काठमाडौं । कोरोना भाइरस महामारीका कारण लाखौंको संख्यामा वेरोजगारको संख्या बढ्ने आँकलक भइरहेका बेला सरकारले ६ लाख युवाहरुलाई नयाँ रोजगारी सिर्जना गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ रोजगारीलाई प्राथमिकता दिदै २० अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन भएको जानकारी दिए ।
रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्दै ११ अर्ब रुपैयाँ पुर्याइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना हुने अपेक्षा सरकारको छ । गत वर्ष ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किएपछि उनिहरुलाई सीपमुलक तालिम दिने र विदेशमा सिकेको सिपलाई उपयोग गरी ५० हजार रोजगारी सिर्जना गर्न १ अर्ब रुपैयाँ बजेटमा विनियोजन गरिएको छ ।
प्राविधिक तथा व्यावसायी तालिममा ४ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । यसबाट थप ७५ हजारलाई तालिम दिने र रोजगारी पाउने अपेक्षा छ । बैंक तथा वित्तीय संस्थाबाट प्रति शाखा १० जनालाई सहुलियत कर्जा दिने व्यवस्था मिलाइने भएको छ ।
साना किसान बैंकको कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने, युवा कार्यक्रमबाट १२ हजार र वन पैदावरबाट ३० हजार रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।
श्रम सूचना केन्द्रलाई १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसबाट पनि थप ५० हजार व्यक्तिले सीपयुक्त रोजगारी पाउने अनुमान छ ।
गरिबी निवारण कोषले परिचालन गरेको १९ अर्ब रुपैयाँ बिउ पुँजीलाई सहकारी मोडलमा परिचालन गरि थप एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको अर्थमन्त्री खतिवडाले बताए ।