काठमाडौं । सरकारले बजेटमार्फत भटमासको पिनामा ४ प्रतिशत भन्सार बढाएपछि स्वदेशी दाना उद्योग गम्भीर संकटमा पर्ने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा पिना आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई बढाएर ९ प्रतिशत पुर्याएपछि उनीहरु गम्भीर संकटमा पर्ने भएका हुन् । दानामा पिनाकाे याेगदान २० प्रतिशत हुन्छ ।
देशभित्र न्यून उत्पादन हुने भटमासको पिना आयातमा अब ९ प्रतिशत भन्सार तिर्नु पर्छ । यसरी महँगो मूल्य तिरेर ल्याएको पिनाबाट दाना बनाउँदा दानाको मूल्य पनि बढ्ने दाना उद्योग संघका अध्यक्ष रविन पुरीले जानकारी दिए ।
‘दानाको मूल्य नबढाउन उद्योगको भविष्य संकटमा, मूल्य बढाउन किसान मर्ने अवस्था आउँछ,’ अध्यक्ष पुरीले भने, ‘किसानको लागत अहिले पनि उठ्न सकेको छैन् । यस्तो अवस्थामा दानाको मूल्य झन बढाउँदा उनीहरुको लागत बढ्ने तर, बजारमा मूल्य त्यो अनुसार आउँदैन् ।’
भटमास देशभित्र उत्पादन (भुटी खान मात्र) ९५ र मकै ७० प्रतिशत विदेशबाट ल्याउनुपर्छ । स्वदेशी उत्पादनले धान्न नसक्ने र सतप्रतिशत विदेशबाटै ल्याउनुपर्ने कच्चा पदार्थमा थप भन्सार वृद्धिले उद्योग संकटमा पर्न सक्ने उनको भनाइ छ ।
पछिल्लो भन्सार वृद्धिले दानाको उत्पादन लागत बढ्न गइ किसान र उपभोक्ता मारमा पर्नुका साथै व्यवसाय समेत धराशायी हुने उनको भनाइ छ । त्यस्तै, स्वदेशी अण्डा र कुखुराको मासुको मूल्य महँगो हुँदा खुल्ला बोर्डरका कारण व्यापारीले भारतबाट कम लागतमा चल्ला, अण्डा र कुखुराको मासु लुकिछिपी भित्र्याउन थाल्ने हुँदा स्वदेशी उद्योगी धराशायी हुन सक्ने उनले बताए ।
पछिल्लो भन्सार वृद्धिले दानामा थप मूल्य १ रुपैयाँ बढ्नेछ । अहिले लकडाउनको बेला कुखुरापालक किसानले कुखुरालाई दाना खुवाउन सकेका छैनन् । अहिले दानाको खपत ४० प्रतिशत मात्रै रहेको छ । यसले दाना उद्योगीले बैंकको ब्याज, भाडा, बिजुली, पानीको महशुल लगायतको खर्च धान्न सक्ने अवस्था छैन् । सरकारबाट केही राहत र भन्सार सहुलियत पाइएला भनेर बसेपछि ४ प्रतिशत भन्सार बढाएर उद्योगीलाइ निराश बनाउने काम भएको पुरीले बताए ।
भारतबाट बार्षिक २५ अर्ब रुपैयाँ बराबरको मकै र भटमासको पिना आयात हुन्छ । साढे ५ लाख टन मकैं बार्षिक रुपमा दानाको रुपमा प्रयोग हुन्छ । त्यसमध्ये झन्डै ४ लाख टन मकै विदेशबाट आयात हुन्छ ।
देशभर १ सय ११ ओटा दाना उद्योग सञ्चालनमा छन् । सवै उद्योग पूर्ण रुपले सञ्चालन आउन सकेनका छैनन् । लकडाउनले दानाको खपत घटेपछि दाना उद्योग समेत पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् । लकडाउनले किसानले चल्ला र कुखुरा हाल्न छाडेपछि दानाको खपत घटेको हो । दाना खपत हुने अधिकांश उद्योग लकडाउनले बन्द अवस्थामा छन् । दाना उद्योगका क्षेत्रमा अहिले ४० अर्ब लगानी भइसकेको छ ।