वजनिक गरेको छ । उसको कुल ऋण १ लाख ६१ हजार करोड भारु छ ।
रिलायन्सले दुई महिनाको अवधिमा विदेशी लगानीकर्ता र हकप्रद सेयर निष्कासनबाट १ लाख ६९ हजार करोड भारु संकलन गरेको छ ।
रिलायन्सले विश्व बजारमा जीओ प्लेटफर्म लिमिटेडको सेयर बेचेर १ लाख १५ हजार करोड भारु संकलन गरेको छ । ५३ हजार १२४ करोड रुपैयाँ हकप्रद सेयर निष्कासन गरेर संकलन गर्ने लक्ष्य छ ।