काठमाडौं । पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरुको पनि कोरोना भाइरस परिक्षण गराउन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले माग गरेको छ ।
पछिल्लो समय नेपाल आयल निगमका कर्मचारीहरुको धमाधम कोरोना टेष्ट भइरहेको र उनीहरुको सम्पर्क पम्पसँग प्रत्यक्ष हुने भएकोले पम्पका कर्मचारीहरुको पनि कोरोना परिक्षण गराउन माग गरेका हुन् ।
‘निगमका कर्मचारीहरुलाई मात्र कोरोना परिक्षण गरेर जोखिम कम हुन्न,’ पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने ‘त्यहि भएर पम्पमा कार्यरत कर्मचारीको पनि परिक्षण आवश्यक छ ।’
पम्पका कर्मचारीहरु पनि फिल्डमा खटिने भएकोले जुन सुकै बेलापनि जोखिममा पर्ने उनको भनाई छ । कर्मचारीको परिक्षणसँगै बीमाको सुविधा दिन समेत सरकारसँग माग गरेका छन् ।
त्यस्तै पम्पहरुले निगमलाई बुझाउने रकम अनलाइन बैकिङ प्रणाली मार्फत भुक्तानी गर्ने सुविधा उपलब्ध गराउन पनि माग गरिएको छ । सिधै नगद रकम बैकमा जम्मा गर्दा कोरोनाको जोखिम बढ्ने भएकोले अनलाइन बैकिङको व्यवस्था गरिदिन निगमसँग अनुरोध गरेका हुन् ।
पछिल्लो समय लक डाउन बढिरहेको र ब्यापार कम हुदै गएकोले यस्तै अवस्था रहे कर्मचारीहरु घटाउदै जानुपर्ने अवस्थामा पम्पहरु पुगेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
हाल देशभर १५ सय पम्पमा करिब ७ हजार ५ सय कर्मचारीहरु कार्यरत छन् । लक डाउन बढिरहेमा ५० प्रतिशत कर्मचारी हटाउनु पर्ने बाध्यता आउन सक्ने उनीहरुको भनाई छ । पम्पमा सामान्य अवस्थामा दैनिक औसतमा १३ दशमलव ३३ लाख लिटर पेट्रोल र ३७ लाख लिटर डिजेल खपत हुने गर्छ । तर, लकडाउन सुरु भएको एक महिनासम्म करिब १० प्रतिशत मात्र इन्धन बिक्री भएको थियो ।