काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई तत्काल स्वदेश फर्काउन नसक्ने स्पष्ट पारेका छन । विदेशमा ४५ लाख नेपाली रहेको जानकारी दिदै उनले ठुलो संख्यामा भएकाले ल्याउन समस्या भएको सुनाए ।
नीति तथा कार्यक्रमका विषयमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै प्रधानमन्त्री ओलीले नेपाली नागरिकलाई ल्याउन धेरै हवाइजहाज चाहिने र राख्नका लागि पर्याप्त क्वारेन्टाइन पूर्वाधार नभएकाले तत्काल उनीहरुलाई विदेशमा राखिने स्पष्ट पारे ।
उनले कामदारलाई विदेशमै राख्नका लागि कतार, वहराइन, दुवइ, ओमान, इजरायल सरकारसंग कुरा गरेको जानकारी गराए । ती देशलाई नेपालीलाई खान, बस्न र स्वास्थ्य उपचारका लागि सहयोग गर्न अनुरोध गरिएको उनले बताए । ‘अमेरिकाले, अष्ट्रेलियाले लगेको जस्तो हैन । कतारमा मात्र पौने ४ लाख कामदार छन’ प्रधानमन्त्रीले भने ।
‘विस्तारै ल्याउन तयारी भइरहेको र कति युवा ल्याउने हो हिसावकिताव हुँदै छ’ उनले भने । विदेशमा रहेका नेपालीलाई त्यहाँका सरकारले खानेवस्ने व्यवस्थाका साथै उपचारको प्रवन्ध गरिदिने आश्वत पारेको प्रधानन्त्री ओलीले जानकारी दिए ।
नेपाली कामदारको विषयमा त्यहाँको दुतावाससंग सम्पर्कमा रहेको समेत उनले जानकारी दिए । प्रधानमन्त्रीले भने ‘नागरिकलाई ल्याउने हो तर ह्वारह्वारर्ति ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्दैन।’
उनले सरकार गठन भएको २ वर्षमा रोजगारीमा जाने संख्या घटेको समेत सो अवसरमा जानकारी दिए । स्वदेशमा रोजगारी बढेकाले जानेको संख्या घटेको प्रधानमन्त्रीको दावी छ ।