काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कने प्रक्रिया सुरु भएको छ । शुक्रबार युएईबाट १ सय ६८ र म्यानमारबाट २६ जना नेपालीहरु स्वदेश फर्किसकेका छन् । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को निर्देशीका अनुसार विदेशबाट आउनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ । त्यहि अनुरुप सरकारले पनि क्वारेन्टाइन निर्माण गर्ने घोषणा ३ महिना अघिनै गरेको थियो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले क्वारेन्टाइन व्ययस्थापनका लागि संस्कृती, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजत्वमा व्यवस्थापन समिति समेत बनाएको छ । संयोजकको जिम्मेवारी पाएलगत्तै मन्त्री भट्टराईले पहिलो चरणमा काठमाडौं, नगरकोट र धुलिखेलका होटलहरुको निरिक्षण गरे ।
होटल व्यवसायीहरुले पनि क्वारेन्टाइनका लागि दिन तयार रहेको प्रतिबद्धता जनाए । तर, होटल आसपासका समुदायको चर्को दबाबपछि नगरकोट र धुलिखेलका होटल व्यवसायीहरु पछि हटेका छन् । होटल एसोसिएन अफ नेपाल(हान)ले पनि ती दुई ठाउँको होटलसहितको लिष्ट पर्यटन मन्त्री भट्टराईलाई बुझाएका थिए ।
अहिले ती दुई ठाउँका होटलले क्वारेन्टाइन बनाउन नदिने निर्णय गरेपछि उपत्यका भित्रका होटलहरुलाई प्रयोग गर्ने निधोमा सरकार पुगेको छ । यस अघि दोस्रो चरणमा आउनेहरुलाई मात्र काठमाडौंका होटल प्रयोग गर्ने भनिएपनि शुक्रबारबाटै ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि सरकार केहि आत्तिएको देखिन्छ । त्यहि अनुरुप शुक्रबार नै काठमाडौं जिल्ला प्रशासनले हानलाई पत्रचार गर्दै तत्कालै होटलको लिष्ट दिन भनेको छ ।
होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेपनि सम्बन्धीत क्षेत्रका समुदाय, वडा अध्यक्ष सहितसँग सरकारले कुनै समन्वय र सम्बाद गरिएको पाइदैन । सोहि कारण विदेशबाट आएका डाक्टरहरुलाई गौशालाको एक होटलमा राख्न खोज्दा विवाद भएपछि अर्को ठाउँमा सार्नुपरेको थियो । त्यस्तै अहिले नगरकोट र धुलिखेलका होटलहरुले पनि क्वारेन्टाइनका लागि दिन तयार हुदा हुदैपनि समुदायको चर्को दबाबले पछि हट्नु परेको छ ।
सरकारले होटल व्यवसायीलाई भन्दा पहिला सम्बन्धीत क्षेत्रका समुदायहरुलाई कन्भीन्स गराउनु पर्ने होटल एसोसिएसन अफ नेपाल(हान)का महासचिव साजन शाक्यको भनाई छ । ‘हामी भनेजति होटल दिन तयार छौं,’ महासचिव शाक्यले भने ‘तर,त्यस आसपासका समुदायलाई त सरकारले सम्झाइदिनु प¥यो नी ?’
हानका महासचिव शाक्यले प्रशासनले भनेको आधारमा उपत्यका सहित विभिन्न क्षेत्रका ४५ वटा होटलको नाम शनिवार पठाएका छन् । ‘अहिले ४५ वटाको मात्र नाम पठाएका छौं, छलफल गरी थप होटलको लिष्ट आइतबार प्रमुख जिल्ला अधिकारीलाई दिने तयारी गरेको छ’ महासचिव शाक्यले भने ।
अहिले पठाएको लिष्टमा ठमेल, बागबजार सहितका होटलहरुको नामावली छ । बाक्लो बस्ती रहेको ठाउँमा सञ्चालित होटलहरुको नामलिष्ट देखेपछि त्यस क्षेत्रका स्थानीयहरुले विरोध समेत गर्न थालेका छन् । त्यसैले सरकारले होटल क्षेत्र आसपासका समूदायलाई सम्झाउनु पर्ने अवस्था देखिएको छ ।
कोठा बाहिरबाटै खाना
होटलमा बस्नेहरुलाई खाना र खाजा कोठा बाहिरबाटै दिइने प्रबन्ध मिलाएको छ । भित्रै एटेच वाथरुम हुने भएकोले कोठामा बस्नेहरु बाहिर निस्कन पाउदैनन् । होटलमा काम गर्ने श्रमिकको सुरक्षाको लागि कोठा बाहिरबाटै खाजा र खाना दिने तयारी गरिएको हो ।
स्वास्थ्य परिक्षणपछि मात्र होटलमा
विदेशबाट नेपाल आउदा नै एक सातासम्मको स्वास्थ्य परिक्षण बुझाउनु पर्ने प्रावधान भएकोले होटलमा बस्ने वित्तिकै संक्रमण फैलिन्छ भनेर आत्तिन नहुने देखिन्छ । सम्बन्धीत मुलुकबाट आउनेहरुले स्वास्थ्य परिक्षण गराउने र होटलमा पनि दैनिक परिक्षण हुने छ । यदी कसैलाई बीचमा विसन्चो भएमा वा कोरोनाको लक्षण देखिएमा होटलमा बसेको सम्बन्धीत कोठालाई मात्र सिल गरिन्छ ।