लकडाउनका कारण किसानले उत्पादन गरेको कृषि वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकिएको साना किसान सहकारी संगठनहरुले बताएका छन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले किसानले उत्पादन गरेको वस्तु कालिमाटी तरकारी बजारमा विक्री गर्न नसकेको गुनासो गरे ।
उनले कालिमाटी तरकारी बजारमा ८ बजे भित्र विक्री गर्न नसके किसानले आफ्नो तरकारी घर फिर्ता गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने ‘काठमाडौंमा हामी आफैले गाडी ल्याएर पनि विक्री वितरण गरिराखेका छौं । तर कति तरकारी ८ बजे भित्र बिक्री गर्न सकेन भने त्यो आधा गाडि नै फर्काएर घर लैजानुपर्ने अवस्था छ ।’
यहाँ सहकारीको किसानले ल्याएर डोको बिसाउने ठाउँ छैन् । यसपालि यति दुख गरियो मन्त्री ज्यूलाई स्वयं कालिमाटी लगेर उभ्याउँदाखेरी पनि केही लागेन् । त्यो बजार त ४÷५ सय मान्छेले कब्जा गरेर बसेको उनको भनाइ छ ।
हामी अरु कोही छिर्न पाउँदैनौं । लकडाउनले तरकारी बिक्री नभएपछि किसानले सबै सित्तैमा दिनुपर्ने अवस्था आएको समेत अध्यक्ष पाठकले बताए । उनले किसानले दुख गरेर उत्पादन गरेको चिज बजारसम्म ल्याएर कमसेकम मूल्य पाउने वातावरण सिर्जना गर्ने विषयमा छलफल चलाउन समितिलाई आग्रह समेत गरे ।
तरकारी तथा फलफुल संघका अध्यक्ष विनोद पराजुलीले कालिमाटी तरकारी बजारमा किसानहरु द्धारा सञ्चालित सहकारीको पहुँच नभएको बताए । आफुहरुले सरकारसँग माग राखेपछि ९ प्रतिशत स्टल पाउने सहमति भए पनि त्यहिंको व्यापारीहरुको सहकारीको कब्जा रहेको बताए ।
‘कालिमाटीमा तरकारी फलफुलले ठाउँपाउनुपर्छ भन्ने खालको कुराहरु हामीले माग राख्यौं, र पछिल्लो समयमा त्यहाँ सबै सटर मध्ये ९ प्रतिशत सहकारी समुहलाई दिने भनिएको छ । तर पनि त्यहिंका व्यापारीक समुह मिलेर सहकारीको नाउँबाट त्यो सञ्चालन भइराखेको छ । अहिले उत्पादनमा संलग्न भएर बजारीकरण गर्न खोजीरहेका सहकारी संस्थाहरुले त्यो ठाउँ कालिमाटीको पाउन सकेको अवस्था छैन्’ उनले भने, ‘कालिमाटीमा ठाउँपाउन नसकेपछि आफुह? अन्यत्र ठाउँ खोज्न बाध्य भएका छौं ।’
कृषि क्षेत्रको विकासका लागि प्रत्येक प्रदेशमा आधुनिक बहुउद्देशीय नर्सरी कम्तिमा एकवटा बनाउनै पर्ने अध्यक्ष पाठकले बताए । किसानलाई सबैभन्दा पहिला गुणस्तरीय बीउको समस्या हुने भएकाले त्यसको समाधानका लागि प्रत्येक प्रदेशमा एक÷एक वटा बीउ उत्पादन गर्ने नर्सरी आवश्यक रहेको पाठकले बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले लकडाउनले सबै कृषि क्षेत्रमा ठूलो आर्थिक क्षति भएको बताए । दुग्ध सहकारी अभियान मार्फत देशभर उत्पादन हुने ६ लाख दूध मध्ये करिब ३ लाख दुध विक्री नहुँदा दैनिक एक कारोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी भइराखेको उनले बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएपछि वित्तीय क्षेत्रमा सहकारीको भूमिका अझै बढेकाले यस क्षेत्रलाई पनि सहयोगको आवश्यकता पर्ने बताए ।