काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै जाँदा वैदेशिक लगानीमा सुरु भएका आधा दर्जन पूर्वाधार ठुला आयोजनाका निर्माण रोकिएका छन् ।
विभिन्न दातृ राष्ट्रको ऋण लगानीमा सुरु हुने क्रममा रहेका विकास आयोजनाहरु कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) सँगै अगाडी बढ्न सकेको छैन ।
लकडाउनको समय बढिरहदा अधिकांश आयोजनामा कार्यरत कामदारहरु आ–आफ्नै घर फर्किएका थिए । पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि घर गएका उनीहरु जोखिम मोलेर नफर्कने मनस्थितीमा छन् ।
सोहि कारण सरकारले लकडाउनकै बेला पनि पूर्वाधार आयोजनाको काम नरोक्ने बताइरहदा श्रमिकहरु भने साइटमा ल्याउन सक्ने अवस्था नरहेको निर्माण व्यवसायीहरु बताउँछन् । केहि स्थानमा आयोजना अगाडी बनाउँने प्रयास गर्दा स्थानीय प्रशासन तथा जनताले अवरोध गरेका छन् ।
यस्तै कारण लकडाउनको सुरुवाती समयमा काम भएको नागढुंगा सुरुङमार्गको निर्माण कार्य अहिले ठप्प छ । जापानको सहयोग नियोग (जाइका) को १६ अर्ब रुपैयाँ ऋण सहयोगमा सुरु भएको सो परियोजनामा एक सयभन्दा बढि कामदार कार्यरत थिए । तर, लकडाउनका कारण घर गएका श्रमिकहरु फर्केका छैनन् ।
त्यस्तै, चिनिँया सहयोगमा हुने चक्रपथ अन्तर्गत कलंकीदेखि महाराजगन्ज खण्ड पनि रोकिएको छ । वैशाखमै चिनिँया कम्पनीलाइ निर्माण हस्तान्तरण योजना रहे पनि कोरोनाका कारण रोकिएको छ ।
आयोजनाको साइट क्लियरेन्सको काम हालसम्म पनि सकिएको छैन । बिजुलीका पोल र रुख व्यवस्थापनको काम केही अघि बढे पनि खानेपानीका पाइप र मुआव्जा वितरणको काम भने बाँकी नै छ । सो आयोजनामा चीनिँया सरकारले ६ अर्ब रुपैयाँ लगानी गर्दैछ ।
८९ किलोमिटरको मुग्लिन–पोखरा सडकको ठेक्का सम्झौता भइ काम सुरु भएपनि लकडाउनले कामदार गाउँ गएपछि निर्माण कार्य ठप्प छ । झन्डै २२ अर्ब रुपैयाँ लागतको सो आयोजना पनि कोरोनाकै कारण अलपत्र छ ।
यता, मुग्लिन–बुटवल तर्फको सडक खण्डको अवस्था पनि उस्तै छ । आयोजना साइटबाट मजदुर तथा कामदार तितरबितर हुँदा दुवै आयोजना अलपत्र छन् । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न गर्न यो परियोजनामा १८ अर्ब रुपैयाँ ऋण सम्झौता भइसकेको छ ।
नागढुंगा–मुग्लिन सडक विस्तार र पूर्व—पश्चिम राजमार्गअन्तर्गत पथलैयादेखि कमलासम्मको सडक विस्तार गर्न विश्व बैंकसँग आग्रह गरिरहेको भए पनि सम्झौता हुन सकेको छैन् ।
मुलुक पुरै लकडाउन भइरहदा ऋण सम्झौता हुन नसकेको सडक विभागले जनाएको छ । उता, रसुवागढी–स्याफ्रुवेशी सडक निर्माणको काम पनि त्यस्तै छ ।
लकडाउनका कारण निर्माण सामग्री र कामदार व्यवस्थापन हुन नसक्दा काम अघि बढ्न नसकेको हो । यसरी लकडाउनले वैदेशिक सहयोगका सबैजसो आयोजना प्रभावित हुन पुगेको सडक विभाग वैदेशिक सहायता महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनका अनुसार सुरु हुने चरणका र सुरु भइसकेका दर्जन भन्दा बढी आयोजनाको काम अहिले रोकिएको छ ।
यहि कारण ती आयोजना एक/ डेढ वर्ष पछि धकेलिने उनको भनाई छ । ‘खासगरी विदेशी ऋण सहायताका विकास आयोजना पूर्ण रुपमा प्रभावित भएका छन् । लकडाउनले कामदार साइटबाट निस्किसके । अहिले थप संकमण बढ्ने जोखिम छ । उनीहरुलाइ साइटमा ल्याउन सक्ने अवस्था छैन्’ उनी भन्छन् ‘यसले सुरु भएका र पाइप लाइनका आयोजना समेत प्रभावित र ढिला हुने भयो ।’
विश्व बैंक, चीन, जापान, एसियाली विकास बैंक (एडीबी) र भारत सरकारलगायतले सडक निर्माण, विस्तारका क्षेत्रमा ऋण सहयोग गर्दै आएका छन् । हालसम्म सडक तथा पूर्वाधारका क्षेत्रमा झन्डै १ खर्ब रुपैयाँ लगानी आइसकेको र केही सहयोग प्रतिबद्धता आउने क्रममा छ ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सडक तथा पूर्वाधारमा झन्डै साढे १ खर्ब रुपैयाँका परियोजना पाइपलाइनमा रहेको थापाले बताए ।