काठमाडौं । आगामी आवमा ३ सय ओटा बिजुली बस खरिद गर्ने तयारीमा रहेको सरकार सो प्रकृयाबाट पछि हटेको छ । राज्य गम्भीर आर्थिक संकटका परिरहेको समयमा ठूलो पूँजीका सवारी साधान खरिद नगर्ने सरकारको नीति अनुसार बिजुली बस खरिद गर्ने निर्णय कार्यान्वयन नुहने भएको हो ।
सोहि कारण बिजुली बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायातले मन्त्रालयले अध्ययन, विवरण तथा मोडालिटी बनाउने काम स्थगित भएको छ । बस खरिदका लागि आवश्यक ‘डकुमेन्ट’ र मोडालिटी बनाउन ढिला हुने भएकाले आउँदो वर्ष बिजुली बस खरिद गर्न नसकिने मन्त्रालयका प्रवक्ता सरोज प्रधानले बताए । ‘बिजुली बस खरिद प्रक्रियाका लागि ‘डकुमेन्ट’ अघि बढेको छ । यो केही समय ढिलो नै होला ।
अहिले सवैतिर बन्द हुँदा बिजुली बस किनेर खिँया किन लगाउने?’ उनले भने ‘कसरी चलाउने भन्ने मोडालिटी पनि ‘क्लियर’ गर्नुपर्छ । अहिले मुलुक ‘क्राइसिस’ मा छ । एकवर्ष ढिला भएमा अहिलेको क्राइसिसबाट अर्थतन्त्र बच्न सक्छ ।’ सरकारको नीति ठूला गाडी र मोटर खरिद नगर्ने भएकाले पनि केही ढिला हुने उनको भनाइ छ ।
यसअघि सरकारी स्वामित्वकै संस्था साझा यातायात कम्पनीलाइ ३०० बिजुली बस खरिद गर्ने जिम्मा दिएको थियो । तर, साझाले खरिद प्रक्रिया अघि बढाउन ढिलाइ गरेपछि पूर्व भौतिक मन्त्री रघुवीर महासेठले खरिद प्रक्रिया रोक्न निर्देशन दिएका थिए । त्यसपछि साझाबाट बिजुली बस खरिदको जिम्मेवारी फिर्ता लिएर सरकार आफैले खरिद गर्ने जनाएको थियो ।
सरकारले निर्दिष्ट गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गरेर साझाले बस खरिद गर्ने निर्णय अघि बढाउन खोजेपछि मन्त्रालयले गत २०७६ असोज १ गते खरिद प्रक्रिया यथास्थितिमा राख्न पत्र पठाएको थियो ।
बिजुली बस खरिद प्रक्रिया कसरी अघि बढाउने विषय मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन भइ अध्ययन भइरहेको छ । ३०० ओटा बिजुली बस खरिद गर्न ३ अर्ब रुपैयाँ सरकारले यसअघि नै विनियोजन गरेको थियो । तर, अहिले मुलुक कोरोना भाइरस(कोभिड—१९) का कारण गम्भीर आर्थिक संकटमा पर्ने जोखिम रहेकोले उक्त रकम बिजुली बस खरिदमा खर्च गर्ने पक्षमा सरकार छैन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आम्दानी र राजश्वले राज्यको नियमित सञ्चालनमा नै कठिनाई भइरहेको बनाउँदै आएका छन् । सोहि कारण कोभिड—१९ ले मुलुक प्रभावित भइरहेको अवस्था सरकारले महंगो, बिलासीता र ठूलो पूँजीका वस्तु खरिद नगरी खर्च कटौती गर्ने नीति अघि सारेका छ ।