काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लकडाउन अवधिमको दुई महिनाको महशुल आफुखुसी तोकिदिएपछि ग्राहकहरु समस्यामा परेका छन् । लकडाउनले कर्मचारी ग्राहकको घरमा मिटर रिडिङ गर्न जान नसकेपछि प्राधिकरण आफैले चैत र बैशाखको महशुल तोकेको हो ।
प्राधिकरणले लकडाउन हुनुअघि फागुनको महशुललाइ आधार बनाएर चैत र बैशाखको बिल पठाएको थियो । प्राधिकरणको उक्त निर्णयले नियमित विद्युत् उपभोग गरिरहेका घरेलु ग्राहकलाइ मर्का परेको हो ।
अघिल्लो फागुन महिनामा बढी बिल तिर्न बाध्य भएका घरेलु ग्राहकले चैत र बैशाखमा पनि उत्तिनै बिजुलीको बिल तिर्नुपरेको उपभोक्ताको गुनासो छ । त्यस्तै, प्राधिकरणले जेठ महिनाको बिजुलीको महशुल दर अघिल्लो बर्षकै जेठमा तिरेको बिलका आधारमा महशुल तोक्ने भएको छ ।
यता, नियमित रुपमा समयमै विद्युत् महशुल बुझाइरहेका ग्राहकले पाउँदै आएको दुइ प्रतिशत प्रोत्साहन भत्ता पनि पाउन नसकेको बताएका छन् । नियमित मिटर रिडिङ गर्ने मितिको एक हप्ताभित्र महशुल बुझाउने ग्राहकलाइ प्रोत्साहन स्वरुप महशुलमा दुइ प्रतिशत छ्ुट दिर्दै आएको थियो । अनलाइनमार्फत महशुल नियमित तिर्दै आएका ग्राहकले पनि दुइ प्रतिशत छुट नपाएको गुनासो गरेका छन ।
‘म कहाँ मिटर हेर्न नआएको तीन महिना हुन लागिसकेको थियो । लकडाउनले गर्दा चैतको पनि बाँकी नै थियो । तर, अनलाइन अपडेट हेरेको त चैत र बैशाखको महशुल भनेर फागुनकै जति राखेको रहेछ’ कोटेश्वरका रामप्रसाद चौलागाईले भने, ‘अनलाइनबाट तिर्न मिल्ने हुँदा दुइ प्रतिशत प्रोत्साहन छुट पाएको थिएँ । अहिले नियमित दिँदै आएको महशुलमा त्यो छुट प्राप्त हुन सकेन् ।’
प्राधिकरणले घरधनीले मिटर रिडिङ गर्न नदिएको बहाना मात्रै बनाएको नयाँ बानेश्वरका ग्राहक दुर्गा खत्रीले बताए । उनले भने, ‘बिजुली कति खपत भयो, त्यसका आधारमा मात्रै महशुल लिनुपर्ने हो फागुनमा तिरेको महशुल चैत र बैशाखमा कसरी तिर्न सकिन्छ ? घर वहालमा बस्ने घर गइसके । खपत कम भइरहेको छ ।’
प्राधिकरणको यस्तो निर्णय ग्राहकको हितमा नरहेको उपभोक्ताकर्मी माधव तिमिल्सिना बताउँछन् । प्राधिकरण आर्थिक संकटमा परेपछि ग्राहकबाट जर्वजस्ती पैसा उठाउन यस्तो रणनीति बनाएको उनको भनाई छ । उनले भने, ‘आर्थिक संकटमा परेपछि पैसा उठाउनका लागि मात्रै प्राधिकरणले गरेको रणनीति हो । यो ग्राहकको हितका पक्षमा छैन् ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकले पाउँदै आएको छुट र पेनाल्टी नलिएको बताएका छन् । ‘दुइ प्रतिशत छुट, जुन हामीले विगतमा दिइरहेका छौं । त्यो दिइरहेका छौं । सरकारले त पेनाल्टी मात्रै नलेउ भनेको हो । बरु, छुट देउ भनेको छैन् ।
हामीले दिएका छौं र पेनाल्टी लिएका छैनौं’ उनले भने, ‘सातदिनभित्र महशुल बुझाउनेले छुट पाउने हो । तर, हामीले ग्राहक लकडाउनमा आउन सकेनन् भनेर बैशाख ६ गतेसम्म महशुल ‘एक्सटेन्ड’ गर्यौ । लकडाउन अवधिभरका भनेर ‘एक्सटेन्ड’ गरेका छौं ।’
उनले प्राधिकरणले गरेको निर्णय वैज्ञानिक भएको र मर्का पर्ने ग्राहकलाइ ‘रियल’ मिटर रिडिङ गर्ने समयमा ‘एड्जस्ट’ गरिदिने बताए । प्राधिकरणले छिट्टै धरधनीले नै मिटर रिडिङ गरेर सफ्टवेयरमार्फत अपडेट गर्ने व्यवस्था मिलाउन लागेको उनले बताए ।