काठमाडौं । चिया किसानहरुले गत वर्ष माग अनुसारको मल नपाएपछि यो वर्ष माघ महिनामै कृषि मन्त्रालयमा आवश्यक मलको लागि निवेदन दिएका थिए । कृषि मन्त्रालयबाट साल्ट टेड्रिङ कर्पोरेशनलाई चियाको लागि आवश्यक मल उपलब्ध गराउन भनेर तोक लगाएर पठाइयो ।
माघ महिनामै माग गरेपछि यो वर्ष आवश्यक मात्रामा मल पाइन्छ भनेर ढुक्क भएका चिया किसानहरु अहिले खिन्न भएका छन् । माग गरेको भन्दै चिया उत्पादक संघले यो वर्ष डिएपी मलसहित साढे १६ सय टन माग गरेको थियो । त्यसमा साना, मझौला र ठूला किसानहरु सबै पर्छन ।
हिमालयन टि प्रोड्युर्सस कोओपरेटिभ्सका अध्यक्ष उदय चापागाईले अहिले किसानहरुका लागि २ सय ७५ टन मात्र पाएको बताए । गत वर्ष सरकारसँग मल नभएकै कारणले आफुहरुले नपाएको भएपनि यो वर्ष भने ढुकुटीमा हुदा हुदैपनि आफुहरुलाई नदिएको उनको भनाई छ ।
कृषि मन्त्री घनश्याम भुसालले यो वर्ष मलको अभाव नभएको सार्वजनिक रुपमै बोल्दै आएका छन् । तर,किसानहरुले भने मल हाल्ने सिजन जान लाग्दा समेत मल नपाउँदा धेरै समस्या भएको भन्दै गुनासो गरिरहेका छन् ।
मल ल्याउन यो वर्ष सरकारले साढे ९ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा भने ११ अर्ब मलको लागि छुट्याएको थियो । यति हुँदा हुँदैपनि सरकारले आफुहरुलाई मल नदिएको उनको भनाई छ ।
कृषि प्रधान देश भनेर भाषण गरिएपनि वास्तविक किसानहरुले मल नपाएकै कारणले समस्यामा भोग्दै आएका छन् । 'अहिले मन्त्री धनश्याम भुसालले कृषि बजार ध्वस्त भएको भन्दै आरोप लगाइरहेको बेला सरकारले किन आवश्यकता अनुसार मल ल्याउन नसकेको हो' उनले भने । अहिले सरकारले व्यवसायीहरुलाई राज्यको सत्रुको रुपमा हेरेको उनको आरोप छ । 'जसको राज्यका अधिकारीहरुसँग सहज पहुँच पुगेको छ, तिनिहरुले मल पाएका छन्' अध्यक्ष चापागाईले भने,'सरकारी अधिकारीलाई खुसि बनाउन नसक्दा सयौं किसानहरु अहिले मारमा परिरहेका छन्,यो विषय सरकारले बुझ्न आवश्यक छ ।'
साल्ट टे्रडिङ कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले नेपालको मुख्य बालि धानलाई नै पर्याप्त मात्रामा मल दिन नसकिरहेको बेला चिया किसानलाई मल दिन नसक्नु स्वभाविक भएको बताए ।
कोरोनाले गर्दा सम्झौता भइसकेको मल समेत आउन नसकेकोले किसानहरुलाई मल दिन नसकेको उनको भनाई छ ।
युरिया ७१ हजार टन र डिएपी ५० हजार टन कोरोना भाइरसको कारण भारतमै अड्किएको कारण किसानहरुलाई पर्याप्त मात्रामा मल दिन नसकेको बताए । यदि कोरोना भाइरसको प्रभाव नभएको भए यो वर्ष मल सहज रुपमा पाउन सकिने उनले बताए ।