काठमाडौं । कबाब पारखीलाई ध्यानमा राख्दै ललितपुरको झम्सीखेलस्थित भिभान्ता होटलमा ‘ट्रेल अफ कबाब’ फेस्टिवल आयोजना हुने भएको छ । १९ जुलाईदेखि २८ जुलाईसम्म चल्ने फेस्टिवलमा १० किसिमका कबाब पाइने छ ।
परम्परागत मटन र भेंडाको मासुलाई सामान्य तापमा पोलेर वा पकाएर बनाइने मासुको चोक्टा कबाब हो । कबाबमा ससाना काटिएका मासुका टुक्रा, समुद्री खाद्य, तरकारी र फलफूल पनि हुन्छ ।
कबाबमा अधिकांश प्रयोग गरिने वस्तु बिफ र चिकेन हो । आजभोलि त्यसलाई तारमा पोल्ने, रोस्ट गर्ने, उसिन्ने गरिन्छ । र त्यसलाई सलाद, तरकारी, रोटी, चामल र चटनीसँग खाइन्छ ।
भिभान्ता काठमाडौंले शताब्दीयौं पुरानो परिकारलाई मिन्टमा पस्किने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको जनाएको छ ।
फेस्टिवलमा आउनेले प्रतिव्यक्ति एक हजार ५ सय र अल्कोहल खान परे ५ सय रुपैयाँ थप गर्नुपर्ने छ । अल्कोहलमा बियर र ह्विस्कि राखिएको छ ।
काठमाडौंमा धेरै भारतीय पर्यटकको आगमन भइरहेका बेला भिभान्ताले कबाब फेस्टिवलको आयोजना गरेको हो । मेलामा भारतीयसँगै नेपालीहरुले पनि विषेश चासो राख्ने अपेक्षा भिभान्ताको छ ।
यस्ता छन् फेस्टिवलका परिकारहरुः
ट्रेल्स अफ कबाब
अफगानी सेक
पिसेको मासुको कबाब, जसमा हलुका मसलाको प्रयोग गरिन्छ, हलुका ओसिलो र फ्लेवर हुन्छ । यो इन्डियन सब कन्टिनेन्टल खाना हो ।
गालोटी कबाब
मुखै रसाउने, लखनवी रसिलो मासुको कबाब परम्परागत मसला र पिसिएको मासुबाट बनाइएको हो ।
बोटी कबाब
यो कबाब साना मासुका पिसलाई मसलामा राम्ररी मोलेर तन्दुरमा पकाइएको हुन्छ ।
मलाइ टिक्का
चिज, दही र मसला लगाइएको कुखुराको रसिलो फिलालाई तारमा सेकाएर बनाइन्छ मलाइ टिक्का
ताङ्डी कबाब
नरम, ओसिलो ड्रमस्टिकलाई एरोमेटिक पर्सियन मसलामा मिलाएर बनाइन्छ ।
अमृतसरी माछा
हल्का मसला लगाइएको माछालाई चनाको पिठोमा डुबाएर मसलासँग पिसेर तातो ग्रिडलमा सेकाइन्छ ।
सर्सोवाली मछली
ताजा पिसिएको तोरीको दाना र दहीमा माछा टिक्कालाई डुबाएर बनाइन्छ सर्सोवाली मछली
पनीर टिक्का रेड
पनीरको टुक्रा, प्याज, बेल मरिचलाई मसला र दहीसँग मिलाएर तन्दुरमा रोस्ट गरिन्छ ।
अर्बी के सामी कबाब
पिँडालुलाई हल्का मसलासँग मिलाएर तातो ग्रिडलमा पकाइन्छ ।
दही के कबाब
ग्रिडलमा पकाइएको कबाब, बाहिरबाट कुरुमकुरुम र भित्रबाट नरम हुन्छ । यसमा दही र मसलाको राम्रो मिसावट हुन्छ ।