भन्सार दररेट १४ गते राति मात्रै एकिंन हुने भएकाले व्यापारीले पूर्व सूचनाका आधारमा विद्युतीय गाडी छुटाएको भन्ने आरोपमा सत्यता नभएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले एक विज्ञप्ति जारी गर्दै १४ गते २ ओटा मात्रै छिरेको समेत जनाएको छ ।
चालू आर्थिक वर्षको जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनहरु भन्सार जाँचपास भएको भन्सार विभागले जनाएको छ ।
जसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएका छन । गत वर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए । गतवर्षको भन्दा यो वर्ष आयात दोब्बरको नजिक पुगेको देखिएकोले यो वर्ष जेठमा ९३ वटा हुनु सामान्य भएको भन्सारले जनाएको छ ।
सुक्खा बन्दरगाहा भन्सार कार्यालयवाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत्र २५ मा भन्सारमा आइपुगेका थिए । जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारी साधन बैशाख ११ गते भन्सारमा आइपुगेका थिए ।
बजेटको हप्ता अगाडी बजेट भाषण हुनुभन्दा अगाडी जेठ ८ देखि १५ सम्मका ७ दिनसम्म जम्मा १८ वटा मात्र विद्युतीय गाडीहरु जाँचपास भएका छन तर यहि अवधि जेठ ८ देखि १५ सम्मका ७ दिनको अवधिमा पेट्रोलियम गाडीहरु भने ३४३ भित्रिएका थिए ।
बजेट प्रस्तुतिको अघिल्लो दिन अर्थात जेठ १४ गते विद्युतीय गाडी २ वटा जाँचपास भएका थिए भने पेट्रोलियम गाडीहरु १७९ वटा आयात भएका थिए ।
भन्सार दररेट जेठ १४ गते राती मात्र यकिन हुने भएकोले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने संभावना नरहने भन्सारले जनाएको छ ।
चालु आ.ब.मा जसरी साउनमा ९१ वटा, मंसिरमा ११२ वटा, पुसमा ९५ वटा गाडीहरु जाँचपास भएका छन, त्यसैगरी जेठमा ९३ वटा जाँचपास भएका छन, जुन स्वभाविक भएको भन्सारले बताएको छ ।
बजेट प्रस्तुतिको अघिल्लो दिन अर्थात प्रत्येक वर्षको जेठ १४ गते सामान्यतया धेरै राजश्व संकलन हुने गरेको छ । २०७७ जेठ १४ गते – १७२ करोड, २०७६ जेठ १४ – २१५ करोड र २०७५ जेठ १४ गते – २१९ करोड संकलन भएको थियो ।