काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि व्यवसायीक उडान बन्द गरिएको हेलिकप्टर कम्पनीहरुले असार १७ गतेदेखी उडान खुला गर्ने तयारी गरेको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेबाट आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रीपरिषद्मा पठाएसँगै हेलिकप्टर कम्पनीहरुले पनि आन्तरिक तयारी तिब्र पारेको हो ।
बुधबार बस्ने मन्त्रीपरिषदको बैठकले आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरेमा हेलिकप्टर कम्पनीहरुले असार १७ बाट उडान गर्न पाउने छन् ।
दुई महिना भन्दा बढी समय ग्राउण्डेड रहेको हेलिकप्टर कम्पनीहरुले अहिले स्वास्थ्य निर्देशीका बनाइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हेलिकप्टर कम्पनीहरुको स्वास्थ्य निर्देशीकाको अध्ययन गरिरहेको छ ।
यात्रुले अपाउनु पर्ने सावधानी, हेलिकप्टर कम्पनीहरुले गर्नु पर्ने आवश्यक तयारीहरु क्यानलाई बुझाइसकेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए ।
‘सरकारले आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरिहालेमा हामी तयारी अवस्थामा रहन आवश्यक सबै प्रक्रियाहरु पुरा गरिसकेका छौं,’ प्रवक्ता कंडेलले भने ‘अहिलेको यो विषम परिस्थीतिमा हेलिकप्टरले सामान्य अवस्थाको जस्तै व्यापार त गर्न सक्दनै,प्रवक्ता कंडेलले भने,तर,नियमीत रुपमा उडानका लागि खुला गर्छौं ।’
सरकारले आन्तरिक उडान खुला गरिहाले पनि सबै हेलिकप्टर कम्पनीहरुले भने तत्कालै उडान गर्ने मनसाय बनाएका छैनन । अहिले धेरै कम्पनीका कर्मचारीहरुलाई विदा गरिएको छ ।
केहिलाई घर विदा दिइएको छ भने केहिलाई थोरै कर्मचारीहरु राखेर कम्पनी चलाइरहेका छन् । त्यसैले हेलिकप्टर कम्पनीले उडान सुचारु गरिहालेपनि सबै कर्मचारीहरुलाई भने एकैपटकमा नबोलाउने व्यवसायीहरुको भनाई छ । अहिलेपनि कम्पनीहरुले निश्चित कर्मचारीहरुलाई राखेर चलाइरहेको छ ।
अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पाले आन्तरिक उडान खुला गरिहाले पनि तत्कालै व्यवसायीक उडान सुरु नगर्ने बताए । ‘सबै हेलिकप्टरले एकैपटकमा उडान गर्दा व्यवसायमै समस्या हुन्छ,’ प्रवन्ध निर्देशक शेर्पाले भने ‘त्यहिभएर केहि समयपछि मात्र उडानमा जान्छौं ।’
नेपालमा अहिले हेलिकप्टरले खोज तथा उद्धार बाहेकको अरु काम नहुने र विदेशी पर्यटकहरु आउन समय लाग्ने भएकोले हेलिकप्टरले सोचे अनुसारका व्यापार गर्न नस्कने व्यवसायीहरुको ठम्याई छ ।
अहिले नेपालमा १० वटा हेलिकप्टर कम्पनीहरु रहेका छन् । ती कम्पनीहरुको ३७ वटा हेलिकप्टरहरु सञ्चालनमा रहेका छन् ।