काठमाडौं । निरन्तर वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा पर्दा धान रोपाइँ प्रभावित भएको छ । पानी नपर्दा रोपाइँ गर्न नपाएका किसानलाई लगातारको वर्षा अहिले अभिशाप बनेको हो । रोपाइँ पनि डुबानमा परेको छ ।
वर्षा सक्रिय नभएर उत्साहित किसानको खेत अहिले डुबानमा छ । यसअघि रोपाइँ गरेका किसानले भने फेरि धान रोपाइँ गर्नुपर्दा उत्पादनमा असर पुग्ने कृषि विभागले जनाएको छ । अहिलेसम्म अधिकांश तराई जिल्लामा रोपाइँ हुन सकेको छैन । हाल (असार २२ गते)सम्म तराई क्षेत्रमा २० प्रतिशत मात्रै रोपाइँ भएको छ ।
यस वर्ष मनसुन ढिला सुरु हुनु र तराई क्षेत्रको डुबानका कारण धान उत्पादनमा असर पुग्ने कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । डुबानले कुन जिल्लामा कति रोपाइँ र कृषिजन्य उत्पादनमा क्षति पुग्यो भन्ने एकिन हुन नसकेको र १/२ दिनभित्र अनुमानित आकडा आउने सुवेदीले बताए
अहिले धान रोपाइँ मात्र नभई तराईका जिल्लामा बेमौसमी र वर्षे तरकारी तथा फलफूल, पशु, चौपाया र खाद्य उत्पादनमा क्षति पुगको छ ।
अहिले प्रमुख खाद्यबाली धान रोपाइँको सिजन भएकाले रोपाइँ नै बढी प्रभावित भएको कृषि विभागका महानिर्देशक सूर्य पौडेलले बताए । उनले डुबानले केही जिल्लामा रोपाइँ हुन नसकेको जानकारी दिए ।
विगतका वर्षमा पनि तराईमा डुबानले अर्बौं रुपैयाँको पशुजन्य तथा कृषि बाली क्षति हुँदै आएको छ । यस वर्ष तराई डुबानले धान उत्पादनमा १० देखि १५ प्रतिशत ह्रास हुन सक्ने कृषि विभागका एक कर्मचारीले क्यापिटल नेपाललाई बताए ।
अहिले कोसी नदी आसपासका खासगरी रौतहट, सिराहा, सप्तरी, बारा, पर्सा, सर्लाही, महोत्तरी, सुनसरीलगायत अन्य केही जिल्ला डुबानमा परेका छन् ।
तराईलाई धानको भण्डार भन्ने गरिन्छ । तराईका २० जिल्लामा झन्डै कुल उत्पादनको ६० प्रतिशत धान उत्पादन हुने गर्छ ।