काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गरेका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित भएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताए ।
मन्त्री हुनु पूर्व सामाजिक सञ्जालमा आलोचनात्मक रुपमा प्रस्तुत हुने भुसाल अहिले आफू मन्त्री भए पछि सोचे अनुरुप काम गर्न नसकिने बताएका हुन् ।
नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताए । उनले पहिला आपूmलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताए ।
‘हामीसँग एक हजार टन भन्दा बढी बटर थुप्रिएको छ । २ अर्ब रुपैयाँ बराबरको १५ सय टन पाउडर दूध थुप्रिएको छ । त्यसलाई बजारमा पठाउन सकिएको छैन् । सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन्,’ उनले भने, ‘मान्छेहरुले सामान्य फेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नी भन्छन्, मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहेन्छ ।’
किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । अहिले सरकारसँग १५ हजार टन युरिया र २० हजार टन डिएपी मल छ र साढे पाँच हजार टन पोटास मल भए पनि त्यतिले नपुग्ने बताए । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको बताए ।
उनले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने बताए । उनले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताए ।
यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसका लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी समितिलाई गराए ।