काठमाडौं । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सुनेपछि पर्यटन व्यवसायीहरु निरास बनेका थिए । तर, बिहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट भने व्यवसायीहरु उत्साहीत बनेका छन् ।
सरकारले पर्यटन व्यवसायका श्रमिकलाई पारिश्रिमक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको छुट्टै कोष स्थापना गर्ने र राष्ट्र बैंकबाट परिचालन हुने गरी १ खर्ब रुपैयाँको पुर्नसंरचना कोष बनाउने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन् ।
होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले सरकारले सार्वजनिक गरेको बजेटले पर्यटन क्षेत्रमा केहि सकरात्मक कदम भएको बताएका छन् । उनले व्यवसायीहरुले राखेका अधिकाशं मागहरु बजेट मार्फत सम्बोधन भएको भन्दै कार्यन्यनको पाटोलाई बलियो बनाउन आवश्यक रहेको बताए । बजेटको विषयमा हानको केन्द्रीय समितिको वैठक बसेर नयाँ निर्णयहरु गर्ने समेतको उनको भनाई छ ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बजेट मार्फत आन्तरिक एयरलाइन्सहरुलाई कोरोनापछि आफै कमाएर खाउँ भन्ने नीति ल्याएको भन्दै खुशी व्यक्त गरे । बजेट मार्फत सरकारले विमानस्थलको पूर्वधार शुल्क भन्दै लिदै गरिएको १० रुपैयाँ छुट गरेको छ ।
पूर्वधारको नाममा हवाई इन्धनमा लिने गरिएको १० रुपैयाँ छुट नै एयरलाइन्सहरुको लागि ठूलो उपलब्धी हो, प्रवन्ध निर्देशक बस्नेतले भने, अब नेपाल आयल निगमले मुल्य समायोजन गरेपछि हामीलाई ठूलो राहत मिल्छ ।
एयरलाइन्सको ४० प्रतिशत खर्च हवाई इन्धनमा हुने गरिएको थियो । बार्षिक २० अर्ब रुपैयाँको कुलग्राहस्र्थ उत्पादन (जीडीपी)मा योगदान पुर्याउने उद्योगलाई ओझेलमा पारेर ५० प्रतिशत नाफा लिएर बस्न मिल्दैन ,प्रवन्ध निर्देशक बस्नेतले भने, कम्तिमा ३ रुपैयाँ मात्र नाफाँ लिनुपर्छ । यदी ३३ रुपैयाँ र पूर्वधार शुल्क १० रुपैयाँ घट्यो भने ३५ रुपैयाँ लिटरमा हवाई इन्धन पाउन सकिन्छ ।
यो भयो भने हवाई भाडा अप्रत्यासित रुपमा घट्छ । जसको कारण मध्येम वर्गिय नेपालीले पनि हवाई यात्रा गर्न सक्छन् र भाइरसको कारण सिथिल बनेको हवाई उद्योग पनि पार गर्न सक्छौं,उनले भने । यसका लागि अर्थमन्त्री खतिवडा र अर्थसचिव शिशीर ढुंगानाको पनि ठूलो योगदान छ । उहाँहरुलाई धन्यवाद नदिइ बस्न मिल्दैन ,बस्नेतले भने ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान)का महासचिव सरिता लामाले बजेटमा धेरै विषय समेटिएको बताउदै कार्यन्वयन पक्षलाई बलियो बनाउन आवश्यक रहेको बताइन । नीति तथा कार्यक्रममा हामी केहि आत्तिएका थियौं, महासचिव लामाले भनिन्,तर बजेटले पर्यटन क्षेत्रलाई समेटेको छ ।