काठमाडौं । चालू आर्थिक वर्ष २०७६/०७७ मा भौतिक पूर्वाधारका क्षेत्रको खर्च निराशाजनक देखिएको छ । पूर्वाधार विकासका काम हुने मुख्य ‘सिजन’ चैतदेखि असारसम्म नै कोरोनाका कारण लकडाउन पूँजीगत खर्च निकै न्यून भएको हो ।
खासगरी सडक, रेलमार्ग, पुल तथा सुरुङमार्गलगायतका क्षेत्रमा विनियोजित रकमको असारसम्म ४० प्रतिशत मात्रै खर्च ह्ुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्ष भौतिक पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब ५२ करोड बजेट विनियोजन गरिउको थियो । तर, जेठ मसान्तसम्म ६५ अर्ब हाराहारी मात्र खर्च भएको मन्त्रालयले जनाएको छ ।
जेठ १५ देखि असार १५ सम्म केही काम हुने र पूँजीगत खर्च बढ्ने लक्ष्य लिएपनि निरन्तर वर्षालले काम अघि बढ्न सकेको छैन । खासगरी, सडक विभागअन्र्तगत राष्ट्रिय गौरवका सडक राजमार्ग तथा पुलहरुको निर्माणको लक्ष्य प्रभावित भएका छन् । सडक विभागअन्र्तगत झन्डै १ खर्ब ३४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो ।
विभागले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ३० प्रतिशत पूँजीगत खर्च गरेको जनाएको छ । सवैजसो सडक निर्माण, विस्तार र स्तरोन्नतीका आयोजनाहरु अघि बढ्न नसक्दा असार १५ सम्ममा पूँजीगत खर्च न्यून हुने मन्त्रालयका प्रवक्ता सरोज प्रधानले जानकारी दिए । ‘हालसम्म करिव ४० प्रतिशत खर्च देखिन्छ । पानी पर्न सुरु भइसक्यो । अब त बाँकी खर्च र प्रगति हुन गाहे छ’ उनले भने, ‘अरु धेरै कारणले पनि प्रगति यो वर्ष निकै कम हुने देखियो ।’
सडक, पुल तथा रेलमार्ग निर्माणमा स्वदेशी मात्रै हैन विदेशी कामदार पनि छन् । कोभिड—१९ का कारण आफ्नो देश गाउँ गएका कामदार नफर्केको कारण पनि कार्यप्रगति हुन नसकेको भनाइ छ ।
लकडाउनको अवधिमा पनि केही सडक तथा पुलमा काम भएका छन् । तर, ठूला सडक, राजमार्ग, पुल र विदेशी सहायताबाट अघि बढ्ने आयोजनाका काम ठप्प हुन पुगे ।
राष्ट्रिय गौरवका हुलाकी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग र पूर्व-पश्चिम रेलमार्ग निर्माण सुस्त हुन पुग्यो । हुलाकी राजमार्गमा कामदार र निर्माण सामग्री अभावले काम हुन सकेन् । आयोजनाको केही खण्डमा भने केही काम भएको जनाइएको छ । हुलाकीमा हालसम्म ३७ प्रतिशत खर्च छ । त्यस्तै, मध्यपहाडी राजमार्गमा ३५ प्रतिशत खर्च भएको छ । मदन भण्डारी राजमार्गमा भने ६० प्रतिशत पूँजीगत खर्च आयोजनाले जनाएको छ ।
रेल विभागअन्र्तगत पूर्व—पश्चिम विद्युत्तीय रेलमार्गमा जग्गा अधिग्रहण र ट्रयाक बेड निर्माणमा करिव ५० प्रतिशत खर्च भएको छ । त्यो बाहेक अन्य पाइपलाइनका रेल परियोजनामा त्यति राम्रो प्रगति भएन् ।
यता, सडक विस्तार तथा स्तरोन्नतीका केही काम भने भएका छन । काठमाडौं उपत्यकाका मुख्य सडक विस्तार तथा स्तरोन्नती गर्ने काम चालू आवमा भयो । सडक विभागले आवधिक मर्मत भनेर ६० करोड रुपैयाँ खर्च गरी सडक विस्तार र खाल्डाखुल्डी पुरेको छ ।
त्यस्तै, यसवर्ष लक्ष्य लिएका मुग्लिन–बुटबल, मुग्लिन—पोखरा, उत्तर—दक्षिण करिडोरलगायतका सडक आयोजनामा काम कोरोनाले प्रभावित हुन पुगे ।
जापानीज सहयोगमा निर्माण सुरु भएको नागढुंगा सुरुङमार्गको कामले गति लिन सकेन । कोरोना महामारीले जापानबाट कामदार तथा प्राविधिक नफर्किदा माघमा सुरु हुनुपर्ने काम अझै भएको छैन् । स्वदेशी कामदार पनि लकडाउनले गाउँमै छन् । उनीहरुलाइ साइट फर्किने अवस्था तत्काल नहुँदा मुख्य सुरुङमार्ग अघिका केही काम सम्पन्न हुन सकेका छैनन् । मुख्य सुरुङमार्गको काम गएको बैशाखबाटै सुरु गर्ने प्रारम्भिक कार्यतालिका थियो । सुरुङमार्गको लागत १६ अर्ब रुपैयाँमध्ये चालू आवमा ६ अर्ब विनियोजन भएको थियो ।
त्यस्तै, बुटबल–नारायणघाट सडक विस्तारको काम पनि चाड मनाउन चीन गएका कामदार नफर्किदा प्रभावित हुन पुग्यो । दोस्रो चक्रपथ विस्तार आयोजना पनि कोरोना कारणले सुरु हुन सकेन् । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको टेन्डर स्वीकृत भइ निर्माण प्रक्रिया अघि बढ्ने समयमै लकडाउनले आयोजना सुरु हुन सकेन् ।
चालू आवमा मुलुकभर संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जाल तर्फ १६ हजार किलोमिटर भन्दा बढि कालोपत्रे भएको छ । त्यस्तै, खण्डस्मित ११ हजार २ सय किलोमिटर र कच्ची सडक १० हजार ८४२ किलोमिटर निर्माण भएको छ ।
प्रदेश र स्थानीयस्तरबाट ६१ हजार ३९५ किलोमिटर सडक निर्माण भएको छ । यसवर्ष ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । त्यसमध्ये, १५० ओटा फागुनअघि नै सकिएको र लकडाउनमा २५ ओटा सम्पन्न भएका समेत गरी असार मसान्तसम्म २०० ओटा पुल सम्पन्न निर्माण हुने देखिन्छ । अघिल्लो आवमा भने २४३ ओटा पुल निर्माण भएका थिए ।