काठमाडौं । रेष्टुरेन्टहरुले अब आफ्नै मोबाइल एप मार्फत फूड डेलिभरी गर्ने भएको छ । यस अघि विभिन्न डेलिभरी कम्पनी मार्फत फूड सप्लाई गर्दै आएका रेष्टुरेन्टहरुले अब आफ्नै आधिकारीक एप बनाएर होम डेलिभरी सुविधा दिन लागेका हुन् । रेवानले अर्डर साथी डटकम मार्फत फुड डेलिभर गर्ने भएको हो ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन(रेवान)का महासचिव एकराज अधिकारीले नयाँ प्रविधिमा रेष्टुरेन्टहरुलाई पनि जोड्न मोबाइल एप बनाउने तयारी भएको हो । लकडाउनका कारण लामो समय बन्द भएको रेष्टुरेन्ट होम प्याकिङको लागि खोल्न दिने सरकारले निर्णय गरेको छ । सोही निर्णय अनुसार रेष्टुरेन्टहरुको छाता संगठन रेवानले मोवाइल एप बनाएको उनले बताए ।
रेवानले बनाउदै गरेको मोबाइल एपमा ५० भन्दा बढी रेष्टुरेन्ट आबद्ध भइसकेका छन् । बाकी रेष्टुरेन्टहरुलाई पनि क्रमशः आबद्ध गराउदै लैजाने तथा पोखरा र सौराहाका रेष्टुरेन्टलाई पनि एपमा जोड्ने महासचिव अधिकारीको भनाई छ । आगामी शुक्रबार मोबाइल एपको सार्वजनिक गर्ने तयारी रेवानको छ । कोरोनाको कारण तीन महिनासम्म बन्द रेष्टुरेन्टलाई केहि चलायमान बनाउन मोबाइल एप निर्माण गरिएको महासचिव अधिकारीले बताए ।
हाल रेवानमा ४ सय भन्दा बढी रेष्टुरेन्टहरु आबद्ध छन् । सरकारले प्याकिङ र होम डेलिभरीका लागि रेष्टुरेन्टहरु सञ्चालन गर्न दिने निर्णय गरेपछि अहिले ठमेल सहित विभिन्न क्षेत्रका रेष्टुरेन्टहरु धमाधम खुल्न थालेका छन् । विदामा रहेका कर्मचारीहरुलाई पनि बोलाउन थालेका छन् ।
अहिले काठमाडौंमा सबैभन्दा बढी रेष्टुरेन्टहरुको फुड डेलिभरी फुडमाण्डौले गर्दै आएको छ । फुडमाण्डुले एउटा रेष्टुरेन्टबाट फुड डेलिभरी गरेबापत २५ प्रतिशत कमिशन लिने गरेको छ । आफैले बनाएको खाना र खाजा डेलिभरी गरेको भरमा २५ प्रतिशत कमिशन दिनु पर्दा केहि सञ्चालकहरु असन्तुष्ट छन् । सोहि कारण पनि अहिले रेवान आफैले नयाँ एप बनाएको सञ्चालकहरुको भनाई छ ।
यसबाट रेष्टुरेन्ट सञ्चालक सहित त्यसमा आश्रीत श्रमिकहरुलाई पनि केहि राहत मिल्ने विश्वास छ । पछिल्लो समय होम डेलिभरी गर्ने नयाँ नयाँ एप बनिरहेको बेला रेबानले आफ्नै एप बनाएपछि त्यससँग आबद्ध रहेकाहरु केहि प्रभावित हुने देखिन्छ ।