काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ५ देखि १५ लाख नेपाली कामदारको विदेशमा रोजगारी गुम्न सक्ने आंकलन गरेका छन् । उनले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा १० देखि ३० प्रतिशतसम्म नेपाली कामदारले विदेशमा रोजगारी गुमाउन सक्ने तथ्यांक प्रस्तुत गरेका हुन् ।
एकातिर विदेश गएका कामदारले रोजगारी गुमाएर नेपाल फर्किने छन्, भने अकोतिर बार्षिक ५ लाख युवाहरु नेपाली श्रम बजारमा आउने छन् । यस्तो अवस्थामा सरकारसामू गम्भीर चुनौति खडा भएपछि क्रमिक रुपमा व्यवस्थापन गर्दै जाने उनले बताए । विदेशबाट फर्किने श्रमिमका हकमा सरकार गम्भीर भएर लागेको उनले प्रस्ट्याए ।
‘वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १० देखि ३० प्रतिशतले रोजगारी गुमाउन सक्ने र त्यसबाट उत्पन्न हुने चुनौतिलाई व्यवस्थापन गर्न सरकारले योजना बनाइरहेको छ,’ मन्त्री ज्ञवालीले भने, कोरोना भाइरस (कोभिड–१९)को कारण देश भित्रै उत्पन्न हुने बेरोजगारी र बाहिरबाट फर्कनेहरुको व्यवस्थापन चुनौतिपूर्ण भए पनि सरकारले योजनाबद्ध रुपमा काम गर्ने तयारी गरिरहेको छ ।’
उनका अनुसार ‘कोभिड १९ का असरहरु श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुराको यकिन भन्न सकिदैन् । तर हामी १० देखि ३० प्रतिशतको स्थितिमा वैदेशिक श्रम बजार गुमाउँछौं । त्यसको एकैचोटी दुई खालको असर पर्छ । एउटा त्यहाँ गएकाहरुले ठूलो संख्यामा रोजगारी गुमाएर आउनुहुन्छ दोस्रो यहाँ प्रति वर्ष तयार हुने झण्डै पाँच लाखको हिसाबले नेपाली श्रम बजारमा आउने युवाशक्ति जसमध्ये साढे ३ लाख ४ लाखको निम्ति सहज गन्तब्य बनेको थियो त्यो पनि साघुरिन्छ । देशभित्र नै बेरोजगारी कायम रहन्छ बाहिरबाट फर्किनेको संख्या झन बढ्छ र यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदो दिनहरुमा असाध्यै ठूलो चुनौतिको रुपमा रहने कुरा सरकारले गम्भिरतापूर्वक लिएको छ । त्यसका निम्ति विभिन्न खालका योजनाहरुको तयार पनि गरिराखेका छौं ।
कोभिड १९ बाट सिर्जना भएको समस्याका लागि विदेशमा रहेका नेपाली दुतावासहरु नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइरहेको मन्त्री ज्ञवालीले बताए । खाडी देशहरुमा बढ्दै गएको कोरोना संक्रमणबाट नेपालीहरुलाई समस्या परेको सम्बन्धमा दुतावासमा निरन्तर सम्पर्क गरी समस्याको समाधान गर्ने र आर्थिक समस्यामा पर्नेहरुका लागि राहतको व्यवस्था गर्ने काम भइरहेको उनको भनाइ छ ।
विदेशमा रहेका संक्रमित नेपालीहरुको निःशुल्क उपचार भइराखेको तर देशभर संक्रमण धेरै भएपछि सामान्य अवस्थामा रहेकालाई अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरुमा मनोवैज्ञानिक अप्ठेरो परेको उनले बताए ।
कोरोना भाइरसको कारण लकडाउन हुने र हवाई उडान बन्द हुँदा विदेशमा रहेका नेपालीहरुको भिजा अवधि सकिने, श्रमिकहरुको करार अवधि सकिने र अवैध भई कानूनी समस्या आउन सक्छ कि भन्ने समस्या देखापरेको बताए । थुप्रै देशहरुले कामदारहरु कटौति गर्ने र रजिस्ट्रेसन सुरु गरेको अवस्थामा खर्चको अभाव हुने समस्या आएको समेत बताए ।
नेपालबाट श्रमका लागि भारत, साउदी अरेयिबा, युएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरुमा नेपालीहरु गएका छन् । यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न तथा घुम्नका लागि गएका नेपालीहरु रहेका छन् ।