काठमाडौं । कोरोना भाइरस महामारीले विश्व अर्थतन्त्रमा ८८ खर्ब अमेरिकी डलरसम्म क्षति भएको अनुमान छ । एसियाली विकास बैंक (एडीबी) ले विश्वको अर्थतन्त्रमा न्युनतम ५८ खर्बदेखि ८८ खर्ब डलरसम्म नोक्सान भएको जानकारी दिएको छ ।
एडीबीले कोरोना भाइरस महामारीको संभावित प्रभावको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । कोरोना माहामारी विरुद्ध लकडाउनका साथै सुरक्षा उपायहरु अपनाउँदा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ६.४ देखि ९.७ प्रतिशतसम्म नोक्सान भएको अनुमान एडीबीको छ । एसिया प्रशान्त क्षेत्रमा १७ खर्ब पुगेको छ । यो ६ महिनासम्म लम्बिएमा २५ खर्ब डलर नोक्सान हुने प्रक्षेपण एडीबीको छ ।
एडीबीले गत अप्रिलमा सार्वजनिक गरेको अघिल्लो प्रतिवेदनमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब डलरसम्म प्रभाव पर्ने आँकलन गरिएको थियो। यो ३ महिनाको मात्र भएकाले आगामी दिन क्षति अझ बढ्ने आँकलन एडीबीको छ ।
मुलुकहरुले कोरोनाको प्रभाव न्यूनीकरणका लागि स्वास्थ्यसहित अन्य क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएका असर कम गर्न मद्दत पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ । सावधानीका कारण ५४ खर्ब डलरसम्मको क्षति न्यूनीकरण भएको उसले उल्लेख गरेको छ।
एडीबीले दक्षिण एसियामा १४ खर्ब १९ अर्ब डलर बराबर अर्थात जीडीपीको ३.९ प्रतिशत नोक्सान भएको जानकारी दिएको छ । यस्तै ६ महिनामा २१ खर्ब ७६ अर्ब डलर नोक्सान हुने अनुमान एडीबीको छ । दक्षिण एसियामा जीडीपीको ६ प्रतिशतसम्म नोक्सान हुने प्रक्षेपण एडीबीले गरेको छ । चीनले अहिलेसम्म ११ खर्बदेखि १६ खर्ब डलरसम्म नोक्सान व्योहर्नुपरेको अनुमान गरिएको छ ।
सरकारहरुले कोरोना महामारीको प्रभावबाट बच्न तत्काल वित्तीय र मौद्रीक उपकरणबाट खर्च बढाएको र यसले गर्दा राज्यहरुले कर आम्दानी समेत गुमाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कोरोना महमारी नियन्त्रण गर्न सीमा नाकाबन्द, यातायातमा प्रतिवन्ध र लकडाउनले गर्दा विश्वको व्यापार १७ खर्बदेखि २६ खर्ब डलरसम्म कटौति भएको छ ।
यस्तै विश्वमा रोजगारी अवसर १५ करोड ८० लाखदेखि २४ करोड २० लाख रोजगारी गुमेको एडीबीले जानकारी दिएको छ । यस्तै श्रमिकको आम्दानी १२ खर्बदेखि १८ खर्ब डलरसम्म गुमेको छ । कोरोना माहारीले उत्पादन, उपभोग, पर्यटन र व्यापारमा ठुलो प्रभाव पारेको एडीबीले उल्लेख गरेको छ ।
स्वास्थ्य प्रणालीलाई मजवुत बनाउन खर्च बढेको अवस्थामा लम्बिँदै जाँदा रोजगारी संरक्षण, आम्दानी बढाउन र अर्थतन्त्रको पुनरुत्थान गर्न समस्या परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारी विरुद्ध लड्न एडीबीले २० अर्ब डलरको आपतकालिन राहात योजना सार्वजनिक गरेको छ ।