काठमाडौं । बिजुली पत्ता लगाउने वैज्ञानिक थोमस अल्वा एडिसन ९९ पटक असफल भएका थिए रे । आफ्नो सयौँ पटकको प्रयासमा बल्ल उनी सफल भएका थिए रे । ९९ पटकसम्म असफल हुँदा पनि तपार्इंले प्रयास नछाड्नुको कारण के हो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिदै एडिसनले यस्तो भनेका थिए रे, ‘म त हरेक पटक सफल भएको थिएँ । मैले ९९ वटा असफल हुनुको कारण पत्ता लगाएपछि बल्ल एउटा सफल हुने कारण पत्ता लगाएको हुँ ।’
यस्तै असफलताबाट सिकेर सफल हुने व्यक्ति हुन्, वसन्त लामा । दोलखा स्थायी घर भएका लामाले झन्डै एक दशक होटल क्षेत्रमा काम गरेर अहिले आफ्नै व्यवसायको आकार बढाउँदै छन् ।
सानै उमेरबाट व्यावसायिक यात्रा सुरु गरेका लामा अहिले सफलता उन्मुख छन् । २०७२ चैत ३१ गते शंखमूलबाट सुरु भएको उनको ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ ब्रान्डको रेस्टुरेन्ट अहिले काठमाडौ“ उपत्यकामा झाँगिरहेको छ ।
व्यवसाय सुरु गरेको चार वर्षभित्रै उपत्यकाका ३१ स्थानमा बर्गर हाउसको आउटलेट खुलिसकेका छन् । ३१ औँ वसन्तमा हिँडिरहेका लामाले अरुका रेस्टुरेन्टमा काम गर्दा झेल्नु परेको समस्या तथा आत्मसम्मानका कारण आफ्नै व्यवसाय गर्ने अठोट लिएका थिए । आँट त गरियो तर त्यसलाई साकार पार्न त्यतिबेला उनीसँग लगानी थिएन । रेस्टुरेन्ट खोल्न पुग्ने ठूलो लगानी गरिदिने लगानीकर्ता पनि पाउने अवस्था थिएन । त्यसैले पहिला विदेश गएर केही कमाउने र त्यही पैसा नेपालमा लगानी लगानी गर्ने आइडिया आयो, उनलाई । सोही उपाय अवलम्बन गर्न लामा दुबई उडे ।
दुबईमा ९ महिना काम
आफ्नो सपना साकार पार्ने आकांक्षा बोकेर दुबई पुगेपछि करिब ९ महिना त्यहीको रेस्टुरेन्टमा काम गरे । आफ्नै व्यवसायका लागि लगानी जुटाउन विदेश गएका उनलाई अरुको काममा मन रम्नै सकेन । त्यहाँ उनी बस्ने सकेनन् । मनको भित्री कुनामा आफ्नै लगानीमा रेस्टुरेन्ट खोल्ने हुटहुटी चलिरहेको थियो । त्यही भएर थोरै भए पनि कमाएको पैसा बोकेर तत्काल फर्किए, नेपाल । फर्किए तर एकै पटक ठूलो लगानी गर्ने आँट भने आएन ।
लगानी गर्नुअघि उनले काठमाडौँका धेरै रेस्टुरेन्टहरु अनुगमन गर्न थाले । आफूले खोल्ने रेस्टुरेन्ट केही नयाँ र फरक अनुभूति दिने उद्देश्यले काठमाडौँ फर्किएको करिब ६ महिनासम्म अध्ययन अनुसन्धानमा लागे । हरेक रेस्टुरेन्टमा गएर त्यहाँका मेनु हेर्ने, परिकार चाख्ने र आफूले यसमा थप केही नयाँ स्वाद दिन सकिन्छ भनेर अध्ययन गरे ।
अनुगमनका क्रममा कयौँ रेस्टुरेन्ट राम्रोसँग चलेको देखे भने केही बन्द भएको पनि देखे । त्यसपछि बन्द भएका रेस्टुरेन्टबारे पनि अध्ययन गरे । किन बन्द हुन्छन् रेस्टुरेन्ट ? लामो अध्ययन र अनुसन्धानपछि उनले निष्कर्ष निकाले– बर्गर हाउस खोल्ने । बर्गरका साथै चिकेन आइटमलाई पनि समावेश गर्नुपर्ने सोचले खुल्यो– ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ । उनले रेस्टुरेन्ट खोल्दा केएफसीको लहर आएको थियो । केएफसीमा बर्गर र चिकेन खान जानेहरुको लाइन लागेर बसिरहेको देख्न पाइन्थ्यो । त्यसैले पनि फरक स्वाद र अनुभवको लालसामा रहेका युवा जमातलाई तान्न उनले बर्गर र चिकेनको मिश्रण रहेको परिकार रेस्टुरेन्टको मेनुमा राखेका छन् ।
५ हजारलाई निःशुल्क आइसक्रिम
युवा जोस र नयाँ आइडिया मिक्स गरेर रेस्टुरेन्ट त खुल्यो तर सुरुमै सोचेजस्तो चल्न सकेन । सुरुआती ६ महिनासम्म घरभाडा तथा स्टाफलाई तलब दिन पनि मुस्किल प¥यो । एक त नयाँ रेस्टुरेन्ट, त्यसमा पनि अन्डरग्राउन्ड भएकाले धेरैको आँखा आप्mनो रेस्टुरेन्टमा पुग्न नसकेको उनलाई भान भयो । आफ्नो रेस्टुरेन्टमा सबैको कसरी ध्यानाकर्षित गर्ने भन्ने ध्याउन्नमा लागे उनी ।
व्यवसाय प्रवद्र्धन गर्ने नयाँ उपाय उनको दिमागमा फु¥यो । सोहीअनुसार प्रचारकै लागि भनेर रेस्टुुरेन्टमा आउने ग्राहकलाई विभिन्न भेराइटीका आइसक्रिम निःशुल्क उपलब्ध गराउन थाले । प्रवद्र्धन गर्न रेस्टुरेन्टमा आउने ग्राहक मात्र हैन, रेस्टुरेन्टबाहिर आवतजावत गर्ने बटुवालाई पनि आइसक्रिम बाँडे । व्यवसाय प्रवद्र्धन गर्न करिब ५ हजार जनालाई निःशुल्क आइसक्रिम खुवाएको सम्झन्छन्, लामा ।
त्यति मात्र हैन, रेस्टुरेन्टमा आएका ग्राहकलाई बेलाबेला कफीसँगै चिकेनको स्वादसमेत निःशुल्क चखाए । सुरुआतमा ग्राहकलाई निःशुल्क दिँदा केहीले उनको खिल्लीसमेत उडाए । विदेशबाट कमाएर ल्याएको पैसा खोलामा बालुवाजस्तो बगाउँदै छ भनेर छिमेकीहरुले गिज्याउ“थे । उनीहरु भन्थे, ‘कति पैसा कमाएर ल्याएको छ, कति दिनसम्म खुवाउ“छ, सकिएपछि गर्दो रहेछ ?’
तर, वरिपरका छिमेकी तथा अन्य व्यक्तिहरुले जे भने पनि उनको नयाँ उपायले काम ग¥यो । आफ्नो रेस्टुरेन्टमा आउने ग्राहकलाई सधैँ एकै किसिमको स्वाद दिन उनी सफल भए । साथमा ग्राहकको मन पनि जित्यो । सोही कारण छोटो समयमै उनले आफ्नो रेस्टुरेन्टलाई ब्रान्डको रुपमा परिचित गराउन सफल भए । शंखमूलको आउटलेट सफल भएपछि उनले रेस्टुरेन्टको शाखा विस्तार गर्न थाले । ५० वटा आउटलेट पु¥याउन योजनमा रहेका उनले चार वर्षको छोटो समयमै ३१ आउटलेट सञ्चालनमा ल्याइसकेका छन् ।
३१ वटा आउटलेट
शंखमूलबाट विस्तार भएको उनको रेस्टुरेन्टको आउटलेट अहिले काठमाडौँका मुख्य–मुख्य चोकमा देख्न पाइन्छ । धेरै स्थानबाट बर्गर माग आएपछि सबै ठाउँमा आफैँले मात्र सञ्चालन गर्न सक्ने अवस्था नभएको कारण आउटलेटको रुपमा विस्तार गरिएको उनी सुनाउ“छन् । अहिले काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश ठाउँमा आउटलेट खुलिसकेको छ । बनेपामा पनि सञ्चालनमा आइसकेको छ । चालू वर्ष ३७/३८ वटा आउटलेट पुग्ने उनको भनाइ छ ।
धेरै ठाउँमा आउटलेट खोल्दा पनि गुणस्तर कायम गर्न समस्या हुने कारण अबको दुई वर्षमा ५० वटा पु¥याउने उनको योजना छ । अहिले सञ्चालनमा रहेका अधिकाशं आउटलेट सञ्चालक आफ्नै उमेर समूहका साथी छन् । तीमध्ये १० वटा आउटलेटमा लामाको आफ्नै लगानी छ ।
१ करोड ५० लाखसम्म लगानी
बर्गर हाउसको एउटा आउटलेट खोल्न ८० लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म लगानी भएको छ । सबै ठाउँमा एउटै स्ट्यान्डर्ड र खानाको परिकार पनि उस्तै छ । रेस्टुरेन्टमा लगानी जुटाउन भने केही समस्या भएको उनको अनुभव छ । बैंकहरुले फास्टफुड सञ्चालकलाई सीधै लगानी गर्न मान्दैनन् । सोही कारण विभिन्न सहकारी र वित्तीय संस्थाबाट चर्को ब्याजमा कर्जा लिएर लगानी गरिरहेको उनको भनाइ छ ।
अधिकांश आउटलेट आफन्तलाई
उनले आफ्नो रेस्टुरेन्टको अधिकांश आउटलेट आफन्तलाई दिएका छन् । सँगैका साथी र आफन्तलाई आउटलेट दिँदो गुणस्तर कायम गर्न सजिलो हुने उनको भनाइ छ । ‘एउटा आउटलेटमा नराम्रो भयो भने त्यसको असर सबै ठाउँमा पर्छ,’ लामाले भने, ‘त्यही भएर गुणस्तरीय सेवा दिन कुनै कसर बाँकी राखेका छैनौँ ।’
सातै प्रदेशमा आउटलेट
काठमाडौँभित्र मात्र सञ्चालनलाई सीमित नराखेर सातै प्रदेशमा आउटलेट सञ्चालन गर्ने योजना उनको छ । अहिलेसम्म पोखरा, जनकपुर, इटहरी र धरानमा सञ्चालन भइरहेको छ भने चितवन, भैरहवा, बिर्तामोड, दमकमा निर्माणाधीन रहेको बताइएको छ ।
७ सयलाई रोजगारी
रेस्टुरेन्टको विस्तारसँगै अहिले धेरैले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । एउटा शाखामा २५ देखि ३० जनाले प्रत्यक्ष र सबै आउटलेटमा गरेर करिब ७ सय जनाले रोजगारी पाइरहेका छन् । बर्गर हाउसले अहिले आफ्नो फेसबुक पेज मार्फत अर्डर लिएर होमडेलिभरीको सेवा दिइरहेको छ ।
: क्यापिटल विजनेश म्यागजिनबाट