काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा मुक्त कमैया तथा मुक्त हलिया पुनर्स्थापनको काम सम्पन्न भएको जनाएको छ । विगत लामो समयदेखि विभिन्न राजनीति दल तथा पार्टीको घोषणामा समावेश गरिएको मुक्त कमैया तथा मुक्त हलियाको पुनर्स्थापना चालू आर्थिक वर्षमा सम्पन्न भएको हो ।
भूमि व्यवस्था, गरिबी निवारण तथा सहरकारी मन्त्रालयका अनुसार, मुक्तहलियाको बसोबास व्यवस्थापन, आवास निर्माण र पुनर्स्थापनको काम चालू आवभित्रै सम्पन्न भएको जनाएको हो । मुक्त हलिया तथा कमैयालाई जग्गा खरिद गर्न अनुदान, आवास निर्माण अनुदान र घर मर्मतका लागि अनुदान दिएर समस्या समाधान गरिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।
हालसम्म ७ हजार ४९८ परिवारलाई जग्गा खरिद अनुदान, घर निर्माण अनुदान र घर मर्मत अनुदान वितरण भई मुक्त हलियाको पुनर्स्थापना गरिएको प्रवक्ता जोशीले बताए । १२७६ परिवारलाई जग्गा खरिद अनुदान, १७१८ परिवारलाई घर निर्माण अनुदान र ४५०४ परिवारलाई घर मर्मत अनुदान वितरण भएको छ ।
मुक्त हलियाको बसोबास व्यवस्थापनका लागि कन्चनपुरको भीमदत्त नगरपालिकाको वागफाँटा र बाराकुण्डमा करिब ५६ पक्की घर निर्माण भएका छन् । त्यस्तैगरी कन्चनपुरको लालझाडीमा करिब ६० पक्की घर निर्माणका लागि जग्गा प्राप्त निर्माण कार्य अघि बढेको मन्त्रालयले जनाएको छ ।
मुक्त हलिया र मुक्त कमैयाको पुनर्स्थापना गर्ने काम सम्पन्न भएको जोशीले बताए । आगामी वर्ष मुक्तहलियाको जीवनस्तर उकास्ने र जीवन बदल्नेतर्फ कार्यक्रम अघि बढाइने जोशीको भनाइ छ ।
मुक्तहलियाको बसोबास व्यवस्थापन तथा पुनर्स्थापन कार्य सम्पन्न भएको औपचारिक घोषणा आगामी भदौमा गरिने जनाइएको छ । चालू आवमा स्थानीय तहमा ४७ करोड रुपैयाँ बजेट स्रोत हस्तान्तरण गरिएको थियो ।