कोरोना भाइरसको प्रभावले विश्वको अर्थतन्त्र नै धरासायी बन्ने अवस्थामा पुगेको छ । भाइरसको नियन्त्रणका लामो समय देखी विश्व नै लक डाउन हुँदा धेरै उद्योग, व्यवसायहरु बन्द भएका छन् । जसले गर्दा विश्वबजारमा अहिले बेरोजगारको संख्या बढ्न थालेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालबाट बैदेशिक रोजगारीमा गएका लाखौ श्रमिकहरुमा परिरहेको छ । यस्तो समयमा अत्रपत्र परेका आफ्ना नागरिकलाई विभिन्न मुलुकहरुले स्वदेश फर्काइरहेको बेला नेपाल सरकारले भने बेवास्ता गरिरहेको छ । विदेशबाट कामदारले पठाएको रेमिट्यान्समा मख्ख पर्ने सरकार अहिले श्रमिकहरुको दुःखमा भने चुपचाप बसिरहेको भन्दै उनीहरु निराश हुन थालेका छन् । नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मलेसियामा रहेका श्रमिकहरुको अवस्थाको बिषयमा गैर आवासीय नेपाल सघ(एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईसँग क्यापिटल नेपालकाका सुवास योञ्जनले गरेको कुराकानी :
कोरोना संक्रमणले मलोसियामा रहेका नेपालीलाई कस्तो प्रभाव पारेको छ ?
मलेसियामा रहेका नेपालीहरु मध्ये ५५ जनालाई भाइरसको संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जना उपचार पछि फर्किसकेका छन् । संक्रमीतहरु मध्ये अधिकाशं सुरक्षा ( सेक्यूरेटी ) गार्डको काम गर्ने रहेका छन् । मेलेसियमा नेपालीहरु सबैभन्दा बढी सुरक्षा गार्डकै काम गर्ने हुनाले जोखिम पनि उनीहरुलाई नै बढी रहेको छ । अहिले मेलसियमा ५ लाख ५० हजार भन्दा बढी नेपालीहरु छन् । ती मध्ये केहि अवैधानिक रुपमा लामो समय देखी बस्दै आएकाहरु पनि छन् । कोरोनाको जोखिममा ती नेपालीहरु नै बढी छन् । यस्तो अवस्थामा धेरै नेपालीहरुले रोजगारी गुमाउने सभ्भावना छ । भाइरसको संक्रमणबाट बच्न केहि घरमै बसिरहेका छन् भने केहि काममै जानुपर्ने बाध्यता छ ।
कोरोना कै कारण तत्कालै नेपाल फर्कन चाहनेको संख्या कति छ ?
अहिले ७ हजार नेपालीहरु तत्कालै घर फर्कन चाहेको जानकारी हामीले पाएका छौ । त्यसमा करार अवधि सकिएका, भिसा सकिएका, अवैध रुपमा बसेका देखी कम्पनी बन्द भएकाहरु छन् । १ सय ५० जना जति विरामीहरु पनि छन् । मृगौलामा पानी जमेका, मेडिकल फेल भएका विरामीहरु छन् । उनीहरुलाई तत्कालै फर्काउन आवश्यक छ । विरामीहरु सहित सबैलाई फर्काउन एनआरएनए मलेसियाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीसँग समेत भिडियो कन्फ्रेन्स मार्फत जानकारी गराइसकेका छौं । ती ७ हजारलाई नेपाल फर्काउन सरकारले पहल गरे नेपालमा क्वाराइन्टाइनमा बस्नलाई एनआरएनएले काठमाडौंका होटलहरुलाई भाडामा लिन्छौं समेत भनिसकेका छ । वैदेशिक रोजगारमा आउने कामदारले रेमिट्यान्स पठाउदा खुसि हुने देशले त्यहि कामदार अलपत्र पर्दा फर्काउन आनाकानी गरिरहेका छन् । यो देख्दा धेरै श्रमिकहरु अहिले दुखित भएका छन् ।
मलेसियामा रहेका अरु देशका श्रमिकको अवस्था कस्तो छ ? उनीहरुको उद्धार गरिएको छ की छैन ?
अहिले मलेसियाबाट इन्डोसिया, भारत, भियतनाम, कम्बोडिया र पाकिस्तानका कामदारहरुलाई १४ दिनको क्यावाराइन्टाइनमा राख्ने गरी लगिसकेकाे छ । तर, नेपालमा कुनै तयार नै छैन । सरकारले श्रमिकसँग कुनै सम्पर्क नै गरेको छैन । अहिलेसम्म श्रमिक उद्धारको विषयमा सरकार मौन रहेको छ ।
कोरोनाकै कारण मलेसियामा कति उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा छन् ? यसले नेपालीको रोजगारीमा कस्तो असर पर्छ ?
कोरोनाकै कारण साना र मझौला गरी ५ देखी १० प्रतिशत उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेका छन् । त्यसमा काम गर्नेहरु सबै विदेशीहरु थिए । त्यसमा नेपालीहरु पनि पर्छन । अहिलेकै अवस्थामा १० देखी १५ हजार नेपालीहरु बेरोजगार भएर फर्कनु पर्ने अवस्था आउन सक्छ । माथि उल्लेख गरिएको ७ हजार नेपालीहरुको संख्यामा अहिले रोजगारी गुमाइसकेकाहरु पनि छन् ।
रोजगारी गुमेका नेपालीहरुको अवस्था कस्तो छ ?
रोजगारी गुमेका नेपालीहरुको अवस्था अहिले नाजुक भइसकेको छ । लक डाउनका कारण नेपाल फर्कन नपाएपछि अहिले नेपालीहरुले सञ्चालन गरेको रेष्टुरेन्ट, होस्टल, होटल सहित एनआरएनका प्रतिनिधिहरुसँग बस्दै आएका छन् भने केहि साथीको सहारामा बसिरहेका छन् । त्यहाँ पनि अव उनीहरु कहिलेसम्म बस्ने भन्ने हो । त्यसैले तत्कालै नेपाल फर्काउन सकिएन भने स्थीति गम्भिर हुन सक्छ । यस सम्बन्धी सरकारले गम्भिर भएर सोच्नु पर्छ । श्रम मन्त्रालयले पनि आफ्ना श्रमिकहरुलाई नेपाल फर्काउन विषेश चासो देखाउन आवश्यक छ ।
मलेसिया स्थित नेपाली दुताबासले पनि सहयोग गरिरहेको होला नी ?
मलेसियाको क्वालाम्पुरमा रहेका नेपाली दूतावासले पनि अलपत्र परेका श्रमिकहरुलाई व्यवस्थापन गर्दै आएको छ । नेपाल फर्कन चाहनेहरुको अनलाइन फाराम भर्ने देखी त्यहाँ रहेका कम्पनीहरुले तलब नदिएका समस्याको समधान गर्ने काम गर्दै आएको छ । दूतावासमा दैनिक रुपमा आउने गुनासोको सुनुवाई गर्दै आएको छ ।
एनआरएनए मलेसियाले के गर्दै छ ?
एनआरएनए मलेसियाले यहाँका सबै राज्यमा सबै प्रतिनिधिलाई सूचना जारी गरेर खान नपाएका र दुःख पाएका नेपालीहरुलाई खाना खुवाउदै आएको छ । अहिलेसम्म एनआरएनएले ६÷७ लाख रुपैयाँ खर्च गरिसकेको छ । मैले सुने अनुसार सरकारले दूतावासलाई केहि रकम श्रमिकलाई राहत वितणका लागि रकम पठाएको छ । सायद अव दूतावासले पनि राहत वितरण गर्छ होला । हामीले पनि दूतावाससँग समन्वय गरेर वास्तविक पिडितहरुलाई खाद्यन्न वितरण गरिरहेका छौं ।
मलेसियामा लक डाउनको अवस्था कस्तो छ ?
मलेसियामा नेपालको जस्तो लक डाउन भन्ने छैन । यहाँ मुभमेन्ट कन्ट्रोल अर्डर (एमसीओ) लागू गरिएको छ । त्यो पनि अहिले केहि खुकुलो बनाइसकेको छ । अहिले यहाँ सामाजिक दुरी कायम गराएर रेष्टुरेन्ट र सपिङ महलहरु सञ्चालनमा आइसकेका छन् । सरकारले पनि २० जना भन्दा बढि भिडभाड नगर्न, भोजभतेर र विभिन्न सेमिनारहरु भने नगर्न आग्रह गरेको छ । त्यहि अनुसार अहिले व्यवसायहरु केहि व्यवसायहरु सञ्चालनमा आउन थालेको छ ।