काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न जारी बन्दाबन्दी (लकडाउन) का बेला काठमाडौं उपत्यकाको कालीमाटी तरकारी तथा फलफुल बजारमा स्वदेशी तरकारीजन्य वस्तुको कारोबार बढेको छ ।
कालीमाटी बजारमा अहिले ८० प्रतिशत स्वदेशी तरकारी तथा फलफुलको कारोबार भइरहेको छ । लकडाउनअघि र अन्य समयमा झन्डै ४० प्रतिशत तरकारी तथा फलफुल विदेशबाट आयात भइ कारोबार हुने कालीमाटीमा अहिले भने स्वदेशी तरकारीको बाहुल्यता रहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।उनले अहिले बजारमा कागती, प्याज र केही फलफुलबाहेक अधिकांश स्वदेशी उत्पादन बिक्री भइरहेको बताए ।
‘अहिले हाम्रो बजारमा आउने अधिकांश सामान स्वदेशी उत्पादन नै हो ।विशेष गरेर मौसमी तरकारीहरु जस्तैः सिमी, बोडी, भन्टा, घिरौला, गोलभेडा, आलु, तितेकरेला लगायतका तरकारी स्वदेशी नै कारोबार भइरहेको छ’ उनले भने, अहिले बजारमा जति पनि तरकारी आइरहेको छ ।
त्यो मध्ये प्याज, कागती र फलफुलजन्य वस्तु हाम्रो होइन् । जुन हामी कहाँ उत्पादन हुँदैन भए पनि निकै कम हुन्छ ।
लकडाउन सुरु भएयता चैत ११ देखि जेठ १७ सम्म कालीमाटीमा ३० हजार टन तरकारी तथा फलफुलको कारोबार भएको थियो । त्यसमध्ये ६ हजार ७८७ टन अर्थात २२.५ प्रतिशत वस्तु मात्रै भारत तथा चीनबाट आयात भएको छ । बाँकी २३ हजार टन भन्दा बढी तरकारीजन्य वस्तु स्वदेशी नै कारोबार भएको श्रेष्ठले बताए ।
कालीमाटीमा लकडाउनको अहिलेको समयमा दैनिक औसतमा ५०० टन हाराहारीमा तरकारीको कारोबार भइरहेको छ । केही तराइ र उपत्यकाभित्रका जिल्लाबाट निरन्तर तरकारी आइरहेको छ ।
स्वदेशमै उत्पादन हुने तरकारीको खपत र बजारीकरण भएन भन्ने गुनासोका माझ समितिले व्यापारीसँग यसअघि छलफल समेत गरेको थियो । कालीमाटीका व्यापारीले पनि आयातित तरकारीलाई विस्थापन गरी स्वदेशी तरकारी बजारसम्म ल्याउने सहमति भएको थियो । अहिले कालीमाटीमा प्रत्येक दिन विहान ३ बजेदेखि ८ बजेसम्म तरकारी तथा फलफुलको कारोबार भइरहेको छ ।
अहिलेसम्मकै सस्तो
अहिले कालीमाटीमा तरकारीको थोक मूल्य अहिलेसम्मकै सस्तो रहेको सुचना अधिकारी श्रेष्ठले बताएका छन् । ‘यो पटकको तरकारीको मूल्य निकै घटेको छ । अहिले असाध्यै कम छ । अहिले होलसेल पसलमा अधिकांश वस्तुको मूल्य २० देखि २५ रुपैयाँ औसतमा छ ।‘ उनले भने ।
अहिले तरकारीको मौसमी सिजन भएकाले पनि अरुबेला भन्दा सस्तो भएको हो । अरु सिजनभन्दा यसपाली भने तरकारी मूल्य केही सस्तो महशुस भएको देखिन्छ । लकडाउन कारण ढुवानीमा समस्याका कारण केही जिल्ला र ठाउँबाट भने तरकारी उपत्यका भित्रिन सकेको छैन् ।
खुद्रा व्यापारीको आफुखुसी मूल्य
यता, खुद्रा तथा साना पसलका व्यापारीले भने थोक मूल्यमा खरिद गरेको तरकारी भाउ आफुखुसी बढाउने गरेका छन् । ‘अहिले उपभोक्ताबाट तरकारीको मूल्य बढी भयो भन्ने गुनासो समेत आउने थालेको श्रेष्ठ बताउँछन् ।
कतिपय खुद्रा व्यापारीले उच्च मूल्य लिएको भन्ने किसिमको गुनासो छ । हामीले पनि देखेका छौं’ उनले भने, ‘कालीमाटीमा २० देखि २५ रुपैंयामा पाइने गोलभेडा बिक्री भएको तर, हामीले हाम्रै टोल छिमेकको पसलबाट किन्दा ४० देखि ५० रुपैयाँ प्रतिकेजी तिर्नुपरेको अवस्था हो छ ।’ उनले भने ।
‘तरकारी भाउ बढ्यो भन्ने गुनासो आएको छैन’ ।
खुद्रा व्यापारीले मनपरी मूल्य बढाए भनेर उपभोक्ताले गुनासो नगरेको नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘उपभोक्ताले तरकारी मूल्य बढ्यो भन्ने गुनासो आएर अनुगमन गरेका छैनौं । यो बेला सस्तो भयो भन्ने छ बरु ।’ उनले साना र खुद्रा व्यापारीले भाडा र ढुवानी खर्च जोडेर केही बढी लिएको हुन सक्ने बताए ।