काठमाडौं । लकडाउन भर घरमा बसेका मजदूरलाई सतप्रतिशत तलब सुविधा दिन सरकारले निजी क्षेत्रलाई निर्देशन दिएपछि काम गर्न आउने मजदुरले मालिकसँग दोब्बर तलब माग्न थालेका छन् । घर बस्ने र काममा आउनेले समान तलब पाउने भएपछि आफूहरु पनि काममा नआउने, आउनै पर्छ भने दोब्बर तलब चाहिने माग गर्न थालेका छन् ।
सरकारले केही दिन अघि लकडाउन अवधिभर सम्पूर्ण कामदारलाई सतप्रतिशत तलब दिनुपर्ने भन्दै मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो । त्यसपछि उद्योगमा काम गर्ने मजदुरले खाईपाई आएको तलबलाई दोब्बर बनाए मात्रै काममा आउने बताउन थालेको नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले जानकारी दिए ।
अत्यावश्यक बाहेक अहिले सम्पूर्ण उद्योग बन्द छन् । अत्यावश्यक उद्योग पनि आफ्नो क्षमताको ३० देखि ४० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । तर, त्यहाँ काम गर्ने मजदुरले दोब्बर सुविधा दिनुपर्ने माग गर्न थालेको उनको भनाइ छ ।
घरमा बस्नेलाई र हामीलाई समान सुविधा भए, हामी मात्रै किन काममा आउनु ?’ भन्ने गरेको वीरगन्जका एक उद्योगीले बताए । आखिर घर बसे पनि काममा आएपछि खाइपाई आएको सुविधा पाइहालिन्छ भन्ने मजदूरलाई परिेको छ । त्यही भएर उनीहरु काममा आए दोब्बर नआए पाइरहेको सुविधा पाउनुपर्ने माग गरेको ती उद्योगीले बताए ।
अहिले वीरगन्ज, विराटनगर, भैरहवा, पोखरालगायतका ठाउँमा चलेका उद्योगका मजदुरले दोब्बर सुविधा माग गरेको सभापति श्रेष्ठले बताए ।
सरकारले आफ्नो क्षेत्राधिकार मिचेर मालिक र मजदुरबीच राजनीति गर्न खोजेकाले लामो समयदेखिको सुमधूर श्रम सम्बन्ध विग्रिने अवस्था आएको उद्योगी समेत रहेका श्रेष्ठले बताए ।
सरकारी निर्णयले मजदुरहरु भड्किएको उद्योगीको आरोप छ । कोरोना महामारीलाई मजदुरले पनि बुझेका थिए । तर, बीचमा सरकारले अव्यवहारिक निर्णय गरेपछि मजदुर अनावश्यम माग गर्न थालेको विराटनगरका एक उद्योगले बताए ।
अहिले खाद्यान्न, डेरी, औषधिलगायतका केही उद्योग चलेका छन् । त्यो पनि ४० प्रतिशत क्षमतामा । त्यहाँ काम गर्न आएका मजदुरले दोब्बर सुविधा माग गरेको उद्योगीहरु बताउँछन् ।
‘एक हिसावले उनीहरुले माग गरेको कुरा पनि सही हो । घरमा बस्नेलाई र काममा आउनेलाई समान सुविधा भएपछि उनीहरु पनि कि घरमै बस्छन्, काममा आए दोब्बर सुविधा माग्छन्,’ भैरहवाका एक उद्योगीले भने, ‘यसमा सम्पूर्ण दोष सरकारको हो । सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेकाले यस्तो समस्या आएको हो ।’