काठमाडौं । रोपाईको समय नजिकिदै गर्दा किसानलाई रासायनिक मलको अभाव हुने देखिएको छ । सरकारसँग मलको मौज्दात पर्याप्त भएपनि लकडाउनका कारण ढुवानी हुन नसक्दा किसानहरुले समयमै मल नपाउने अवस्था आएको हो । लकडाउनमा सहकारी संस्था र वितरण केन्द्र बन्द रहेको तथा र ढुवानीमा पनि कठिनाई आएको किसानहरुले गुनासो गरेका हुन् ।
धानको बीउ राख्ने सिजन सुरु हुँदासम्म पनि मल नपाएको बागलुङ जैमिनी नगरपालिका—६ का कृषक भरत सापकोटाले बताए । ‘धानको ब्याड राख्ने समय हो । तर, पसलमा मल आएको छैन्’ उनले भने, ‘लकडाउनले पनि सहकारी तथा पसल बन्द छन् ।’ तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डिएपी र युरिया मलको मौज्दात पर्याप्त रहेको जनाएको छ । थप रासायनिक मल आउने क्रममै रहेकोले साउन र भदौसम्म किसासनहरुलाई मल अभाव नहुने मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीको भनाई छ ।
‘असार र साउनमा धान रोप्नका लागि डीएपी मल पर्याप्त छ । तर, लकडाउनको परिस्थितिले मल ढुवानी र आपूर्तिमा समस्या होला’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘आउँदो भदौसम्मका लागि मल अभाव हुँदैन ।’
अहिले २७ हजार मेट्रिक टन युरिया, ३४ हजार मेट्रिक टन डीएपी र ६ हजार मेट्रिक टन पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, अहिले २१ हजार ५ सय मेट्रिक टन युरिया साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गर्दैछ । त्यो मल आउने क्रममा रहेको कृषि मन्त्रालयले जनाएको छ ।
चालू आव २०७६/०७७ मा १ लाख ३५ हजार मेट्रिक टन मल कृषि सामग्री र साल्ट ट्रेडिङले ५६ हजार गरी १ लाख ९१ हजार मेट्रिक टन मल खरिद गरिसकेका छन् । डिएपी मल कृषि सामग्री लिमिटेडले ९१ हजार, साल्ट्र ट्रेडिङले ३९ हजार मेट्रिक टन खरिद गरिसकेका छन् । त्यस्तै, पोटास कृषि सामग्री लिमिटेडले ७ हजार ५ सय मे.टन र साल्ट ट्रेडिङले २ हजार ८८० मे.टन खरिद गरेका छन् ।
थप ५० हजार मेट्रिक टन मल आउँदै
त्यस्तै, सरकारले थप मल खरिद प्रक्रिया अघि बढाइसकेको जनाएको छ । साल्ट ट्रेडिङ र कृषि सामग्री लिमिटेडमार्फत झन्डै ५० हजार मेट्रिक टन डिएपी आउने क्रममा रहेको कृषि मन्त्रालयले जनाएको छ । सो मल अहिले कलकत्तामा आइसकेको र लकडाउनले केही समस्या भएको मन्त्रालयले स्रोत बताउँछ ।
त्यस्तै, कृषि सामग्री केन्द्रले ५० हजार मेट्रिक टन युरिया खरिदको सम्झौता गरेर व्यापारीले एलसी (प्रतितपत्र) खोलिसकेका समेत प्रवक्ता केसीले जानकारी दिए । चालू आर्थिक वर्षमा अनुदानमा आधारित मल खरिदका लागि सरकारले साढे ७ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । पछि, २ अर्ब बजेट थप भइ मल खरिद प्रक्रिया अघि बढाएको थियो । सो बराबरको मल केही आइसकेको र केही आउने क्रममा रहेको छ । त्यस्तै, यसअघि भारतबाट खरिद गरिएको मलको डेढ अर्ब बक्यौता समेत भुक्तानी गरिएको छ ।