काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा देखिन थालेसँगै सरकारले बनाएको नोभल कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय समन्वय समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वयमा क्वारेन्टाइन व्यवस्थापन समिति बनायो ।
संयोजकको जिम्मेवारी पाएलगत्तै मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसारको १ लाख ३० हजार क्वारेन्टाइन बनाउने तयारी भइरहेको घोषणा गरे । संघीय सरकारले ५ हजार क्वारेन्टाइन, सबै प्रदेश सरकारले २/२ हजार, ६ वटा महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १ हजार क्वारेन्टाइन बनाउने गरी उनले बताए । यसैगरी ७७ जिल्ला मध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २/२ हजार क्वारेन्टाइन निर्माणको तयारी गरेको भन्न समेत भ्याए ।
त्यति मात्र हैन, चैत्र १२ गते क्वारेन्टाइन निर्माणका लागि काठमाडौंको नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको स्थलगत निरिक्षण गरेर सरोकारवालाहरुसँग छलफल समेत गरे । तर, कोरानोका कारण लकडाउन भएको दुई महिना बितिसक्दा पनि अहिले ती कुनै ठाउँमा क्वारेन्टाइन निर्माण भएको छैन ।
शुक्रबार दिउसोसम्म नेपालमा ४ सय ८७ जना कोरोना संक्रमित भेटिइसकेका छन् । दैनिक कोरोनाका संक्रमित बढीरहदा अस्पतालमा बेडको अभाव हुने भन्दै सामान्य संक्रमितलाई अस्पताल बाहिर नै क्वारेन्टाइनमा राख्ने तयारीमा सरकार आफै छ । तर, अन्तर्राष्ट्रिय मापदण्डको त कुरा छोडौं अहिले स्वदेशी मापदण्डकै क्वारेन्टाइन पनि पाउन मुस्किल हुन थालेको छ ।
विशेष गरेर भारतबाट फर्किएका हजारौं नेपालीहरुलाई राख्न व्यवस्थीत क्वारेन्टाइन नभएकै कारण जोखिमको सम्भावना रहेकाहरु पनि भाग्न थालेका छन् । यसले संक्रमण झन बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । कतिपय स्थानीय तहले बनाएको क्वारेन्टाइनमा शौचालय समेत नभएको भेटिएको छ ।
सामान्य व्यवस्थापन पनि गर्न नसक्ने सरकार नसक्ने संयोजक भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डको १ लाख भन्दा बढी क्वारेन्टाइन बनाउँछु भनेर फेरी एक पटक कोरोना संक्रमितको संबेदनामाथी खेलबाड गरेका छन् । सुरुमा निक्कै प्रोत्साहन र वाहावाही पाएका उनको कार्यान्वयन पक्ष भने शुन्य देखिएपछि अहिले आलोचना गर्नेहरु बढ्न थालेका छन् । घोषणा गरे अनुसारको क्वारेन्टाइन बनाउन नसकेको कारण नै अहिले विदेशमा फर्कन चाहने लाखौ नेपालीहरुलाई सरकारले ल्याउने साहस गर्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै तत्कालै विदेशबाट नेपालीहरु ल्याउन नसक्ने बताइसकेका छन् । तर, गैर आवासीय नेपाली संघ(एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले मलेसियाबाट फर्कने नेपालीहरुलाई राख्न सरकारले होटलहरुलाई भाडामा लिने व्यवस्था गरिदिएमा त्यसको रकम तिर्न आफूहरु तयार रहेको बताएका छन् । आफ्नो प्रस्तावमा पराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कुनै जवाफ नदिएको उनको गुनासो छ ।
पर्याप्त क्वारेन्टाइन नभएकै कारण अहिले विदेशबाट फर्कनेहरुलाई आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सरकारले आग्रह गरिरहेको छ । सबैको घरमा छुट्टै चर्पी, कोठालगायतका क्वारेन्टाइनका लागि आवश्यक पूर्वाधार नहुने कारण सेल्फ क्वारेन्टाइनले जोखिम झन् बनाउने स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
विदेशबाट फर्कनेलाई क्वारेन्टाइनको रुपमा होटलका कोठाहरु दिन होटल व्यवसायी तयार भएपनि सरकारले व्यवस्था गरेको उनीहरु बताउँछन् । यो बिषयम जानकारी लिन पर्यटन मन्त्री भट्टराइसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।