काठमाडौं । चालू आर्थिक वर्ष २०७६/०७७ मा सडक पूर्वाधारमा विनियोजन भएकोमध्ये एक तिहाइ बजेट पनि खर्च हुन नसक्ने देखिएको छ । सडक निर्माणको मुख्य समयमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएको बन्दबन्दी (लकडाउन) ले सडक विस्तारको काम अवरुद्ध हुँदा बजेट खर्च नहुने अवस्था आएको हो ।
फागुनदेखि असारसम्म सडक निर्माणको काम बढी हुने गरेको छ । त्यस्तै, वैदेशिक सहायताका आयोजना पनि सुरु नहुँदा खर्च हुन नसकेको सडक विभागले जनाएको छ । सडक विभाग मातहतका निकायबाट चालू आर्थिक वर्षको फागून मसान्तसम्म १९.२ प्रतिशत हाराहारी खर्च भएको देखिन्छ ।
त्यसयता करिव २५ देखि ३० प्रतिशत हाराहारीमा मात्रै खर्च भएको सडक विभागले जनाएको छ । अहिले सडक निर्माण, विस्तार र स्तरोन्नतीका सवैजसो आयोजनाहरु ठप्प छन् । जस्का कारण, आउँदो असारसम्म त्यति धेरै खर्च हुने देखिदैन ।
यद्यपी, सडक विभागले भने आउँदो असार मसान्तसम्म ४५ प्रतिशत हाराहारीमा बजेट खर्च हुने अपेक्षा गरेको छ । सडक विभागअन्र्तगत विभिन्न रणनीतिक सडक, राष्ट्रिय राजमार्ग, पुल, सुरुङमार्ग पर्छन् ।
चालू आर्थिक वर्षमा सडक पूर्वाधारमा १ खर्ब ३४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । आउँदो असार मसान्तमा ४५ प्रतिशतसम्म खर्च हुने देखिएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । केही ठूला सडक, राजमार्ग, पुल र विदेशी सहायताबाट अघि बढ्ने आयोजनाका काम ठप्प प्रायः हँुदा पनि चालू आर्थिक वर्षमा पूँजीगत खर्च निकै कम हुने अवस्था रहेको शर्माको भनाइ छ ।
हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मुग्लिन बुटबल, मुग्लिन—पोखरा, उत्तर—दक्षिण करिडोर लगायतका सडक आयोजनामा काम अवरुद्ध भएको छ भने केही सुरु हुन सकेको छैन । यद्यपी, पुल निर्माण, सडक कालोपत्रे र विस्तारका साथै खाल्डाखुल्डी पुर्ने काम जारी रहेको विभागले जनाएको छ ।
यो वर्ष विभागले काठमाडौं उपत्यकाभित्र हेर्ने रणनीतिक सडकमा केही संरचना नहट्दा काम हुन सकेन् । अन्यठाउँमा विस्तार र खाल्डाखुल्डी पुर्ने काम गरेको विभागको दाबी छ । लकडाउनको बेला पनि सडक कालोपत्रे, खाल्डाखुल्डी पुर्ने, मार्किङ र केही पुलहरुको काम जारी रहेका शर्माले बताए ।
उनले खाल्डाखुल्डी पुर्ने र सडक फराकिलो बनाउने कार्य यसवर्षको उपलव्धिको रुपमा लिए । काठमाडौं उपत्यका र मुख्य राष्ट्रिय राजमार्गको सडकका खाल्डाखुल्डी र स्तरोन्नतीका लागि ६ अर्ब रुपैयाँ विनियोजन भएको थियो । उक्त बजेटले अहिले लकडाउनको समयमा पनि विभिन्न सडकमा कालोपत्रे र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
त्यस्तै, सरकारले आगामी वर्ष २०७७/०७८ मा देशभरका सडकका खाल्डाखुल्डीमुक्त बनाउन र स्तरोन्नती गर्न ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा आउँदो आवमा देशभरका रणनीतिक र भएका सडकको विस्तार र स्तरोन्नती गर्न उक्त बजेट विनियोजन भएको हो ।
नागढुंगा सुरुङमार्ग अवरुद्ध
जापानको ऋण सहयोगमा निर्माण सुरु भएको नागढुंगा सुरुङमार्गको काम ठप्प छ । गत माघदेखि सुरु हुने आयोजना कोरोना महामारीले गर्दा जापानबाट कामदार तथा प्राविधिक फर्किएका छैनन । यद्यपी, केही स्वदेशी कामदारहरुलाई परिचालन गर्नुपर्ने अवस्थामा छ । लकडाउनकै बीचमा कामदारबाट साइट ब्याक लगायतका काम भएपनि मुख्य सुरुङमार्ग निर्माणको काम सुरु गर्न जापानी प्राविधिक तथा इन्जिनियर आउनु पर्ने हुन्छ । आयोजनाको काम अघि बढाउन गाउँ गएका कामदारलाइ फर्काएर साइटमा कामदार परिचालनका लागि प्रयास गरिएको छ । मुख्य सुरुङमार्गको काम गएको बैशाखबाटै सुरु गर्ने प्रारम्भिक कार्यतालिका थियो । ४२ महिनाभित्र सम्पन्न हुने सुरुङमार्गको लागत १६ अर्ब रुपैयाँ छ ।
बुटबल-नारायणघाट सडक ः चीनियाँ कामदार आएनन्
त्यस्तै, चालू आर्थिक वर्षमा ८ अर्ब रुपैयाँ बजेट विनियोजन भएको बुटबल–नारायणघाट सडकको काम पनि अघि बढ्न सकेन् । चाड मनाउन चीन गएका कामदार तथा प्राविधिक फर्किन पाएनन । जसले गर्दा सडकको काम अघि बढ्न पाएन् । दोस्रो चक्रपथ विस्तार आयोजना पनि कोरोना कारणले सुरु हुन सकेन् । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको टेन्डर स्वीकृत भइ निर्माण प्रक्रिया अघि बढ्ने समयमै लकडाउनले आयोजना सुरु हुन सकेन् ।
दोस्रो चक्रपथ विस्तार सुस्त
राजधानीको दोस्रो चक्रपथ विस्तार आयोजना अन्र्तगत कलंकीदेखि महाराजगन्जसम्म खण्डको काम पनि सुरु हुन पाएन् । गएको बैशाखबाटै चक्रपथ निर्माणका लागि चीनियाँ पक्षलाइ सडक हस्तान्तरण गर्ने भनेपनि कोभिड—१९ र लकडाउनले प्रक्रिया अघि बढ्न सकेन् । चीनिँया प्राविधिक तथा कामदार पनि आउन सकेनन् । त्यतिमात्रै होइन्, सो सडकखण्ड आसपास र क्षेत्रको साइट क्लियरेन्सको काम पनि पनि बाँकी नै छ । चालू आवमा सो चक्रपथका लागि झन्डै २ अर्ब बजेट विनियोजन भएका थियो ।
यी लगायत केही ठूला सडक आयोजनामा काम नै हुँदा पूँजीगत खर्च नै कमी भएको सडक विभागको निश्कर्ष छ । सडक कालोपत्रे, निर्माण, विस्तार र स्तरोन्नती हुने समय चैत, बैशाख, जेठ र असार नै हो । अरु बेला यो समय अर्थात चैतदेखि असारसम्म ६० प्रतिशत खर्च हुने गरेकोमा अहिले भने लकडाउनले निर्माण सामग्रीको आपूर्ति, कामदार खटाउने कार्य, आवतजावत र उद्योग बन्द हुँदा पूर्वाधार निर्माणमा ब्रेक लाग्न पुगेको शर्माले बताए ।
उपलव्धी कति?
आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्म मुलुकभर संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जाल तर्फ कालोपत्रे १५ हजार २५४ किलोमिटर सम्पन्न भएको छ । त्यस्तै, खण्डास्मित ९ हजार २५१ किलोमिटर र कच्ची सडक ९ हजार ८४२ किलोमिटर गरी कूल सडकको लम्बाई ३४ हजार ३४७ किलोमिटर पुगेको छ ।
प्रदेश र स्थानीयस्तरबाट ६१ हजार ३९५ किलोमिटर सडक निर्माण भएको छ । यसवर्ष ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । त्यसमध्ये, १५० ओटा फागुनअघि नै सकिएको र लकडाउनमा २५ ओटा सम्पन्न भएका समेत गरी असार मसान्तसम्म २०० ओटा पुल सम्पन्न निर्माण हुने देखिन्छ । अघिल्लो आवमा भने २४३ ओटा पुल निर्माण भएका थिए ।