काठमाडौं । कोरोना भाइरसको प्रभावले अलपत्र परेका नेपालीहरुलाई सरकारले उद्धारको नाममा झन पीडित बनाउन लागेको देखिन्छ । सरकारले जेठ ३२ देखी असार १४ गतेसम्ममा विदेशमा समस्यामा परेका करिब २५ हजार नेपाललीलाई उद्धार गरिसक्ने निर्णय गरेको छ ।
यो सँगै सरकारले उद्धारको लागि मुलुक अनुसार भाडादर समेत तय गरेको छ । तर, अहिले तय गरिएको भाडा सामान्य अवस्थाको तुलनामा चारगुणा बढी रहेको छ । युएई र म्यानमारले केहि नेपालीहरुलाई निशुल्क रुपमा नेपाल ल्याइदिएको र अरुलाई पनि ल्याउने प्रस्ताव गरिरहेको बेला सरकारले भने पीडित नेपालीहरुलाई झन् पिडा दिने गरेर भाडा निर्धारण गरेको छ ।
रोजगारी गुमाएर बसेका र विरामी अवस्थामा रहेका नेपालीहरु अहिले तय गरिएको भाडादरमा फर्कने सम्भावना अत्यन्त कम छ । मलेसिया, कतार र साउदी अरबका नेपाली राजदूतहरुले यस अघि नै सरकारसँग चार्टड भाडा महंगो हुने भन्दै केहि समयका लागि व्यवसायीक उडान खुला गर्न प्रस्ताव समेत गरेका थिए ।
व्यवसायीक उडान खुला गर्दा भाडामा प्रतिस्पर्धा हुने र नेपाल फर्कनेहरुलाई सस्तो पर्ने राजदूतहरुको जोड थियो । तर, यो विषयमा सरकारले कुनै निर्णय नगरी नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सलाई उद्धारको जिम्मा दिएको छ ।
बुधबार निर्धारण गरिएको भाडा अनुसार मलेसियाको लागि अमेरिकी डलर ५२० तोकेको छ । यो रकम बिहिबार (आज) को मुल्य अनुसार ६३ हजार ८ रुयैयाँ ४ पैसा पर्छ । सामान्य अवस्थामा मलेसियाको भाडा १४ देखी १५ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।
यति मात्र हैन, मलेसियाबाट नेपाल आउनेहरुले स्वास्थ्य परिक्षण पनि आफैले गर्नुपर्छ । त्यसमा पनि पीसीआर टेष्ट नजिकको क्लिनिकमा गर्नुपर्ने मलेसियाको लागि नेपाली दूतावासले सूचना जारी गरेको छ । पीसीआर टेष्टको १० देखी १५ हजार रुपैयाँसम्म लाग्छ ।
यस्तै नेपालमा आएपछि क्वारेन्टाइनका लागि होटलमा बस्दा आफैले खर्च व्यहोर्नुपर्ने हुन्छ । वान स्टार होटलमा दुई जना बस्दा ३७ हजार भन्दा बढी रकम लाग्छ । यस्तै मलेसियाको राजधानी क्वालाम्पुरमा आइपुग्न करिब २ देखी ३ हजार रुपैयाँसम्म लाग्छ । यसरी एक जना नेपालीले मलेसियाबाट नेपाल आउदा करिब १ लाख १८ हजार भन्दा बढी शुल्क तिर्नुपर्छ ।
सरकारले निर्धारण गरेको हवाई भाडादर प्रति गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले उद्धारको नाममा श्रमिकलाई झन पिडा थप्न खोजेको बताएका छन् । ‘अहिले निर्धारण गरेको भाडाँमा नेपालीहरु फर्कन सक्ने अवस्था छैन’ अध्यक्ष भट्टराईले भने, ‘नर्फकी पनि भएको छैन ’ ।
अहिले निर्धारण गरेको शुल्कमा नेपालीहरु फर्कन सक्ने अवस्था नरहेकोले भाडामा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छन् । रोजगारी गुमेर खाना र बस्नसमेत समस्या भएर विभिन्न संघसस्थाले संरक्षण दिइरहेको बेला उनीहरु लाखौं रुपैयाँ तिरेर आउन सक्ने अवस्था नरहेको अध्यक्ष भट्टराईको भनाई छ ।
यस्तै गैरआवासीय नेपाली संघ(एनआरएनए) बहराइनका अध्यक्ष लक्ष्मी गिरीले सरकारले तोकेको भाडाले पिडामा रहेका श्रमिकहलाई निल्नु न ओकल्नु जस्तै भएको बताईन । रोजगारी गुमेको पिडा एकातिर हुँदाहुँदै आफ्नै देशमा फर्कने सोच बनाएका नेपालीहरु सरकारले तोकेको भाडाले झन चिन्तीत बनेको उनको भनाई छ ।
एकातिर भाडा महंगो छ भने अर्को तर्फ नेपाल गएपछि १४ दिन क्वारेन्टाइनका लागि होटलमा बस्नु पर्छ । यसरी पाइला नै पिच्छे सरकारले श्रमिकबाट पैसा उठाउदा उद्धारको नाममा झन् पिडा दिएको उनको प्रतिक्रिया छ । त्यसैले भाडामा केहि पुर्नविचार गर्न आग्रह गर्दै नभए केहि समयका लागि व्यवसायीक उडान खुला गर्न सरकारलाई अनुरोध गरेकी छिन् ।
बहराइनको भाडा अमेरिकी डलर ५४५ तोकेको छ । यो रकम बिहिबार(आज)को मुल्य अनुसार ६६ हजार ३७ रुपैयाँ ६५ पैसा पर्ने देखिन्छ । तर, सामान्य अवस्थामा एकतर्फि भाडा बढीमा २५ हजार रुपैयाँ पर्ने गरेको छ । यसरी हेर्दा सरकारले तोकेको मुल्य करिब तेब्बर बढी देखिन्छ ।