काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय गौरवका चारओटा ठूला आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य लिएको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मै सम्पन्न हुने भनिएका ती आयोजना बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सम्पन्न हुन नसक्ने भएपछि सरकारले आगामी आर्थिक वर्षका लागि सम्पन्न गर्ने गरी पछि सारेको हो ।
खासगरी, दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय र भैरहवा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थललाइ आउँदो वर्ष सम्पन्न गर्ने गरी सरकारले प्राथमिकतामा राखेका छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आउँदो असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएपनि पछिल्लो कोरोना महामारीको कहरले निर्माण सामग्री आपूर्तिमा समस्या र भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीले पूरा हुने सम्भावना छैन् । दुइ दशकअघि थालिएको बहुप्रतिक्षित मेलम्ची पनि चालू आवमै सम्पन्न गरी काठमाडौं उपत्यकाबासीलाइ खानेपानी वितरण गर्ने सरकारको योजना हो । तर, पछिल्लो लकडाउनले आयोजना सुस्त छ ।
खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक बर्षको अन्त्यसम्ममा आयोजनाका बाँकी काम सम्पन्न गरेर आउँदो आर्थिक वर्षको सुरुवातमै खानेपानी वितरण गर्ने योजना बनाएकी छन् । हालै प्रतिनिधी सभामा बजेटमाथि उठेको जिज्ञासामा मन्त्री मगरले मेलम्ची उद्घाटनको मिति तय गर्न गइरहेको बताएकी छन् ।
त्यस्तै, आउँदो आर्थिक वर्षमा पोखरा र लुम्बिनीमा बन्न लागेका दुइओटा बिमानस्थल सम्पन्न गरी सञ्चालन गर्ने सरकारको लक्ष्य छ । हेरौं, आउँदो आर्थिक वर्षभित्र सम्पन्न हुने आयोजनाको भौतिक प्रगति विवरण ः
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना
सरकारले बजेटमार्फत नै नै आगामी आर्थिक वर्षमा १३ सय मेगावाट विद्युत् राष्ट्रिय ग्रीडमा थप हुने लक्ष्य लिएको छ । जसमध्ये, लक्ष्यको आधा बिजुली माथिल्लो तामाकोशीबाट नै उत्पादन हुनेछ । आव २०६७/०६८ मा सुरु भएको माथिल्लो तामाकोशी २०७२÷०७३ मा सम्पन्न हुने प्रारम्भिक लक्ष्य थियो । तर, सरकार परिवर्तन, भूकम्प, नाकाबन्दीका कारण सो आयोजना निरन्तर पछि धकेलिन पुग्यो । जसले गर्दा ३५ अर्ब रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको आयोजनाको लागत बढेर अहिले ७० अर्ब रुपैयाँ पुगिसक्यो । देशको यो नै ठूलो निर्माणधीन जलविद्युत् आयोजना हो ।
आउँदो असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएपनि कोरोना भाइरसको महामारी, निर्माण सामग्री आपूर्तिमा समस्या, भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीले आगामी वर्षका लागि सारिएको छ । हालसम्म ९९.४ प्रतिशत भौतिक प्रगति पूरा भएको आयोजना पक्षको दाबी छ । लकडाउनका बीचमा पनि शुरक्षा सावधानी अपनाएर काम भइरहेको छ ।
कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ५० मिटर मात्रै छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी असार मसान्सम्म ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ ।
आउँदो भदौसम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी व्यवसायिक रुपमा विद्युत् उत्पादन हुने ऊर्जामन्त्री बर्षमान पुनले मंगलबार प्रतिनिधी सभाको बजेटमाथिको छलफलमा बताएका थिए ।
मेलम्ची खानेपानी आयोजना
त्यस्तै, आगामी वर्ष बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनालाइ पनि प्राथमिकता र महत्वपूर्ण विकास आयोजनाका रुपमा हेरिएको छ । दुइ दशकअघि निर्माण सुरु भएको उक्त गौरवको परियोजना काठमाडौं उपत्यकाका जनताको तिर्खा मेटाउने आयोजनाका रुपमा लिइन्छ । आयोजनाको मुख्य सुरुङ र अडिट खन्ने काम सम्पन्न भएको छ ।
इटालियन ठेकेदार कम्पनी भागेपछि चीनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएएको छ । आयोजनाको हालसम्म ९७ प्रतिशत काम सकिएको छ । ३१ अर्बको प्रारम्भिक लागतमा सुरु भएको आयोजनामा हालसम्म ३८ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ । आउँदो असार मसान्तभित्र सम्पन्न हुने गरी खानेपानी मन्त्री बिना मगरले गुरुयोजना सार्वजनिक गरेपनि पछिल्लो कोरोनाको प्रभावले सो आयोजना पनि अर्को वर्ष सारिएको छ ।
आयोजनाको मुख्य हेडवक्र्स, सुरुङमार्ग लगायत सम्पूर्ण संरचना निर्माणको काम पूरा भएको छ । अहिले सुरुङमार्ग भित्र ढलान, फिनिसिङ र जडान लगायतका काम बाँकी छन् ।
गौतमबुद्ध र पोखरा बिमानस्थल
त्यस्तै, गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि आउँदो आवमा निर्माण सकिदैछन् । शंसोधित तालिकाअनुसार सन् २०२० मार्च सम्पन्न हुने भनिएको गौतमबुद्ध बिमानस्थलका अन्तिम चरणका कामहरु बाँकी छन् । पछिल्लो पटक कोरोनाका कारणले आयोजनाका बाँकी काम हुन नसकेर तोकिएको सम्पन्न हुने लक्ष्य घर्किएको छ । रनवे, टर्मिनल भवन संरचनाको काम सम्पन्न भएको छ भने फिनिसिङ कार्य अन्तिम चरणमा छ । आउँदो वर्ष यो आयोजना सम्पन्न हुने छ । आयोजनाको झन्डै ८० प्रतिशत काम सम्पन्न भएको छ ।
पोखरा क्षेत्रीय बिमानस्थल निर्माणको काम पनि अन्तिम चरणमा छ । सन् २०११ मा २१ अर्ब ६० करोड लागत अनुमान निर्माण सुरु भएको सो आयोजना हालसम्म धावनमार्ग, ट्याक्सीवे र एप्रोन निर्माण सम्पन्न भएका छन । टर्मिनल भवन सहित १४ ओटा भवन निर्माणको अन्तिम चरणमा छन् । सन् २०२१ जुलाइ १० सम्म सम्पन्न गर्ने लक्ष्य छ ।
लकडाउन खुल्यो भने कम्तीमा ६ महिना अघि निर्माण सम्पन्न हुने आयोजनाको दाबी छ । त्यसअनुसार, आगामी आवको अन्त्यसम्ममा आयोजना सम्पन्न भइ सञ्चालनमा आउने देखिन्छ । हालसम्म बिमानस्थलको झन्डै ६० प्रतिशत भौतिक प्रगति भएको छ ।