काठमाडौं । चालू आर्थिक वर्ष २०७५/०७६ मा ३२ लाख २० हजार ७८४ टन आलु उत्पादन भएको छ । प्रमुख तरकारीमध्येको आलुको उत्पादन चालू आर्थिक वर्षमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७४/०७५ को तुलनामा चालू आर्थिक वर्षमा ४.३ प्रतिशतले आलु उत्पादन वृद्धि भएको हो । गत वर्ष झन्डै २९ लाख टन आलु उत्पादन भएको थियो ।
चालू आवमा १ खर्ब २० अर्ब रुपैयाँको आलु उत्पादन भएको हो । हाल कालिमाटी तरकारी बजारको मूल्यअनुसार आलुको प्रतिकेजी मूल्य ४० रुपैयाँ पर्छ । त्यसका आधारमा ३ अर्ब २२ करोड ७ लाख ८४ हजार केजी आलु उत्पादनबाट उक्त रुपैयाँको कारोबार भएको कृषि विभागले जनाएको छ ।
आलु घरायसी प्रयोजनमा तरकारीका रुपमा प्रयोग गरिन्छ भने विभिन्न खानाका परिकार र चिप्स बनाउन विभिन्न होटल, रोस्टुराँ तथा उद्योगमा प्रयोग गर्ने गरिन्छ ।
नेपालमा आलुको माग यति नै छ भनेर एकिन गर्न नसकिए पनि आत्मनिर्भरताको दिशातर्फ उन्मुख छ । स्वदेशी उत्पादनबाहेक यहाँको माग आपूर्तिका लागि आयात गर्ने गरिएको छ । वार्षिक झन्डै ५ अर्ब रुपैयाँको आलु आयात हुँदै आएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र खुमलटारका निमित्त प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए ।
नेपालको सबैजसो क्षेत्रमा आलु उत्पादन गर्न सकिने अधिकारीको भनाइ छ । उनले आलु उत्पादनमा आत्मनिर्भर बन्नका लागि आलु उत्पादन कार्यक्रम र नयाँ कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरिएको बताए ।
डडेलधुरा तथा काभ्रेपलान्चोक जिल्लालाई आलु सुपरजोनका रुपमा सरकारले वर्गीकरण गरेको छ । त्यस्तै, अछाम, बागलुङ, गुल्मी, भक्तपुर, नुवाकोट, ओखलढुङ्गालाई आलु जोन भनी छुट्याइएको छ । गुणस्तरयुक्त बीउको अभाव, सिँचाइ नहुनु, उन्नत बीउ र प्रविधिको प्रयोग नहुनु र डढुवा रोगका कारण आलु उत्पादन बढ्न नसकेको अधिकारीको भनाइ छ ।
तराईमा आलु उत्पादनको क्षेत्रफल वृद्धि गर्न सके छिट्टै आत्मनिर्भरउन्मुख बन्न सकिने अधिकारीको भनाइ थियो । हाल एक लाख ९५ हजार हेक्टर जमिनमा आलु खेती उत्पादन भइरहेको छ ।