काठमाडौं । कोरोना भाइरसको कारण विदेशमा अलपत्र परेका २५ हजार नेपालीहरुलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय सरकारले गरिसकेको छ। तर, विदेशबाट नेपाल आउनेहरुले जहाजको भाडा र नेपालमा १४ दिन क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च आफैले व्यहोर्नुपर्ने सरकारको निर्णयमा उल्लेख छ ।
विदेशबाट रोजगारी गुमाएर नेपाल फर्कन चाहनेहरु मध्ये धेरैले टिकट काट्न सक्ने अवस्था नरहेको श्रम, रोजगार पत्रकार समूहको भिडियो वार्तामा भएको संबन्धित देशका राजदुतहरुले बताएका छन् । अहिले नेपाल फर्कनका लागि चार्ट बिमानमात्र सञ्चालनमा छन् । यस्तो अवस्थामा सामान्य हवाई दरभन्दा अहिलेको टिकट महंगो पर्ने हुन्छ । रोजगारी गुमाएको मारमा रहेका श्रमिकहरुलाई चार्टड विमानको काट्न सकस भइरहेको छ ।
सामान्यतया वैदेशिक रोजगारीमा गएका श्रमिकलाई रिटर्न टिकट कम्पनीले ने उपलब्ध गराउछन् । चार्टड गर्दा महंगो हुने कारण कम्पनीहरुले यस्तो टिकट दिन मानिरहेका छैनन् । कम्पनीहरु नमान्दा आफैले महंगो टिकट किन्न श्रमिकहरु नमानेको तीन मुलुकका राजदूतहरुको भनाई छ । नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टड उडान गर्ने तयारी गरेको छ । तर, ती दुबै एयरलाइन्सले चार्टड फ्लाइटको शुल्क निर्धारण गरेको छैन ।
निश्चित समयका लागि उडान खुला हुनुपर्छ : राजदूत पाण्डे
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले चार्टड फ्लाइट भन्दा व्यवसायीक उडानलाई केहि समय खुला गर्नुपर्ने बताउछन् । निश्चित समयका लागि उडान खुला गर्दा प्रतिस्पर्धाका कारण सस्तोमा नेपालीहरु आफ्नो घर फर्कन पाउने उनको तर्क छ । त्यति मात्र हैन, धेरै कम्पनीहरुले श्रमिकहरुलाई घर फर्कने टिकट पनि यस अघि नै दिइसकेको र टिकट फिर्ता गरेर रकम लिन सम्भव नभएकोले उडान खुल्ला गर्नुपर्ने उनको भनाई छ ।
चार्टड फ्लाइट गर्दा मलेसियाबाट नेपाल आउन झण्डै ५० हजार भन्दा बढी लाग्न सक्छ तर, व्यवसायीक उडान हुदा २५ देखी ३५ हजार मात्रै पर्छ । मलेसियाबाट ६ हजार ३ सय ५३ जनाले घर फर्कन फाराम भरेको उनले बताए ।
१० दिन अघि जानकारी हुनुपर्छ : राजदूत राजपुत
साउदी अरबका लागि नेपालका राजदूत महेन्द्रसिंह राजपुतले चार्टर फ्लाइटको टाइम र लाग्ने खर्च १० दिन भन्दा अघि नै जानकारी गराउनु पर्ने बताएका छन् । खर्च व्यवस्थापनका लागि श्रमिकहरुलाई समय लाग्ने भएकोले कुन दिनबाट उडान हुने, कति उडान हुने र कतिमा उडान हुने जानकारी पहिला नै हुन आवश्यक छ ।
आफैले टिकट काटेर जानुपर्ने अवस्था आएपछि केहि नेपालीहरु भने समस्यामा पर्ने उनको भनाई छ । चार्टड उडान गर्दा महंगो हुने भएकोले अन्य उडानलाई केहि समयका लागि सुचारु गर्न आवश्यक रहेको उनले बताए । अहिले साउदीबाट १० हजार नेपालीले घर फर्कन चाहिरहेका छन् ।
विदेशमा आउदा नै अधिकाशं कम्पनीले फिर्ता टिकट पनि दिने भनिएकोले त्यस्ता श्रमिकको हकमा भने उडान खुला गर्दा सहज हुने उनले बताए । यस तर्फ पनि सरकारले सोच्न आवश्यक रहेको उनले बताए । साउदीमा अहिले ६० वटा नेपाली शवहरु समेत छन् ।
त्यति मात्र हैन नेपाल आउदा आवश्यक स्वास्थ्य परिक्षण कसले गराउने भन्ने टुंगो समेत नलाग्दा समस्या भएको उनको भनाई छ । यो विषयमा पनि सरकारले स्पष्ट धारणा दिनुपर्ने बताएका छन् ।
स्वास्थ्य परिक्षण कसले गराउने अन्योल : राजदूत भारद्धवाज
कतारका लागि नेपाली राजदूत नारद भारद्धवाजले नेपाल फर्कन चाहनेहरुको स्वास्थ्य परिक्षण कसले गराउने भन्ने मुख्य समस्या रहेको बताए । कतार सरकारले विदेशमा जानेहरुलाई स्वास्थ्य परिक्षण गराउन नसक्ने जानकारी गराइसकेको छ । यस्तो अवस्थामा नेपाल फर्कन चाहनेहरुको ज्वरो मात्र नापेर पठाउनु पर्ने बाध्यता आउन सक्ने उनले बताए । स्वास्थ्य परिक्षणका लागि सहजिकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रचार गरिसकेको बताउदै निजी क्षेत्रलाई मान्यता दिएमा केहि सहयोगी दाता खोज्ने राजदूत भारद्ध्वाजको तयारी छ ।
अहिले घर फर्कन ७ हजार भन्दा बढीले इच्छा देखाएका छन् । ती मध्ये महिलाहरु बढि छन् । ७/८ महिनाको गर्भवती महिलाहरु पनि भएकाले छिटोभन्दा छिटो उद्धार गर्नुको विकल्प नभएको उनको भनाई छ । तर, चार्टड फ्लाइटको शुल्क श्रमिक आफैले तिर्नुपर्ने प्रावधान सरकारले ल्याउदा केहि समस्यामा परेको छ । यदी व्यवसायीक उडान खुला भएमा धेरैको कम्पनीले टिकट काटिदिने र आफैले टिकट वेहोर्दा समेत सस्तो पर्ने उनको सुझाव छ ।