बीबीसी । अमेरिकाका एक प्रमुख सङ्क्रामक रोग विशेषज्ञले अर्थतन्त्र चलायमान बनाउने विषयमा हतार गरिए कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएका छन्।
डा. एन्थोनी फाउचीका अनुसार लकडाउन खुकुलो पार्दै लाने विषयमा सङ्घीय सरकारले जारी गरेको नियमहरूको पालना नगरिए साना वृद्धिका घटनाहरू चाँडै प्रकोप बन्न सक्छन्।
डा. फाउचीका अनुसार अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा बढी हुनसक्ने सम्भावना छ।डा. फाउचीले भिडिओमार्फत रिपब्लिकनहरूको नेतृत्व रहेको सिनेटको एउटा समितिसँगको अन्तरक्रियाका क्रममा त्यस्तो बताएका हुन।
अमेरिकामा हालसम्म ८० हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताइएको छ। उनको कुरा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थतन्त्र चलायमान बनाउने उत्सुकतासँग बाझिएको छ।
अमेरिकामा हालसम्म अर्थतन्त्र चलायमान बनाइएका विभिन्न राज्यहरूमा कोरोनाभाइरस सङ्क्रमण बढ्दो क्रममा रहेको बताइएको छ।
उनले नियन्त्रण नै गर्न नसक्ने किसिमको प्रकोप सुरु हुनसक्ने चेतावनी समेत दिएका छन्। त्यस्तो भएमा आर्थिक सुधारमा झन् धेरै बाधा पुग्ने र त्यसले धेरै मृत्यु र पिडातर्फ धकेल्ने बताएका छन्।
ह्वाइट हाउसले लकडाउन खुकुलो पार्ने विषयमा नियम बनाएको भए पनि त्यसतर्फ कसरी कदम चाल्ने भन्ने विषयमा निर्णय राज्यका गभर्नरहरूको हातमा रहन्छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म १३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन्। मृत्यु हुनेहरूको सङ्ख्या ८२ हजार नाघेको छ।
विश्वव्यापी रूपमा सङ्क्रमितहरूको सङ्ख्या ४२ लाख ५० हजार नाघेको छ भने दुई लाख ९१ हजारभन्दा बढीको ज्यान गएको छ।यस वर्षको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो।हालसालै सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४.८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ। यसले सन् २०१४ पश्चात् पहिलोपटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी विस्तारलाई रोकेको छ।