काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल्याणकारी कोषबाटै श्रमिक उद्धार गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सर्वोच्चले गरेको निर्णय कार्यन्वयनका लागि छलफल अगाडी बढाइएको जानकारी दिए ।
सर्वोच्च अदालतले मंगलबार कल्याणकारी कोषको रकमबाटै विदेशमा समस्यामा परेका श्रमिकहरुलाई उद्धार गर्न सरकारको नाममा आदेश दिएको थियो ।
‘कल्याणकारी कोषबाट श्रमिक उद्धार गर्न आदेश आएको पूर्ण पत्र आएको छैन,’ श्रम मन्त्री यादवले भने ‘मैले पनि समाचार पढेर थाहाँ पाएको छु,पूर्ण पाठ आजै मगाएको छु, छलफलपछि उद्धारमा लाग्छौं ।’
विदेशमा अलपत्र परेका श्रमिकको पक्षमा सर्वोच्च अदालत, सरकारी कोषबाटै उद्धार गर्न आदेश
पूर्ण पाठ आफुले अध्ययन नगरेको भएपनि आफु श्रमिकलाई उद्धारको नाममा पैसा खर्च गराउने पक्षमा सुरु देखी नै नभएको र अहिले झन सर्वोच्चले नै आदेश दिएपछि त्यसलाई पूर्ण रुपमा पालना गर्न लागिपर्ने मन्त्री यादवको भनाई छ ।
सर्वोच्चले पत्र पठाएपछि तत्कालै हाल तय भएको चार्टड उडान रोक्ने श्रम मन्त्रालयको तयारी छ । 'पत्र प्राप्त हुने वित्तिकै हामी छलफलमा जुट्छौं,' मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले भने, 'त्यसपछि सम्भवत हाल निर्धारण गरिएको चार्टड उडानहरु रोकिन सक्छ ।' श्रमिक उद्धारमा अव कुनै पनि कारणले ढिला नहुने गरी आवश्यक कार्यविधि बनाउन मन्त्रालय लागि पर्ने उनको भनाई छ ।
वैदेशिक रोजगार ऐन २०६४ को धारा ७५ मा स्पष्टसँग लेखिएको छ ‘कुनैपनि देशमा महामारी र युद्ध भएमा त्यस्तो अवस्थामा सरकारले ती देशमा रहेकाहरुलाई उद्धार गर्ने छ । त्यस्तो बेलामा उद्धारको खर्चको व्यवस्थाको लागि दफा ३३ को (ख) मा धारा ७५ को कारणले समस्यामा परेका नेपालीहरुलाई कल्याणकारी कोषको रकम खर्च गरेर उद्धार गरिने छ, भन्ने उल्लेख छ ।
तर, सरकारले हाल श्रमिक स्वंयमले पैसा तिरेर नेपाल आउनु पर्ने गरी ल्याएको प्रावधान कानूनी व्यवस्था विपरीत रहेको भन्दै अधिवक्ता सोम लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले उक्त आदेश वैदेशिक रोजगार ऐन २०६४ को दफा ३२, ३३ र ७५ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम २६ समेतको विपरीत रहेको आदेश खारेजीको माग गरेका थिए ।
अहिले पर्यटन र परराष्ट्र मन्त्रालयको मिलेमतोमा कानुनको धज्जि उडाउदै चार्टड उडानको तालिका सार्वजनिक गरिरहेको छ । तर, विदेशमा रहेका विभिन्न दूतावासहरुले भने भाडा महंगो भएको र स्वास्थ्य परिक्षण गर्न ढिला भएको बाहना देखाउदै उडान रद्ध गराउदै आएको छ ।