काठमाडौं । नेपाल वायुसेवा निगमले लगानीकर्ता कर्मचारी सञ्जय कोषलाई वाइडबडी जहाज खरिद गर्दा बनाएको व्यवसायिक योजना (विजनेश प्लान) अनुसार जहाज उडाउन नसक्दा किस्ता तिर्न मुस्किल भएको जवाफ पठाएको छ ।
सञ्चय कोषले लामो समयसम्म किस्ता रकम नतिरेपछि केहि साताअघि निगमलाई के कारणले ढिला भएको र नयाँ विजनेश प्लान के छ ? भन्दै लिखित जवाफ माग गरेको थियो ।
निगमले तेश्रो किस्ता सहित सञ्चय कोषको १ अर्ब ९० करोड र नागरिक लगानी कोषको १ अर्ब १५ करोड रुपैयाँ किस्ता तिर्न बाँकी छ । वाइडबडी खरिद गर्दा निगमले अर्थ मन्त्रालय जमानी बसेर २२ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
निगमका तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज खरिदका लागि बनाएको बिजेनप्लान असफल भएपछि निगमलाई थप आर्थिक भार परेको छ । उनले बनाएको प्लान अनुसार अस्ट्रेलिया, जापान, कोरिया, चीन र साउदी अरबमा वाइडबडी जहाजले उडान गर्ने उल्लेख गरेका थिए । तर ती गन्तव्य मध्ये जापान बाहेक अन्य देशमा उडान अनुमति समेत पाउन सकेको छैन् । लामो दुरीमा वाइडबडी जहाज उडाउन नसकेपछि हाल छोटो दुरीमा उडान गर्दै आएको छ ।
जापानमा भदौ १२ गतेबाट ओसाकामा उडान गर्ने योजना निगमको रहेको छ । त्यहि अनुसारको तालिका बनाएर काम सुरु गरिसकेको छ । तर अन्य देशहरुमा भने जहाज सञ्चालन हुन सकेको छैन् ।
चीन, कोरिया र अस्ट्रेलियामा भने युरोपियन युनियन(ईयु)को कालोसूचीका कारण तत्काल उडान अनुमति पाउने अवस्था रहेको छैन् । तत्कालिन महाप्रवन्धक कंसाकारले विजनेश प्लान बनाउदै ईयुले नेपाललाई कालोसूचीमा राखेको थियो । तर सञ्चय कोष र लगानी कोषलाई आश्वस्त पार्दै २२ अर्ब रुपैयाँ ऋण लिन सफल भएका कंसाकारले वाइडबडीलाई भने प्लान अनुसार चलाउन सकेनन् ।
निगममा १० महिना अघि कार्यकारी अध्यक्ष भएर आएका मदन खरेलले तत्कालिन महाप्रवन्धक कंसाकारले बनाएको विजनेश प्लानअनुसार वाइडबडी जहाज सञ्चालन गर्न नसक्ने बताउदै आएका थिए ।
ईयुको कालोसूचीको कारण युरोपका मुलुकहरुमा जहाज उडाउन नपाउने भएकोले थप समस्या भएको उनको भनाइ छ । ईयुको कालोसूचीकै कारण कोरियाले उडान अनुमति दिनुअघि क्यानको सेफ्टी अडिट गर्न आउने बताउदै आएका छन् । तर कहिले आउने भन्ने विषय भने टुंगो लगाएको छैन् ।
यस्तै चीनले पनि अन्तिम समयमा आएर ईयुलाई देखाउदै आगामी साता भित्रमा सेफ्टी अडिटको लागि आउने तयारी गरेको छ । सेफ्टी अडिटपछि मात्र निगमलाई उडान अनुमति दिने वा नदिने भन्ने विषय टुंगो लाग्ने छ । निगमले चीनमा आगामी सेप्टेम्बर भित्रमा उडान गर्ने तयारी गरेको थियो ।