काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने औपचारिक थालनी गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्यो । महाराजगन्ज देखि बुढानीलकण्ठ क्षेत्रसम्म पुग्ने सडकलाइ ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ ठाउँमा प्वाल पारेर तार अन्डरग्राउन्ड गर्ने र १५ दिन भित्रै सडक मर्मत गरी पहिलेकै अवस्थामा ल्याउने भनेर प्राधिकरणले सडक विभागसँग सम्झौता समेत गर्यो । तर, सडक खनेर भूमिगत गर्ने काम सुरु भएको ३ महिनाभन्दा बढि भयो ।
तर, सडक खनेको ठाउँ अहिलेसम्म पनि मर्मत हुन सकेको छैन् । थप काम बाँकी रहेको भन्दै कामदारले सडक छेउमा प्राधिकरणको बोर्ड राखिएको छ । महाराजगन्ज देखि बुढानीलकण्ठसम्म विभिन्न ठाउँ ठाउँमा सडक खनेर पाइप विच्छ्याउने काम भइरहेकाे छ ।
चैतयता लकडाउन सुरु भएपनि त्यसअघि एक महिनामा सडक मर्मत भइसक्थ्यो । तर, प्राधिकरणले आफुले सम्झौता गरेको शर्त पालना नगरी उल्टै अनावश्यक रुपमा सडकलाइ कुरुप बनाउने काम गरेको सडक विभागको आरोप छ । यता, प्राधिकरणले भने लकडाउनका सीमित कामदारबाट काम भएकाले सडक मर्मत हुन ढिलाई भएको बताउँछ ।
विभागका महानिर्देशक केशवकुमार शर्माले १५ दिनभित्र खनेको सडक मर्मत गरिसक्छौं भनेर प्राधिकरणले सडक प्रयोग गरेपनि अहिलेसम्म पनि मर्मत नभएको बताए । उनले भने, ‘टिचिङ हस्पिटल नेरको सडक फागुन मै खन्नुभएको हो, १५ दिनभित्र ‘मेन्टिनेन्स’ गर्दिन्छौं भनेर । तर, अहिले त्यो त्यतिकै छ । उहाँहरुले भत्काएर २÷३ सय मिटरमा एउटा प्वाल खन्ने र भित्रभित्रै पाइप अन्डरग्राउन्ड गर्ने भनिएको थियो । आखिर सवै खनेर बिजोक बनाउनुभएको छ ।’
विद्युत् प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रमा तार भूमिगत गर्ने ठेक्का भारतको केइआइकके कम्पनीलाइ दिएको छ । विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार नपर्ने दाबी प्राधिकरणकाे छ ।
दुई बर्षभित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । अरु केन्द्रमा पनि अन्डरग्राउन्ड गर्नका लागि बोलपत्र आह्वान भई मुल्यांकन भइरहेको छ । दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन् ।