काठमाडौं । नेपालबाट नियमित निर्यात भइरहेको चियालाई भारतले अचानक रोक लगाएपछि चिया व्यवसायी उदय चापागाईले बैशाख २० गते चिया तथा कफी विकाश बोर्डमा जानकारी दिए । हिमालयन टि प्रोड्युर्सस कोओपरेटिभ्सका अध्यक्ष समेत रहेका उनले चिया निर्यातमा लगाइएको रोकलाई फुकुवा गर्न सहजिकरणको आग्रह गर्दे बोर्डलाई पत्र लेखेका थिए ।
भारतका व्यवसायीहरुले बिभिन्न बहाना तथा आरोप लगाएर नेपाली चियाको गुणस्तरका बिषयमा गलत रिपोर्टिङ गरेका कारण भारतले रोक लगाएको चापागाईले बताए । उनका अनुसार भारतको पश्चिम बंगाल प्रदेशले केहि समय देखी चिया निर्यातमा रोक लगाएको हो । नेपाली ८० प्रतिशत चिया भारत हुदै तेस्रो मुलुक निर्यात हुन्छ ।
चिया निर्यातमा रोक लागेको बैशाख २० मै जानकारी पाए पनि बोर्डले भने १० दिन पछि मात्रै बैशाख ३० गते उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयललाई जानकारी गरायो । मन्त्रालयलाई बोर्डले जानकारी गराएको झण्डै दुई हप्ता पुग्न लाग्दा पनि यो बिषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने अनविज्ञता प्रकट गरेका छन् । ‘चिया निर्यात रोकेकोबारे मलाई कसैले जानकारी दिएको छैन’ क्यापिटलसँग कुरा गर्दै मन्त्री भट्टले भने ‘ अब यस विषयमा बुझेर जानकारी गराउछु ।’
तर, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बाणिज्य मन्त्रालयलाई चिया निकासा नियमित गरिदिन सहजीकरण गरिदिन बैशाख ३० मा पत्र पठाएको थियो । बोर्डका कार्यकारी निर्देशक डा.विष्णु प्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा कोरोना भाइरस(कोभिड–१९)का कारण दुबै देशमा लक डाउन भएपनि कृषिजन्य बस्तुहरुको आयात निर्यातमा कुनै प्रतिबन्ध नभएको र विभिन्न बाहना बनाएर भारतले चिया निर्यातमा रोक लगाइरहेको आवश्यक सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।
तर, वाणिज्य मन्त्रालयलका सचिव डा.वैकुण्ठ अर्यालले कोरोना भाइरसको कारण निर्यातमा केहि समस्या भएको भएको बताउदै भारतसँग सहजिकरण भइरहेको जानकारी दिए । अहिले बाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई चिया निर्यातमा सहजिकरण गर्न पत्र पठाइएको छ ।
चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले केहि दिनदेखि बंगालबाट चिया लिन आउने गाडीलाई रोक लगाएको जानकारी दिए । उनले भारतको बंगाल प्रदेशले पानीट्यांकी बोडरबाट चिया निर्यातमा रोक लगाइरहेको बताए । बंगाल प्रदेशले प्रत्यक्ष रुपमा चिया निर्यातमा रोक लगाएको सूचना जारी नगरेपनि अप्रत्यक्ष रुपमा त्यहाँबाट नेपाल आउने गाडीहरुलाई रोकिरहेको जानकारी दिए ।
जोगबनी नाकाबाट भने भारतमा चिया निर्यात भइरहेको छ । तर, त्यहाँबाट चिया निर्यात गर्दा व्यवसायीहरुलाई प्रति केजी ५ देखी ७ रुपैयाँ भारु रकम मंहगो पर्ने र समय पनि दुई दिन लाग्ने गरेको छ ।